डा. हरिशको उपचार अनुभव : यता बच्चाको दाँत फुक्लियो, उता आमा गर्ल्याम्मै ढलेर बेहोस भइन्

डा. हरिशको उपचार अनुभव : यता बच्चाको दाँत फुक्लियो, उता आमा गर्ल्याम्मै ढलेर बेहोस भइन्

ओम अस्पतालमा मेडिकल डाइरेक्टरको रूपमा कार्यरत डा. हरिश जोशी सिनियर कन्सल्टेण्ट डेण्टल सर्जन हुन्। दाँतसम्बन्धी समस्या भएका हजारौं बिरामीको उपचार गरेका डा. हरिसले चिकित्सकीय पेशाको सिलसिलामा देखे भोगेका तीतामीठा अनुभव उकेरासँग साटेका छन्।

‘लठ्याउने सुई दिएपछि ती महिला एप्रोन नै समाएर झम्टिइन्’
करिब ४० वर्षीया महिला दाँत दुख्ने समस्याका कारण अस्पताल पुगिन्। दाँतको अवस्था हेर्दा जरादेखि नै उपचार गर्नुपर्ने देखियो। उपचारका क्रममा नदुखोस् भनेर गिजाको भागमा लठ्याउने औषधि दिइयो। यसरी निश्चित भाग मात्रै लठ्उउने गरी दिइने एनेस्थेसियालाई चिकित्सकीय भाषामा लोकल एनेस्थेसिया भनिन्छ।

तर, लठ्याउने औषधि दिनासाथ ती महिलाले रन्थनिएर बर्बराउँदै ‘मलाई के भयो, तपाईंले मलाई के गर्नुभयो’ भनेर डा हरिशलाई झम्टिएर एप्रोन नै समातिन्। ती महिलाले अस्वभाविक रूप देखाइन्। उपचारमा संलग्न डा. हरिशको टिमले ती महिलालाई सम्झायो। बल्ल शान्त भइन् उनी।

शान्त भएपछि करिब २० मिनेटमा त ती महिलाको उपचार नै सकियो। दाँतको उपचार सफल भयो। महिलाको दाँत दुख्ने समस्या ठिक भयो। महिला घर फर्किइन्। पछि ती महिलाले ‘मलाई थाहा भएन’ भन्दै चिच्याएकोप्रति क्षमासमेत मागिन्। पछिसम्म पनि फलोअपमा पुग्दा ती महिला अप्ठेरो मान्थिन्।

‘श्रीमतीको मुख बांगिएपछि श्रीमान्ले बेस्सरी थर्काए’
एक अधबैंसे महिलाको दाँतमा समस्या रहेछ। परीक्षणका क्रममा दाँतको जरादेखि उपचार गर्नुपर्ने थियो। ती महिलाको पनि दाँतको उपचारका लागि लठ्याउने औषधि दिइयो। त्यसपछि डा. हरिशले ति महिलाको दाँताको जरैबाट उपचार गरे।

उपचारपछि महिला घर फर्किइन्। यसरी गिजामा लठ्याउने एनेस्थेसिया दिँदा उपचारपछि सामान्यतया आधा घण्टादेखि दुई घण्टासम्म मुख बांगिन्छ। ती महिलाको पनि उपचारपछि घर पुग्दा–नपुग्दै मुख (माथिल्लो ओठ) बांगिएछ।

घर पुगेपछि ती महिलाका श्रीमान्ले डा. हरिशलाई राती करिब नौ बजे फोन गरे। फोन गरेर ती महिलाका श्रीमान् कडा स्वरमा कड्किए, ‘तपाईंले के गर्नुभएको? मेरी श्रीमतीको मुख बांगिसक्यो।’

उनी यतिमा मात्र रोकिएनन्, नानाथरी शब्द प्रयोग गरेर गाली गर्न थाले।

त्यसपछि डा. हरिशले त्यो सामान्य प्रक्रिया नै भएकाले १/२ घण्टामा ठिक हुन्छ भन्दै सम्झाउने कोसिस गरे। डा. हरिशले ‘एक घण्टापछि पनि मुख सिधा भएन भने लिएर आउनुहोस्, म हेर्छु’ भन्दै सम्झाएपछि बल्ल फोन राखे बिरामीका श्रीमान्ले।

त्यसपछि भने ती महिलाका श्रीमान्को फोन आएन। यसको अर्थ श्रीमतीको मुख पूर्ववत् सामान्य अवस्थामा नै फर्कियो।

