अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु

अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु

एजेन्सी : पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको छ।

नियमित प्रशिक्षण अभ्यासमा इन्धन भर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको अमेरिकी सेनाले जनाएको छ।

इजरायल र हमासबीच युद्ध सुरू भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको छ।

सामाजिक सञ्जाल साइट ‘एक्स’मा श्रद्धाञ्जली अर्पण गर्दै अमेरिकी सेनाले लेखेको छ, ‘भूमध्यसागरमा प्रशिक्षण अभियानको क्रममा विमान दुर्घटनामा परी मृत्यु भएका पाँच अमेरिकी सैनिकको मृत्युप्रति श्रद्धान्जली र शोक व्यक्त गर्दछौँ।’

‘बहुमूल्य प्रियजन गुमाएकाहरूको परिवार र साथीहरूका लागि प्रार्थना गरिरहेका छौँ,’ एक्समा लेखिएको छ, ‘सिङ्गो देश उनीहरूको दु:खमा सहभागी छ।’

राष्ट्रपति जो बाइडेनले उनीहरूप्रति श्रद्धन्जली अर्पण गर्दै हरेक दिन देशको लागि आफ्नो जीवन समर्पण गर्नेहरूप्रति सम्मान व्यक्त गरे।

तर, सेनाको विज्ञप्तिमा हेलिकप्टर कहाँबाट उडेको वा कहाँ दुर्घटना भएको हो भन्ने उल्लेख गरिएको छैन।

गत महिना, अमेरिकाले पूर्वी भूमध्यसागरमा धेरै साना जहाज र लडाकू विमानहरू सहित दुई विमान वाहकहरू तैनाथ गरेको थियो।

इजरायल र गाजाबीच युद्ध सुरु भएपछि अमेरिकाले आफ्ना छिमेकीहरूलाई यो युद्धमा संलग्न हुन नदिन यो तैनाथ गरेको हो।

प्यालेस्टाइनको तर्फबाट इरान र लेबनानको हिजबुल्लाह यस युद्धमा सामेल भएको अमेरिका चाहँदैन।

२७ कात्तिक, २०८०, ०८:४९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।