विश्वकपअघिको दोस्रो अभ्यास खेलमा पनि पाकिस्तान पराजित

विश्वकपअघिको दोस्रो अभ्यास खेलमा पनि पाकिस्तान पराजित

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकपअघि भएको दोस्रो अभ्यास खेलमा पनि पाकिस्तान पराजित भएको छ।

दोस्रो अभ्यास खेलमा ३५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा अलआउट भएर ३३७ रनमा समेटिएपछि अस्ट्रेलियाले खेल १४ रनले जितेको हो।

पाकिस्तानका लागि बाबर आजम, इफ्तिखार अहमद र मोहम्मद नवाजले क्रमशः ९०, ८३ र ५० रनको अर्धशतकीय पारी खेले। बाबर आजम ९० रन बनाएर खेलेनन्, रिटार्यड हट भए।

फखर जमान २२, इमान उल हक र हसन अली १६, अब्दुल्लाह सफीक १२, उसामा मिर १५, अगा सलमान १०, शाहदाब खान ९ रन बनाएर आउट हुँदा मोहम्मद वसीम ४ बलमा नटआउट रहे।

अस्ट्रेलियाका मार्नुस लाबुसचेन्जले तीन, मिचेल मार्स र प्याट कमिन्सले समान दुई–दुई तथा सिन अब्बोट, ग्लेन म्याक्सवेलले समान एक–एक विकेट लिए।

त्यसअघि हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३५१ रन बनायो।

उसका लागि ग्लेन म्याक्सवेल र क्यामरन ग्रिनले अर्धशतकीय पारी खेले।

म्याक्सवेलले ७७ रन बनाउँदा डेभिड वार्नर र जोस इन्गिल्सले समान ४८-४८ रन जोडे। मार्नुस लाबुसचेन्ज ४०, मिचेल मार्स ३१, स्टिभ स्मिथ २७, एलेक्स क्यारी ११ रनमा आउट भए।

क्यामरन ग्रिन र प्याट कमिन्स क्रमशः ५० र २ रन बनाएर नटआउट रहे।

पाकिस्तानका उसामा मिरले दुई तथा हरिश रौफ, मोहम्मद वसीम, शाहदाब खान र मोहम्मद नवाजले समान एक–एक विकेट लिए।

यसअघि न्यूजिल्याण्डसँग भएको पहिलो अभ्यास खेलमा पनि पाकिस्तान पाँच विकेटले पराजित भएको थियो।

असोज १६, २०८० मंगलबार २२:३०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।