रिगल छुटेको विषयमा मन्त्री श्रेष्ठले भनिन्- ‘आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो’

रिगल छुटेको विषयमा मन्त्री श्रेष्ठले भनिन्- ‘आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो’

काठमाडौं : भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताइन्।

‘आममाफी एउटा छुट्टै कुरा हो। अदालतबाट दोषी ठहर भएकालाई पनि आममाफी दिने भन्ने कुरा छ र अहिलेको उसमा आममाफी नै दिइएको छैन। यो त कैद कट्टा गरिएको हो। कैद कट्टा गरेर छुटाइएको हो,’ उनले भनिन्।

अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भन्ने पक्षमा आफू नरहेको भन्दै उनले यसपटक कसैलाई पनि आममाफी नदिइएको बताइन्।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आममाफी दिनु गलत भएको बताए। उनले पहिला यी कुरामा नदिने गरिए पनि अहिले विकृति आएको बताए।

उनले भने, ‘पहिला मैले थाहा पाउँदा हत्या, बलात्कार, लागुऔषधमा माफी दिइँदैन्थ्यो।’

नेपालगञ्जमा खुँडा प्रहार गरी २०७२ साल असार २८ गते चेतन मानन्धरको हत्या गर्ने चर्चित गुन्डा नाइके रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा भएको सन्दर्भमा उनले यस्तो बताएकी हुन्।

असोज १६, २०८० मंगलबार २०:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।