पाकिस्तानलाई हराएपछि मैदानदेखि बससम्म नाचेको नाच्यै अफगानिस्तानी खेलाडी

पाकिस्तानलाई हराएपछि मैदानदेखि बससम्म नाचेको नाच्यै अफगानिस्तानी खेलाडी

एजेन्सी : सोमबार भएको विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै स्तब्ध पारेको छ।

अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पूरा गरेको थियो। अफगानिस्तानका स्टार बलर राशिद खानले यो जितमा खुसी व्यक्त गर्दै यो जितले विश्वकप जितेको जस्तै खुशी भएको बताएका छन्।

उनले भने, ‘विश्वकप जितेको जस्तो महसुस भयो। हामीले यसअघि पाकिस्तानसँग सात खेल खेलेका थियौं र कहिल्यै जितेका थिएनौं। तर हामीमा आत्मविश्वास थियो।’

अफगानिस्तान टोलीले जितपछि मनाएको खुसीयालीको भिडियो सार्वजनिक भएको छ।

यस्तै एउटा भिडियो भाइरल भएको छ जसमा राशिद खान जितपछि मैदानमा नाचिरहेका देखिन्छन् र उनीसँगै स्टार स्पोर्ट्स टोलीसँग मैदानमा उपस्थित भारतीय पूर्व फास्ट बलर इरफान पठान पनि नाच्न थालेका छन्।

यी दुईले सेलिब्रेशनमा डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अफगानिस्तान टोलीलाई मनाउने अर्को भिडियो भाइरल भइरहेको छ। जसमा अफगानिस्तानका खेलाडीहरू बसमा नाचिरहेको देखिएका छन्।

चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो। टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो।

जवाफमा अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पूरा गरेको थियो। यो जितसँगै अफगानिस्तान अंक तालिकाको छैटौं स्थानमा पुगेको छ।

कात्तिक ७, २०८० मंगलबार १४:५०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।