दशैंमा ट्रफी ल्याएर नेपालीको मुहारमा खुसी दिने सपना पूरा भयो : प्रशिक्षक टमाटा

दशैंमा ट्रफी ल्याएर नेपालीको मुहारमा खुसी दिने सपना पूरा भयो : प्रशिक्षक टमाटा

काठमाडौं : १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले दशैंमा ट्रफी ल्याएर नेपालीको मुहारमा खुसी दिने सपना पूरा भएको बताएका छन्।

मलेसियामा भएको एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक टमाटाले यस्तो बताएका हुन्।

‘हामीलाई च्याम्पियन बन्नु थियो,’ उनले भने, ‘जसरी ट्रफी ल्याएर दशैंको बेला सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई खुसी पार्ने सपना थियो, त्यो पूरा गर्यौँ।’
यस्तै टमाटाले अहिले खेलाडीहरूले विश्वकप छनोटको भन्दा राम्रो प्रदर्शन गरेको बताए।

‘विश्वकप छनोटभन्दा राम्रो पफर्मेन्स गर्दैछ केटाहरूले,’ उनले भने, ‘राम्रो मेहनत गरेको छ, आफैँ पनि इन्डियामा गएर इन्डिभिज्युल ट्रेनिङ गरेको छ। यहाँ पनि ट्रेनिङ भइराको छ।’

अब आफूहरूको अगाडी भारत, पाकिस्तानजस्ता टेस्ट राष्ट्रहरूसँग खेल्नुपर्ने चुनौती रहेकाले त्यहाँ गएर राम्रो खेल्नुपर्ने बताए। त्यसको लागि आफूले योजना बनाएको र नेपाल क्रिकेट संघ(क्यान)सँग बसेर छलफल गरेर आगामी रणनीति तय गर्ने जानकारी दिए।

विश्वकपको तयारीको लागि एसिया कप राम्रो प्लेटफर्म भएको बताउँदै टमाटाले तिहारपछि सिनियर टोलीसँगै क्याम्पमा राखेर अभ्यास गराउने योजना रहेको स्पष्ट पारे।

विश्वकप अघि भारत, बंगलादेश वा श्रीलंका नै गएर तयारी गर्ने सोचमा आफूहरू रहेको र क्यानसँग यस विषयमा छलफल गर्ने बताए।

कात्तिक ९, २०८० बिहीबार ०८:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।