तीन दिनपछि ती महिला श्रीमान् लिएर फलोअपका लागि डा. हरिशकहाँ पुगिन्। डा. हरिशले चेकजाँच गर्दा ती महिलाको दाँतको उपचार सफल भएका कारण दाँतमा समस्या थिएन। मुख पनि सामान्य अवस्थामा नै थियो। 

त्यसपछि पनि धेरै पटक ती महिला फलोअपका लागि डा. हरिशकहाँ पुगिन्। तर, उनका श्रीमान भने त्यसपछि कहिल्यै पनि क्लिनिकभित्र नछिरेको उनले सुनाए।

‘उहाँको श्रीमान् जहिल्यै क्लिनिक बाहिर बस्नुहुन्थ्यो, त्यो सम्झँदा मलाई अलि अनौठो लाग्छ’, डा. हरिशले भने।

यस्ता घटनाले पनि परामर्श नै महत्व हुन्छ भन्ने डा. हरिशलाई थप ज्ञान भयो।

उनी भन्छन्, ‘काउन्सिलिङ सबैभन्दा ठूलो कुरा हो। हामी चुक्ने भनेकै काउन्सिलिङमा हो। काउन्सिलिङ राम्रोसँग गर्नुपर्छ।’

‘बच्चाको दाँत फुक्लियो, आमा ढलिन्’
त्यसैगरी करिब ६ वर्षको बच्चाको उपचार गर्दाको अर्को अनुभवसमेत डा. हरिशले उकेरासँग साटे। ती बच्चाको दाँत फुकाल्नु थियो।

भर्खरकी आमाले बच्चालाई दाँत फुकाल्नका लागि डा. हरिशकहाँ लिएर पुगेकी थिइन्। आमा छेउमा उभिएकी थिइन्। उनी बच्चाको दाँत फुकालिदिन थाले। दाँत फुक्लियो। 

दाँत फुक्लिएसँगै दाँतबाट अलिकति रगत पनि आयो। तर, बच्चाको मुखबाट रगत आएको देख्नासाथ ती महिला त रिंगटा लागेर गर्ल्याम्मै डा. हरिशकै ढाडमा ढलिछन्।

त्यसपछि आमालाई बेडमा राखेर बेहोसी अवस्थाबाट ब्यूँत्याउनुपरेको उनले सुनाए।

जन्म बैतडी, रोजाइमा दाँतको डाक्टरी
२०२३ मा बैतडीको मगराउँमा जन्मिएका हरिशका बुवा पनि चिकित्सक नै हुन्। बुवाको काठमाडौंमा सरुवा भयो। त्यसैले करिब डेढ वर्षको हुँदा बुवाआमाले उनलाई काठमाडौं ल्याए।

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वविनकेतन माविबाट २०३९ मा एसएलसी गरेका उनले भारतबाट आइएस्सी गरे। बुवा डाक्टर भएका कारण उनलाई पनि डाक्टर पढ्ने इच्छा थियो।

त्यसैले बीडीएस (ब्याचलर इन् डेण्टल सर्जरी) अध्ययनका लागि भारतको कर्नाटक युनिभर्सिटिमा सन् १९८८ मा भर्ना भए। सन् १९९३ उनी बीडीएस अध्ययन सकेर नेपाल फर्के।

त्यसपछि डा. हरिश सन् १९९३ तिर लोकसेवामार्फत स्थायी सरकारी मेडिकल अधिकृत चिकित्सकका रूपमा जागिरे भए। उनको पहिलो पोष्टिङ झापाको तत्कातीन मेची अञ्चल अस्पतालमा भयो। त्यहाँ उनले केही महिना काम गरे।

त्यसपछि उनी वीर अस्पतालमा काम गर्न थाले। वीर अस्पतालमा डा. हरिशले करिब एक वर्ष काम गरे। त्यसपछि भने सरकारी जागिर नै छाडे उनले।

सरकारी जागिर छोडेपछि उनी स्नातकोत्तर तहको जनस्वास्थ्य (मास्टर्स इन पब्लिक हेल्थ/एमपीएच) विषय अध्ययनका लागि थाइल्याण्ड पुगे। विशेषगरी उनको रोजाइमा डेण्टल पब्लिक हेल्थ पर्यो।

अध्ययन सकेर नेपाल फर्किएपछि भने डा. हरिश निजी अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्न थाले। उनले लाइन्स क्लबको क्लिनिकमा काम गरे। पिपुल्स डेण्टल कलेजमा याकल्टिका रूपमा काम गरे। केही समय उन पिपुल्स डेण्टल कलेजको निर्देशकको भूमिकामा समेत रहे।

