दशैंको टीकाको उत्तम साइत ११ बजेर २ मिनेट

दशैंको टीकाको उत्तम साइत ११ बजेर २ मिनेट

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ।

जसअनुसार विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। यसवर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार हुनेछ।

त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान पर्व बडादशैं सुरु हुँदैछ।

कात्तिक पहिलो साता बडा दशैंको मुख्य दिन अर्थात् विजया दशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुन्छ

असोज १६, २०८० मंगलबार १९:२७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।