नेपालमा पहिलो पटक ‘पानी सुल्के’ प्रतियोगिता, उपाधि राहुल लिम्बुलाई

नेपालमा पहिलो पटक ‘पानी सुल्के’ प्रतियोगिता, उपाधि राहुल लिम्बुलाई

धरान : नेपालको पहिलो स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ।

चतरा हाइकिङ ग्रुपको आयोजनामा वार्ड नम्बर १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा उक्त प्रतियोगिता भएको हो।

प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो भए।

प्रथम राहुल लिम्बुले दोस्रो चरणको सेटमा क्रमशः २३+२२+१४=५९ अंक ल्याउन सफल भएका थिए। उनी स्थानीय वार्ड नम्बर १ खहरेका विद्यार्थी हुन्। उनले एक पटकमा २३ पटक उफ्राई सबैभन्दा बढी हो।

दोस्रो बनेका राजेन्द्र कार्कीले कुल ३० अंक ल्याए। तेस्रो बनेका लक्षमण कटुवालले २८ अंक प्राप्त गरे।

कार्यक्रम दुई चरणमा खेलाइएको थियो। सहभागीले पहिलो चरणमा एकवटा ढुङ्गाले पानीमा कम्तीमा तीन पटक उफार्न सकेकाले मात्र दोस्रो चरणको खेलमा सहभागी हुन पाउने व्यवस्था थियो।

दोस्रो चरणमा पुग्ने खेलाडीलाई तीन वटा ढुङ्गा उपलब्ध गराइएको थियो। पानीमा तीन पटकको उक्त ढुङ्गाको जम्मा उफ्राइ जोडेर विजेता घोषणा गरिएको थियो।

प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुने प्रतिस्पर्धीलाई क्रमश: नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसँगै प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

१ मंसिर, २०८०, ०७:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।