इजरायली सेनाले घेरेपछि हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अल-शिफा अस्पतालमा २३ सय मानिस छन्’

इजरायली सेनाले घेरेपछि हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अल-शिफा अस्पतालमा २३ सय मानिस छन्’

एजेन्सी : हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफामा दुई हजार तीन सय मानिस रहेको जनाएको छ।

आइतबार राति स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिक विवरणअनुसार अस्पतालभित्र अझै पनि कम्तीमा २ हजार ३ सय मानिस रहेको उल्लेख गरेको छ।

उसले यसबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको समेत जनाएको छ।

अस्पतालमा ६ सयदेखि ६५० बिरमीहरू, २ सयदेखि पाँच सयसम्म​​स्वास्थ्यकर्मी र लगभग १ हजार पाँच सय विस्थापितहरूले आश्रय लिएको विज्ञप्तिमा उल्लेख छ।

विश्व स्वास्थ्य संगठनका अनुसार ‘बिजुली, पानी र खाना नहुँदा बिरामीको ज्यान जोखिममा छ। उसले अस्पतालबाट बाहिर निस्कने सुरक्षित बाटोसमेत नभएको जनाएको छ।

डब्लुएचओले मानवीय कानूनको सम्मान गर्दै तत्काल युद्धविराम, नागरिकको सुरक्षा र स्वास्थ्य सुविधा पुनर्स्थापना गर्न अपिल गरेको छ।

तर इजरायलले हमासको अन्त्य नभएसम्म युद्धविराम नगर्ने बताइसकेको छ।

पछिल्लो दुई दिनदेखि इजरायली सेनाले गाजाका अस्पतालहरू घेरेर बसेको छ। उसका ट्याङ्कहरू त्यस आसपास छन्।

इजरायलले हमासले अस्पतालमुनिको बंकरबाट आक्रमण गरिरहेको दाबी गरेको छ।

कात्तिक २७, २०८० सोमबार ०९:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।