त्यसपछि सन् १९९६ को अन्त्यतिर डा. हरिशले ओम अस्पतालमा काम गर्न थाले। ओम अस्पतालमा विभिन्न भूमिकामा रहेर उनले काम गर्दै आएका छन्। ओम अस्पतालकै नर्सिङ कलेजमा पनि उनले करिब सात वर्ष निर्देशकका रूपमा काम गरे। बीचमा उनले विभिन्न ठाउँमा काम गरे। हाल डा. हरिश ओम अस्पतालको निर्देशक (मेडिकल डाइरेक्टर) को भूमिकामा कार्यरत छन्।

डा. हरिश बिरामीको विशेषगरी दाँतसम्बन्धी समस्याको जनचेतना जगाउने, उपचार गर्ने लगायत काम पर्छन्। दाँत बिग्रिएका व्यक्तिको उपचार, दाँतै नभएका व्यक्तिको कृतिम दाँत हालिदिनु डा. हरिशको चिकित्सकीय दैनिकी हो। त्यसैगरी निर्देशक भएको नाताले अस्पतालको व्यवस्थापकीय नेतृत्व पनि गर्छन् उनी।

स्वास्थ्य शिविरमा जाँदाका ति प्रसङ्ग   
डा. हरिश विभिन्न ठाउँमा स्वास्थ्य शिविरमा गएर दाँत सम्बन्धि समस्या भएका बिरामीको उपचार गरेका छन्। करिब १३ वर्षअघि मुस्ताङमा गरेको स्वास्थ्य शिविरको अवस्था भने उनी कहिल्यै भुल्दैनन्।

त्यो शिविरमा करिब ३० जना विषय विशेषज्ञ पुगेका थिए। त्यो स्वास्थ्य शिविरमा सयौं बिरामी उपचारका लागि पुगेको उनी सम्झन्छन्। शिविरमा त्यति धेरै बिरामी पुगेको सम्झँदा अहिले पनि उनी छक्क पर्छन्।

त्यसैगरी करिब ११ वर्षअघि मुगुको गाम्था भन्ने ठाउँमा गरेको स्वास्थ्य शिविरको प्रसङ्ग पनि डा. हरिश कहिल्यै भुल्दैनन्। शिविरमा गएकाहरू स्थानीय एक विद्यालयमा लाइन लागेर सुतेको उनी सम्झन्छन्।

शिविरमा स्वास्थ्य परीक्षणका लागि पुग्नेहरुको निक्कै ठूला भीड थियो। हजारौं व्यक्तिहरु स्वास्थ्य परीक्षणका लागि पुगेका थिए।

विद्यालयमा एउटा शौचालयको व्यवस्था गरिएको रहेछ। तर, शिविरकै लागि भनेर तयार गरेको शौचालय भरिएछ। त्यसैले शिविरमा पुग्नेहरूले आधा घण्टा हिँडेर जंगलमा शौचालय जानुपरेको उनी सम्झन्छन्। त्यहाँ सात दिन स्वास्थ्य शिविर चलाएको उनलाई झलझली याद छ

उपचारमा चित्त नबुझे कानूनी उपचार खोजौं
प्रतिष्ठित व्यक्तिको उपचार गर्दा विभिन्न निकाय तथा व्यक्तिबाट सोधखोज हुने अनि अपडेट दिइरहनुपर्ने लगायतका चाप हुने डा. हरिशले सुनाए। तर, यस्तो बेला अस्पतालको अन्य उपचारमा भने असर नपर्ने गरी व्यवस्थापन गरिने उनले सुनाए।

उपचारको क्रममा कसैको मृत्यु भएको वा उपचारमा चित्त नबुझको खण्डमा कानूनी प्रक्रिया अपनाउन डा. हरिशको अनुरोध छ। तर, अस्पतालमा कसैको मृत्यु भएको खण्डमा वा उपचारमा चित्त बुझेन भन्दैमा स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण नगर्न उनको आग्रह छ। हुलहुज्जत गरेर कसैलाई पनि फाइदा नहुने भएकाले यसो नगर्न उनले आग्रह गरे।

त्यसो त चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि विरामी पक्षलाई राम्रोसँग परामर्श दिनुपर्ने उनको धारणा छ।

त्यसैगरी विरामी पक्षले पनि आफ्नो विरामीको विषयमा बुझ्नुपर्ने उनको सुझाव छ। कतिपय अवस्थामा विरामी पक्ष भनिएका तर विरामीको आफन्तभन्दा अलि परका व्यक्ति हुलहुज्जत गर्न आइपुग्ने गरेको देखिएको समेत उनले सुनाए।

१३ असोज, २०८०, १५:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।