पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित, फाइदा अस्ट्रेलियालाई

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित, फाइदा अस्ट्रेलियालाई

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित निकाल्दै दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लिएको छ।

यो जितसँगै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४७ दशमलव २ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो।

दक्षिण अफ्रिकाको जितमा मध्यक्रमका ब्याटर एडेन माक्ररमले सर्वाधिक ९१ रनको योगदान दिए।

ओपनर टेम्बा बभुमा २८ रनमा आउट हुँदा क्विन्टन डि कक ४, रास्सी भान डर डुसेन २१, हेनरिक क्लासेन १२, डेविड मिलर २९, मार्को यानसन २० रनमा आउट भए।

पाँचौं विकेटका लागि मिलर र माक्ररमले ७० रनको साझेदारी गरे। दक्षिण अफ्रिकालाई जितको लागि अन्तिम ६० बलमा २२ रन चाहिँदा हातमा ४ विकेट थियो।

क्रिजमा एडेन माक्ररम ९१ र जेराल्ड कोट्जी ९ रनमा थिए।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले १० ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए।

हरिस रौफले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए। मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर २ विकेट लिए। स्पिनर उस्मा मिरले ८ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४६ दशमलव ४ ओभरमा २ सय ७० रनमा अल आउट भएको थियो।

पाकिस्तानका मध्यक्रमका ब्याटर साउद सकिलले ५२ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाएका थिए।

कप्तान बाबर आजमले ५०, ओपनर अब्दुल्लाह शफिक ९, इमाम उल हक १२, मोहम्मद नवाज २४, शाहिन शाह अफ्रिदी २, मोहम्मद वासिम जुनियर ७ र मोहम्मद रिजवान ३१ रनमा आउट भए।

शादब खान ४३ र इफ्तिखार अहमद २१ रनमा आउट भए। 

दक्षिण अफ्रिकाकाको जितमा स्पिनर तबरेज शाम्सीले ४ विकेट लिए। मार्को यानसनले ३ विकेट लिए भने  जेराल्ड कोट्जी २ विकेट लिए।

यो जितसँगै दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ। भारत ५ खेलमा १० अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ।

न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ। अष्ट्रेलिया ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ।

पाकिस्तानको यस हारले अष्ट्रेलियालाई भने फाइदा पुग्नेछ। अष्ट्रेलियाले बाँकी सबै खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा स्थान बनाउनेछ।

कात्तिक ११, २०८० शनिबार ०७:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।