घर खर्च टार्न भारत छिरेका रनेलाई लद्दाखमा ठेकदारले ठग्यो, गाउँमा दैवले

घर खर्च टार्न भारत छिरेका रनेलाई लद्दाखमा ठेकदारले ठग्यो, गाउँमा दैवले

रुकुमपश्चिम : आठबिसकोट नगरपालिका-३ खदीका ४० वर्षीय रने बोहरा र उनकी ३६ वर्षीया श्रीमती लक्ष्मी बोहरा गत फागुनमा घर खर्च टार्न काम गर्ने भन्दै भारतको हिमाञ्चल प्रदेश लद्दाख गए। घरमा तीन नाबालक छोराहरूलाई एक्लै छोडेर कमाउने सपना बोकेर गएका उनीहरूले भदौसम्म ‘बिल्डिङ’ बनाउने काममा मजदुरी गरे। 

आठबीसकोटकै गोतामे ठेकेदारसँग काम गरेका उनीहरूलाई ठेक्कामा घाटा भएको भन्दै पैसा नदिएरै ठेकेदार फरार भए। अर्थात् उनीहरूले ६ महिनाको ज्याला पाएनन्। त्यसपछि बिचल्लीमा परेका उनीहरूले स्याउ बगैँचामा काम गरे।

स्याउको सिजन राम्रो नभएपछि एक महिनामा उनीहरूले सोचे जति कमाउन सकेनन्।  दुवै जनाले मजदुरी गरेर कमाएको २० हजार रुपैयाँ घरभाडा र रासन खाएको तिर्दा उनीहरूसँग १० हजार रुपैयाँ मात्रै बच्यो।  बचेको १० हजार गाउँमा छोराहरूलाई पठाएर आफूहरु उतै बस्ने योजना थियो उनीहरूको। 

तर, कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले उनको घर गर्ल्याम्म  ढल्यो। मानवीय क्षति भने भएन। घरमा भएका तीनै जनाले भागेर ज्यान बचाए। 

ठाउँठाउँबाट भित्तो फुटेको घर अहिले उनीहरूका लागि धराप बनेको छ। गाउँबाट छोराहरूले भूकम्पबाट घर भत्केको सुनाएपछि बोहरा दम्पती त्यही १० हजार रुपैयाँ र पुरानो लुगाफाटा च्यापेर भोकभोकै गाउँ फर्किएका छन्।

कमाएर छोराहरूलाई पढाउने सपनासँगै भूकम्पले घर भत्काएपछि चिन्तामाथि चिन्ता थपिएको रनेले सुनाए।

‘तीनै छोरालाई पढाएर आफ्नो खुट्टामा उभ्याउँला सोचेको थिएँ। दुई जनाको कमाइमा एक जनाको त बचत होला भनेर गएका थियौँ। ६ महिना काम गरेको पैसा नै नदिएर काम लगाउने गाउँकै ठेकेदार भाग्यो’, भारतबाट घर जाँदै गर्दा बाटोमा भेटिएका रनेले भने, ‘भूकम्पले भएको एक घर पनि भत्कायो। भारत गएर कमाइ भए त घर हालिएला नभए। जहान केटाकेटी उतै लिएर जिविका चलाउनु पर्ला। भारतमा ठेकेदारले ठग्यो, गाउँमा दैवले।’

भूकम्पले घर भत्काएपछि रनेले छोराहरूलाई समेत भारत लिने योजना बनाएका छन्। उनका १८ वर्षीय छोरा कक्षा ८, १२ वर्षीय छोरा कक्षा ६ र १० वर्षीय छोरा कक्षा २ मा पढ्छन्।

‘घर पनि पुगेका छैनाैँ। छोराहरू त्रिपाल टाँगेर बसेका छाैँ भन्थे। गाउँमा कोही हेरविचार गर्ने आफन्त पनि छैनन्’, रनेकी श्रीमती लक्ष्मीले भनिन्, ‘कसैले चामल दिए त खालान् नभए त भोकै त होलान्।’

२४ कात्तिक, २०८०, १०:५४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।