चिरायुको पाँचौं तलाको क्यबिनमा छन् अनमोल, मोबाइल लैजान निषेध

चिरायुको पाँचौं तलाको क्यबिनमा छन् अनमोल, मोबाइल लैजान निषेध

काठमाडौं : हिरासतमा बस्न अस्वीकार गरेपछि प्रहरीकै समन्वयमा चिरायु अस्पताल लगिएका अभिनेता अनमोल केसी क्याबिनमा छन्।

कुनै स्वास्थ समस्या नभए पनि प्रहरीको हिरासत छल्न अस्पताल भर्ना भएका उनी अस्पतालको पाँचौं तलामा रहेको सुविधासम्पन्न क्याबिनमा छन्।

उनलाई राखिएको क्याबिनमा सीमित स्वास्थकर्मीलाई मात्र जान दिइएको छ। स्वास्थ्यकर्मी जाँदा तस्बिर बाहिरिएला भनेर मोबाइल लैजान रोकिएको छ।

स्रोतका अनुसार कसैले अनमोलबारे सोधे कुनै जानकारी नदिन प्रशासनबाट निर्देशन दिइएको छ।

प्रहरीले पक्राउ गरेका आरोपीलाई हिरासतमा राख्नुअघि स्वास्थ परीक्षण गरेर राखिन्छ। स्वास्थ परीक्षण गर्दा गम्भीर समस्या देखिएर चिकित्सकले भर्ना गर्न सिफारिस गरेमात्र भर्ना गरिन्छ।

स्वास्थ परीक्षण सरकारी अस्पतालमा गरिन्छ। सरकारी अस्पतालमा राख्न नमिल्ने देखिएमा सम्बन्धित रोगको विशेषज्ञ रहेको अस्पतालमा रिफर गरिन्छ।

सिंहदरबार वृत्तले उनलाई वीर, निजामती वा शिक्षण अस्पताल नलगी चिरायु अस्पताल लगेको थियो।

अनमोल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको आरोपी हुन्। कार्यालयले केसीलाई पक्राउ गरेर हिरासतमा राख्न सिंहदरबार वृत्तमा पठाएको थियो।

केसी हिरासतमा बस्न नमानेपछि वृत्तका डीएसपी रविन्द्रमान गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंमा समन्वय गरेका थिए।

आरोपी अपराध अनुसन्धान कार्यालयको आरोपी भएको र त्यतै अनुसन्धान भइरहेकाले उतै समन्वय गर्न भनिएपछि गुरुङले अस्पताल लगेका थिए।

स्रोतका अनुसार प्रहरीले पहिला नर्भिकमा राख्न खोजेको थियो। नर्भिकले प्रक्रिया अनुसार सरकारी अस्पतालबाट रिफर भएर नआई राख्न नमिल्ने जवाफ दिएपछि चिरायु लगिएको थियो।

चिरायु यसअघि पनि स्वास्थ्य समस्या नदेखिएका आरोपीलाई बिरामी देखाएर राखेर विवादमा तानिएको अस्पताल हो।

बुढानिलकण्ठका पैदलयात्रीलाई ठक्कर दिएर मारेको आरोपमा पक्राउ परेको बेलामा पृथ्वी मल्ललाई चिरायुमै राखियो। रक्तचाप उच्च भएको भन्दै राखिएका उनी छानविन अवधिभर अस्पतालमै बसे।

पुर्पक्षका लागि कारागार पुगेपछि पनि मल्ल चिरायु नै पुगे।

डिल्लीबजार कारागारले पटक-पटक अस्पताललाई पत्र पठाए पनि डिस्चार्ज नगरेपछि अस्पताल र सम्बन्धित चिकित्सकलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएपछि मात्र डिस्चार्ज गरेको थियो।

असोज १३, २०८० शनिबार २२:०९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।