भारतको अपराजित यात्रा फाइनलमा टुंगियो, विश्वकपको ट्रफी अस्ट्रेलियालाई

भारतको अपराजित यात्रा फाइनलमा टुंगियो, विश्वकपको ट्रफी अस्ट्रेलियालाई

काठमाडौँ : आइसिसी क्रिकेट विश्वकपमा अपराजित रहेको भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भयो। टस हारेर ब्याटिङको चुनौती पाएको भारतका ब्याटर चल्न नसक्दा अस्ट्रेलियालाई २ सय ४१ को मध्यम लक्ष्य दियो भारतले। मध्यम चुनौती लिएर ब्याटिङका लागि उत्रिएको अस्ट्रेलियाका खेलाडीहरू १० ओभरसम्म दबाबमा रहे। बिस्तारै बलरहरू फिक्का बन्दै गएपछि सहजै उपाधि जित्न सक्यो।

टस जितेर बलिङ रोजेको अष्ट्रेलियाका बलरसँगै फिल्डिङ समेत निकै चुस्त थियो। त्यसैको प्रभावका कारण भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन मात्र बनाएको थियो।

भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए। विराट कोहली ५३ रन बनाएर आउट भएका थिए।

भारतीय कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाएर आउट भए।

बाँकी ब्याटरहरु अस्ट्रेलियाली बलरका अगाडि लामो समय टिक्न सकेनन्। शुभमन गिल ४ रनमा क्याच आउट भए। श्रेयस ऎर ४ रनमा क्याच आउट भएका थिए।

रवीन्द्र जडेजा २२ बलमा ९ रन बनाउँदै क्याच आउट भएका थिए भने सूर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भएका थिए।

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिएका थिए। कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।

एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए। ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए। जोस हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए।

ब्याटिङ गर्न मैदानमा उत्रिएको अस्ट्रेलियाका ब्याटरहरुलाई प्रारम्भमा भारतीय बलरहरूले दबाबमा राखेका थिए।

दोस्रो ओभरमै भारतीय बलर शामीले डेबिट वार्नको विकेट लिए। उनले सात रन मात्र बनाएका थिए। चौथो ‌ओभरमा जसप्रित बुमराहले मिचेल मार्शको विकेट लिए। उनले १५ रन बनाएका थिए। सातौँ ओभरमा जसप्रितले नै स्टिभ स्मिथलाई एलबिडब्लुको धरापमा पारेका थिए।

अस्ट्रेलिया दबाबमा परिसकेको थियो। तर त्यसपछि भारतीय बलरको जादु चल्न छाड्यो। अस्ट्रेलियाले सहजै खेल आफ्नो पक्षमा ल्यायो। ४२ ओभरमा चौथो विकेट गयो। तर उपाधीका लागि पुरै ओभर पनि खेल्नु परेन अष्ट्रेलियाले। ४२ बल बाँकीहुँदै ६ विकेटले उपाधी आफ्नो पक्षमा पार्न सफल भयो।

अस्ट्रेलियाका लागि ट्रेविस हेड ले एक सय ३७ रन बनाए। मार्नस लाबुसेनले ५८ रन बनाए। मार्नस लाबुसेन र ट्रेविस हेडले एक सय ९२ रनको साझेदारी गरेका थिए।

 

मंसिर ३, २०८० आइतबार २१:३७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।