एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको लज्जास्पद हार, बन्यो रेकर्ड

एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको लज्जास्पद हार, बन्यो रेकर्ड

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले लज्जास्पद हार ब्यहोरेको छ।

अष्ट्रेलियाले दिएको ४०० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा ९० रन बनाएर अलआउट भएसँगै ३०९ रनको लज्जास्पद हार ब्यहोरेको हो।

एकदिवसीय विश्वकपमा रनको आधारमा अस्ट्रेलियाको यो सबैभन्दा ठूलो अन्तरको जित हो।

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस जितर ब्याटिङ गरेको अस्ट्रेलियाले आक्रामक सुरुवात गरेको थियो।

ओपनर मिचेल मार्श ९ रन बनाएर लोगान भ्यान बेकको बलमा क्याच आउट भए पनि दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टीभन स्मिथले १३२ रनको साझेदारी गरे।

स्मिथ ७१ रन बनाएर आर्यन दत्तको बलमा क्याच आउट भए। वार्नरले ९३ बलमा १ सय ४ रनको शतकीय पारी खेले।

खेलमा मार्नस लाबुसेनले ६२ र जोश इंग्लिसले १४ रन जोडे। विस्फोटक ब्याटिङ गरेका ग्लेन म्याक्सवेलले विश्वकपमा सर्वाधिक छिटो शतक पूरा गरेका छन्।

४० बलमै शतक पूरा गरेका उनले एडन मार्करमको रेकर्ड तोडेका हुन्। मार्करमले यसै विश्वकपमा श्रीलंकाविरुद्ध ४९ बलमा शतक पुरा गरेका थिए।

४४ बलमा १ सय ६ रन बनाएका म्याक्सवेललाई भान विकले पवेलियन फर्काएका थिए। भानले चार र लिडले दुई विकेट लिए पनि अष्ट्रेलियालाई विशाल योगफल तयार गर्नबाट रोक्न सकेनन्।

जवाफमा नेदरल्यान्ड्सले खराब सुरुआत गरेको थियो। ओपनर म्याक्स ओवुडलाई ६ रनमा मिचेल स्टार्कले बोल्ड गरे। २८ रन बनाएर विक्रमजित सिंह आउट भए।

१० रन जोडेका कोलिन एकर म्यान हाजलेवुडबो एलबीडब्ल्यू धरापमा परे। लिड पनि चार रनमै पवेलियन फर्किए। अन्य खेलाडी पनि आज चम्कन सकेनन्।

यो जितसँगै सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाको स्थिति बलियो बनेको छ। यो जितपछि अस्ट्रेलियाको ५ खेलबाट ६ अंक भएको छ। नेदरल्यान्ड्स भने दुई अंकमै सीमित रह्यो।

कात्तिक ९, २०८० बिहीबार ०७:३१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।