टिकटकमाथिको प्रतिबन्धविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’

टिकटकमाथिको प्रतिबन्धविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’

काठमाडौं : सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइने भएको छ।

न्यायाधीश डाक्टर कुमार चुडालको इजलासमा परेको रिट हेर्न नभ्याइने भएको हो।

सर्वोच्च अदालतको वेबसाइटका अनुसार आज उनको पेशीमा परेका कुनै पनि मुद्दाको सुनुवाइ भएका छैनन्। उनको इजलासमा आज सातवटा मुद्दा परेका थिए।

टिकटक प्रतिबन्धविरुद्धको १० वटा रिटको पालो सातौं नम्बरमा थियो।

टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित पर्शुराम पाण्डे तथा अधिवक्ताहरू अनन्तराज लुईटेल, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, डा. सुनिलरञ्जन सिंह, भद्रप्रसाद (स्वागत) नेपाल, अञ्जन धिताल, रामकृष्ण बन्जरा र यज्ञमणि न्यौपानेले रिट दायर गरेका थिए।

सरकारले सामाजिक सद्‌भावमा खलल पुगेको, ​टिकटकबाट हुने अपराध न्यूनीकरणमा (टिकटक कम्पनीले) सहयोग नगरेको लगायत कारण देखाउँदै गत कात्तिक २७ गतेको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको यो निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाइसकेका छन्।

मंसिर ४, २०८० सोमबार १४:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।