अष्ट्रेलियाका कप्तानले भने, ‘कोहली आउट भएपछिको सन्नाटाले ठूलो सन्तुष्टि मिल्यो’

अष्ट्रेलियाका कप्तानले भने, ‘कोहली आउट भएपछिको सन्नाटाले ठूलो सन्तुष्टि मिल्यो’

काठमाडौं : आइतबार राति सम्पन्न विश्वकप क्रिकेटमा अस्ट्रेलियाले भारतलाई छ विकेटले पराजित गरेर छैटौं पटक विश्वकप उचाल्यो। 

विश्वकप सकिए पनि त्यसको चर्चा कहाँ सकिएको छ र? यति छिट्टै सकिने वाला पनि छैन। यसै बीच अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको भनाइ अहिले चर्चामा छ।

जब फाइनलमा कमिन्सले विराट कोहलीको विकेट लिए त्यसपछि नरेन्द्र मोदी स्टेडियमका एक लाखभन्दा बढी फ्यान मौन भए। पूरै रंगशालामा सन्नाटा छायो।

यसबारेमा खेलपछिको पत्रकार सम्मेलनमा कप्तान कमिन्सलाई सोधिएको थियो। उनलाई सोधिएको थियो, ‘कोहलीको विकेटपछि स्टेडियममा सन्नाटा छायो, के यो पनि तपाईंका लागि खास थियो?’

जवाफमा उनले सुरूमा हो भन्दै टाउको हल्लाए र भने, ‘हरेक खेलमा जस्तै यस खेलमा पनि विराटले शतक बनाउने सबैले अनुमान गरेका थिए। तर उनको विकेट गएपछि मैदानमा सन्नाटा छायो, मौनता फैलियो, त्यो मेरो लागि एकदम सन्तुष्टको क्षण थियो।’

आइतबारको खेलको नायक ट्राभिस हेड थिए, जसको शतकको मद्दतले अष्ट्रेलियाले भारतलाई ४२ बल बाँकी रहँदा ६ विकेटले जित्यो।

कप्तान प्याट कमिन्सले खेलअघि नै स्टेडियममा उपस्थित १ लाखभन्दा बढी भारतीय फ्यानलाई मौन राख्न चाहेको बताएका थिए।

मंसिर ४, २०८० सोमबार १४:३१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।