गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा दर्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा दर्ता

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खालभित्रको जग्गा सिद्धार्थनगर नगरपालिका-५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको पाइएको हो।

मिश्रलाई भुमाफियाहरूले प्रयोग गरेर हदबन्दी भन्दै विमानस्थल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता गराएका हुन्।

हाल विमानस्थल उद्घाटन भई सञ्चालनमा आएको अवस्थामा विमानस्थल भित्रकै जग्गा व्यक्तिका नाममा दर्ता भएको रहस्य बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय यसबारे छानविन सुरु गरेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषय बाहिर आएसँगै जिल्ला प्रशासन कार्यालयले अनुसन्धान थालेको जानकारी दिए।

‘मालपोत कार्यालय, नापी कार्यालय र विमानस्थल आयोजनाका प्रमुखसँग जग्गाको विषयमा फाइल मगाएर अध्ययन सुरु गरिएको छ,’ उनले भने, ‘यसमा सबैको चासो भएकाले हामी पनि गम्भीर भएर अनुसन्धानमा लागेका छौँ।’

भारतको गोरखपुरमा बस्दै आएका मिश्रलाई प्रयोग गरेर भुमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका हुन्।

सातवटा कित्तामा रहेको ४ विघा १७ कठ्ठा ६ धुर जमिन २०८० वैशाख ८ गते मालापोत कार्यालय, रुपन्देहीले मिश्रको नाममा दर्ता गरिदिएको हो।

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा मिश्रको नाममा दर्ता गरिएको जमिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्छ। अहिले पनि जीर्ण अवस्थामा विमानस्थलभित्र काली मन्दिरको संरचना छ। त्यो जग्गा नभत्काइ यत्तिकै छाडिएको छ।

हदबन्दीमा परेको यो जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता थिएन। तर भूमाफियाको योजनामा मिश्र परिवार अदालतमा गएपछि उच्च अदालतको आदेशमा मालपोत कार्यालयले मिश्रका नाममा जग्गा दर्ता गरिदिएको हो।

त्यसपछि मिश्र परिबार मुआब्जाको दावी गर्दै विमानस्थल आयोजनाको कार्यालयमा पुगेका थिए। उनीहरूले मुआब्जाको निवेदन दिएसँगै घटना बाहिरिएको हो।

फिल्डबुकमा कसैको नाममा दर्ता नभएको र ५८ वर्षअघि हदबन्दीमा परेको जग्गामा अहिले व्यक्तिको नाममा दर्ता भएको पाइएको हो। रुपन्देहीका मालपोत अधिकृत कुमार आचार्यले जिल्ला अदालतले ०७८ मै मिलापत्र गरेर जग्गा दर्ता गर्न भने पनि आफूहरूले नगरेको र पछि उच्च निर्णय कार्यान्वयन गर्न भनी फैसला गरेपछि आफूहरूले दर्ता गरिदिएको बताए।

उच्चले जग्गा दर्ता गर्न आदेश दिएपछि मुआब्जाका लागि आयोजनामा निवेदन मिश्रले दिए पनि विमानस्थल आयोजनाले भने मुआब्जा दिन नसक्ने बताएको छ।

‘त्यो जग्गा २०७९ सम्म फिल्डबुकमा कसैको नाममा थिए। दावी पनि परेको थिएन। अहिले आएर दावी परे पनि हामीले मुआब्जा दिन सक्दैनौँ। यसबारे सबैतिर हामीले जानकारी गराएका छौं’, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले भने।

उनले यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन लगायतमा जानकारी गराएको समेत बताए।

के हो खास वास्तविकता?
पुराना तथ्य र प्रमाणले पनि उक्त जमिन व्यक्तिको भए पनि हदबन्दीका कारण काली मन्दिरलाई दिइएको विभिन्न अभिलेखबाट देखिन्छ।

सिद्धार्थनगर–१० निवासी निसन्तान सुर्जा मिश्राइनको २०२२ सालमा ३० विघा १४ कठ्ठा १४ धुर जमिन थियो।  २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि ७ नम्बर फाटवारीमा सुर्जा मिश्राइनले ३० बिगाह १४ कठ्ठा १४ धुर जग्गाको फाटवारी भरेको देखिन्छ।

यही फाटवारीको अन्तिम महलमा हदबन्दी भन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगाह जग्गा कालिजी (भगवान)लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ।

३० बिगाहमध्ये १३ बिगाह १३ कठ्ठा ८ धुर मोहीमा परेको छ। त्यसमध्ये १० बिगाह ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ। त्यसमध्ये ६ बिगाह १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली छ।

फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगाह १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब सुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका हुन्।

२०२५ माघ १८ गते मिश्राइनको मृत्यु भयो। त्यसपछि जग्गा कसले अपुताली खाने भनि विवाद भयो। त्यहि ०६४ सालमा उच्च अदालतको नजिकका नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गर्यो।

तर, त्यसबेला साविक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ। मालपोतले निर्णय गरे पनि जमिन नाममा नजाँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भयो।

उनको मृत्युपछि नजिकको हक खाने नाती पर्वतराज कान्त मिश्रको नाममा भुजौली ९ (क) र (ख) का गरी २४ वटा कित्ताका हदबन्दीभित्र पर्ने १० विघा ६ कठ्ठा १९ धुर जमिन नाममा दर्ता भयो।

मिश्राइनका ३० विघा १४ कठ्ठा १४ धुर जमिनमध्ये १३ विघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ विघा जमिन दिएपछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो।

आफ्नो नाममा आएको जमिन मिश्रले विभिन्न मितिमा बिक्री गर्दै गएको देखिन्छ। बिक्री गरेर बाँकी रहेको १ विघा १ कठ्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए।

अचम्म के छ भने हदबन्दी भन्दै तत्कालीन समयमा जग्गाधनीले नै मन्दिरलाई दिएको जमिन अहिले व्यक्तिको नाममा गराउँदा साटफेर गरेर दर्ता गरिएको छ। भुजौली नक्सा सिट ९ (ख) को २९ नम्बर कित्ताको जमिन मिश्रको नाममा गराउँदा मालपोतले भुजौली नक्सा सिट ९(क) भनेर दर्ता गरिदिएको छ।

यसले पनि मिलोमतोको पुष्टि गर्ने दावी आयोजनाको छ। जबकी नक्सा सिट ९(क) को जमिन २०७५ सालमै अधिग्रहणपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता भइसकेको छ।

यदि दावी गरिएको जग्गाबाट मिश्रले मुआब्जा पाउने भए करिब ९ करोड रुपैयाँ पाउनेछन्।

असोज १२, २०८० शुक्रबार १४:३५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।