एसियाडमा एरिकालाई ऐतिहासिक रजत पदक

एसियाडमा एरिकालाई ऐतिहासिक रजत पदक

काठमाडौं : नेपाली कराते खेलाडी एरिका गुरुङ १९औं एसियाली खेलकुद (एसियाड)को महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी छन्।

फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित हुँदा एरिका रजतमा सीमित भइन्। एरिकाले कराते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन्।

यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक ल्याएका थिए।

सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन्। उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरेकी थिइन्।

यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन्। उनले १-१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन्।

यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ। यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो।

समग्र एसियाड इतिहासमा यो नेपालको २६ औं पदक हो। यसअघि नेपालले १८औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो।

नेपालले १७ वर्षपछि एसियाडको एकै संस्करणमा दुई पदक जितेको हो। २०१० र २०१४ मा कास्यमा सिमित नेपाली टोली २०१८ मा एकल रजत जितेर फर्केको थियो।

२० असोज, २०८०, १७:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।