जस्टिन ट्रुडोले भने- भारतसँग तनाव बढाउने मनसाय छैन

जस्टिन ट्रुडोले भने- भारतसँग तनाव बढाउने मनसाय छैन

एजेन्सी : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतसँग थप तनाव बढाउन नचाहेको पनि दोहोर्याएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार ओटावामा पत्रकारहरूसँग कुरा गर्दै जस्टिन ट्रुडोले भने, ‘भारतमा कूटनीतिज्ञ हुनु धेरै महत्त्वपूर्ण छ।’

उनको बयान फाइनान्सियल टाइम्स अखबारको समाचार पछि आएको हो, जसमा भारतले ४१ क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न भनिएको दाबी गरिएको छ।

उनले भारतविरुद्ध कुनै पनि प्रकारको प्रतिशोधात्मक कारबाही गर्ने आफ्नो मन नरहेको र दिल्लीसँग मिलेर काम गर्ने प्रयास गर्ने बताए।

ट्रुडोले भने, ‘यो कठिन समयमा, हामी भारतसँग रचनात्मक सम्बन्ध कायम राख्ने दिशामा काम गरिरहनेछौँ।’

गत महिना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशको संसदमा वक्तव्य दिँदै हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको प्रमाण फेला परेपछि भारत र क्यानडाबीचको सम्बन्ध बिग्रिएको थियो।

तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ। त्यसपछि दुवै देशले एक अर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका थिए।

असोज १६, २०८० मंगलबार २२:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।