खुँडा प्रहार गरी व्यक्ति हत्या गर्ने गुन्डा नाइके रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

खुँडा प्रहार गरी व्यक्ति हत्या गर्ने गुन्डा नाइके रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : बाँकेको नेपालगञ्जमा खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने चर्चित गुन्डा नाइके रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरी उनलाई फेरि कैदमा पठाउन माग राख्दै नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग गरेकी छन्।

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुन्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो।

अभियुक्त ढकालले नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। घटना दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुन्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए। 

उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको बताइएको थियो।

असोज १६, २०८० मंगलबार १४:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।