विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज खराब लयमा रकेको पाकिस्तानले उत्कृष्ट लयमा रहेको दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ।

यो जारी विश्वकपमा दुवै टोलीको लागि छैटौं खेल हो। खेल दिउँसो २ बजेर १५ मिनेटमा चेन्नईको एमए चिदम्बरमा क्रिकेट रंगशालामा सुरु हुनेछ।

यी दुई टिमबीच भएका पछिल्लो पाँच एकदिवसीय खेलमा दक्षिण अफ्रिकामाथि पाकिस्तान हावी भएको छ। उसले तीन खेल जित्दा दक्षिण अफ्रिकाले दुई खेल जितेर चित्त बुझाएको छ।

पछिल्लो केही समयदेखि पाकिस्तान एकदमै खराब लयमा देखिएको छ। विश्वकपमा खेलेका पाँच खेलमध्ये उसले मात्र दुई खेल जितेको छ।

अफगानिस्तानसँग पराजित भएपछि पाकिस्तानी टिमको अहिले खुब आलोचना भइरहेको छ। कप्तान बाबर आजम त्यसको तारो बनिरहेका छन्।

दक्षिण अफ्रिका भने पछिल्लो समय उत्कृष्ट लयमा देखिएको छ। पहिले ब्याटिङ पाएको पछिल्ला केही खेलहरूले टिमले चार सय भन्दा माथिको स्कोर खडा गरेको छ।

यद्यपि दक्षिण अफ्रिका पनि नेदरल्याण्ड्ससँग पराजित भएपछि कप्तान र टिमको आलोचना भएको थियो। नेदरल्याण्ड्स छनोट भएर आएको टोली हो।

जारी विश्वकपमा दक्षिण अफ्रिका ८ अंकसहित दोस्रो स्थानमा रहँदा पाकिस्तान भने चार अंकसहित छैटौं स्थानमा रहेको छ।

भारत पाँच खेलमा अपराजित रहँदै १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः ८, ६ र ४ अंकसहित न्यूजिल्याण्ड, अस्ट्रेलिया र श्रीलंका छन्।

सातौं, आठौं, नवौं र दशौं स्थानमा क्रमशः ४, २, २ र २ अंकसहित अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड र नेदरल्याण्ड्स छन्।

कात्तिक १०, २०८० शुक्रबार ०७:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।