इन्द्रजात्रामा राष्ट्रपतिको अपमान गरेका मेयर बालेनले छठमा भने स्वागत गरे

इन्द्रजात्रामा राष्ट्रपतिको अपमान गरेका मेयर बालेनले छठमा भने स्वागत गरे

काठमाडौँ : इन्द्र जात्राको मूल आयोजक काठमाडौँ महानगरपालिका भएकाले राष्ट्राध्यक्ष लगायतलाई काठमाडौँ महानगरपालिकाका मेयरले स्वागत गर्ने परम्परालाई मेयर बालेन्द्र शाहले अस्वीकार गरेका थिए। उनी राष्ट्रपतिको स्वागतमा नगएपछि उपमेयर सुनिता डङ्गोलले स्वागत गरेकी थिइन्।

आइतबार कमलपोखरीमा भइरहेको छठ पूजामा भने राष्ट्रपतिको स्वागतमा मेयर बालेन पनि उपस्थित थिए। राष्ट्रपति रामचन्द्र पौडेल कमलपोखरीको पूजास्थलमा पुग्दा उनलाई बालेनसहित प्रतिनिधिसभा सदस्य गगन थापा, उपमेयर सुनिता डङ्गोल, महानगरका वडाअध्यक्षहरू र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसँगै छठको पूजास्थल पुगेका थिए।

उनी पहिला पशुपति क्षेत्रको गुह्येश्वरीको बागमती नदी किनारमा पुगेका थिए। पूजास्थलमा उनले सूर्यसहित छठी माताको पूजा गरेका थिए। त्यताबाट कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर उनले पूजा आराधना गरेका थिए।

राष्ट्रपतिसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँती,  प्रदेश सभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी र छठ पूजा आयोजक समितिका  पदाधिकारीहरूले स्वागत गरेका थिए।

मंसिर ३, २०८० आइतबार १८:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।