नौ घण्टाको छलफलपछि पनि जुटेन सहमति, बल्ल सुरू भयो एमाले कर्णालीको बन्दसत्र

नौ घण्टाको छलफलपछि पनि जुटेन सहमति, बल्ल सुरू भयो  एमाले कर्णालीको बन्दसत्र

सुर्खेत : बुधबारबाट जारी एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयासमा जुट्दा करिब नौ घण्टापछि बन्द सत्र शुरू भएको छ।

सहमतिको प्रयासका लागि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू बिहानैदेखि सिद्धार्थ होटेलमा केन्द्रित थिए। तर, आफ्नो प्रयास सफल नभएपछि पोखरेल काठमाडौं फर्किएका छन्।

सहमतिको प्रयास अझै भइरहे पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना भने कमै देखिएको छ। करिब ९ घण्टासम्म बन्दसत्र सुरू नहुँदा १० जिल्लाबाट प्रतिनिधि बनेर आएका नेता–कार्यकर्ता सुर्खेत सभा हलबाहिर बसेका छन्।

बुधबार अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। त्यसो नभए प्यानल नबनाइ एकल रूपमा चुनाव लड्न भनेका थिए।

ओलीको निर्देशन अनुरुप सहमति जुटाउन महासचिव पोखरेल सक्रिय थिए। तर, उनले पनि सहमति कायम गराउन सकेनन्।

ओलीले कालीकोटका मिनबहादुर शाहीलाई अध्यक्षका लागि ग्रीन सिग्नल दिएको अधिवेशनमा प्रतिनिधि रहेका एमालेका एक नेता बताउँछन्। तर, पोखरेलले सल्यानका पोलिटब्यूरो सदस्य गुलाबजंग शाहलाई अध्यक्ष बनाउन ‘लबिङ’ गरेपछि सहमति जुट्न नसकेको बताइएको छ।

एमाले नेताका अनुसार पोखरेल बन्दसत्रमै बस्ने योजनामा थिए। तर, अध्यक्षलगायत पदाधिकारीमा सर्वसम्मत हुने सम्भावना नदेखेपछि उनी काठमाडौं फर्किएका हुन्। पोखरेलले पनि ओलीको निर्देशनबमोजिम नै अगाडि बढ्न सुझाएर काठमाडौं फर्किएको ती प्रतिनिधिले बताए।

स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहको प्रतिष्ठाको लडाइँले निर्वाचन हुने निश्चित भएको प्रतिनिधिहरू बताउँछन्। प्रदेश अध्यक्षका लागि कँडेलले पार्टी पोलिटब्यूरो सदस्य गुलावजङ्ग शाह र प्रदेश अध्यक्ष शाहले प्रदेश कमिटी सदस्य मिनबहादुर शाहीलाई अध्यक्ष बनाउन ‘लबिङ’ थालेपछि सहमतिको सम्भावना टरेको ती प्रतिनिधिको भनाइ छ।

कर्णाली प्रदेश सभाका पूर्व सभामुख राजबहादुर शाही पनि गुटभन्दा बाहिर रहेर एक्लै अध्यक्षको उम्मेदवारको रूपमा उभिएका छन्।

‘बुधबार अधिवेशन उद्घाटन गर्न आउनुभएका महासचिव कमरेडले सहमतिका लागि वान टु वान भेटघाट गर्नुभयो। तर, आकांक्षीले दाबी नछाडेपछि सहमतिको सम्भावना देखिएन,’ ती प्रतिनिधिले भने, ‘बिहान ८ बजे सुरू गर्ने भनिएको बन्दसत्र अहिले बेलुका ५ बजेबाट मात्रै सुरू भयो। नेताहरू आ–आफ्नो समूहका गुटगत भेलामा व्यस्त छन्, कसरी सहमति होला र?’

कसको मार्ला बाजी ?
कर्णालीका १० जिल्लाबाट एमालेका (जिल्ला र मोर्चा-सङ्गठन) गरी ६०४ जना प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन्।

जसअनुसार सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालिकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुम पश्चिम २३ गरी ५५४ जना प्रतिनिधि छन्।

विभिन्न २२ वटा मोर्चा तथा सङ्गठनका ५० जनाको प्रतिनिधित्व रहेको छ। एमाले अधिवेशनको चर्चा चलिरहँदा निर्वाचन भए पनि गुलावजङ्गको सम्भावना बढी रहेको नेताहरू बताउँछन्।

सुर्खेत, दैलेख, रुकुमपश्चिम, मुगु, डोल्पा र सल्यानका पार्टी अध्यक्षहरू, चार पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यले गुलावजङ्गलाई समर्थन गर्दा कालिकोट, जुम्ला, हुम्ला र जाजरकोटले मिनबहादुरलाई आन्तरिक रूपमा समर्थन गरेको एमालेका एक नेताले बताए।

दैलेखका रविन्द्र शर्मा, शुशील थापा, राजबहादुर बुढा र लक्ष्मी पोखरेलले समेत गुलावजङ्गलाई नै समर्थन गरेका छन्।

‘६ जिल्ला, चार पोलिट ब्युरो सदस्य र अधिकांश केन्द्रीय सदस्यहरुले समेत गुलावजङ्गलाई समर्थन गरेका छन्,’ ती नेताले भने, ‘चार जिल्ला र केही नेताले मात्रै उहाँलाई समर्थन गरेका छन्। जसले गर्दा गुलावजङ्ग नै अध्यक्ष सम्भावना बलियो देखिन्छ।’

अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी चयन गरिनेछ।

११ असोज, २०८०, १८:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।