पहिलो नम्बरमा रहेको भारतविरुद्ध नेपालको जुझारु प्रदर्शन, खेल त हार्‍यो तर सम्मानजनक रुपमा

पहिलो नम्बरमा रहेको भारतविरुद्ध नेपालको जुझारु प्रदर्शन, खेल त हार्‍यो तर सम्मानजनक रुपमा

काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले नं १ भारतसँग निकै जुझारु प्रदर्शन गरेको छ।

खेल २३ रनले हारे पनि नेपालले युवा स्टार खेलाडीले भरिएको भारतसँग सम्मानजनक खेल देखायो। 

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालले २० ओभरको पुरै खेल खेल्दै ९ विकेटको क्षतिमा १७९ बनायो। नेपालले खेलमा कुल १४ छक्का हानेको थियो।

यस प्रतियोगिताको लागि भारतले ऋतुराजको कप्तानीमा दोस्रो दर्जाको टिम पठाए पनि अधिकांश खेलाडीले राष्ट्रिय टिम र आईपीएलमा खेलिसकेका छन्।टी-२० क्रिकेटमा भारतको यो टिम र पहिलो टिममा धेरै भिन्नता पनि छैन।

राम्रो सुरुवात गर्दै ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन जोडेको थियो। तर यसपछि भने विकेट गुमाउन थाल्यो।

नेपालका ओपनर आसिफ शेख ६ बलमा १० रन जोड्दै पहिलो विकेटको रुपमा आउट हुँदा नेपालको रन २९ थियो।अर्का ओपनर कुशल भुर्तेल भने ३२ बलमा ४ चौका १ छक्कासहित २८ रनमा आउट भए।

यसपछि रवि विश्नोइले एकै ओभरमा नेपालको कप्तान रोहित पौडेल र कुशल मल्ललाई आउट गरेपछि नेपालले मात्र ७७ रनमा ४ विकेट गुमायो र ब्याटिङ दबाबमा आयो।

११ औं ओभरमा कुशल मल्ल २२ बलमा २ चौका २ छक्कासहित २९ रनमा बनाउँदै क्याच आउट भए। रोहित मात्र ३ रनमा एलबीडब्लू धरापमा परेका थिए।

तर यसपछि दीपेन्द्र सिंहले एकै ओभरमा शिभव् दुवेलाई लगतार ३ छक्का हान्दै दबाबलाई भारतीय बलरमा सारेका थिए। उनी १५ बलमा ४ छक्कासहित ३२ रनमा विश्नोइकै बलमा आउट भए।

सन्दिप जोराले पनि मात्र १२ बलमा १ चौका ३ छक्कासहित २९ रनको योगदान दिए। ठूलो लक्ष्य भएकाले आक्रामक खेल खेल्दा सोमपाल कामी ७ र गुल्शन झा ६ रनमा आउट भए।

त्यसैगरी सन्दीप लामिछाने ५ रनमा आउट भए भने करण केसीले २ छक्कासहित अविजित १८ रनको योगदान दिए। भारतका लागि आभेश खान र रवि विश्नोइले ३/३ विकेट लिएका थिए।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनायो। जसका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे। 

उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०० रन पुरा गरेका हुन्। तर शतक लगत्तै जैसवाललाई दीपेन्द्रले कप्तान रोहितमार्फत क्याच आउट गराए।

दीपेन्द्रले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए। भारतका कप्तान ऋतुराज गाइक्वाडलाई २५ रनमा कप्तान रोहितमार्फत क्याच आउट गराएका थिए। दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।

त्यसैगरी सोमपाल कामीले तिलक बर्मालाई मात्र २ रनमा पेभोलिएनको बाटो देखाउँदा सन्दीप लामिछानेले जितेश बर्मालाई ५ रनमा आउट गरेका थिए।

१८ ओभरसम्म १६३ रन रहेको भारतले अन्तिम दुई ओभरमा ३९ रन जोड्यो। जसमा अन्तिम ओभरको २५ रनले स्कोर २०० रन कट्यो। जसका लागि रिन्कु सिंहले मात्र १५ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३७ रन जोडे।

नेपालले भारतसँग टी-२० आई खेल खेल्न लागेको यो पहिलो पटक हो। गत महिना मात्र एसिया कपमा नेपालले भारतसँग पहिलो पटक एकदिवसीय खेल खेलेको थियो। एक महिनाभित्र नेपाल भारतसँग सानदार प्रदशर्न गर्दै दोस्रो पटक पराजित भयो।

नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। टेस्ट टिम भएकाले भारतले भने जारी प्रतियोगितामा सिधैं क्वाटरफाइनलमा ठाउँ पाएको हो।

असोज १६, २०८० मंगलबार १०:१८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।