एमाले प्रदेश अधिवेशनमा ओलीको निर्देशन चलेन, कर्णालीमा गुटगत प्रतिस्पर्धा, बागमतीमा पनि उस्तै

एमाले प्रदेश अधिवेशनमा ओलीको निर्देशन चलेन, कर्णालीमा गुटगत प्रतिस्पर्धा, बागमतीमा पनि उस्तै

सुर्खेत : बागमती प्रदेशको नेतृत्व सर्वसम्मत चयन गर्न असफल भएका  एमाले अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेश पुगेर पनि त्यही निर्देशन दिए। उनले प्रदेश अधिवेशन उद्घाटन गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए। यदि सर्वसम्मत चयन हुन नसके पनि प्यानल भने नबनाउन उनको निर्देशन थियो।

उनले बागमती प्रदेशको अधिवेशन उद्घाटनमा पनि यही निर्देशन दिएका थिए। तर नेतृत्व चयनमा सर्वसम्मत हुन सकेन नै उम्मेदवारी पनि प्यानलकै रूपमा दर्ता भएको छ।

‘सकेसम्म सर्वसम्मतता नेतृत्व चयन गर्नुहोस्। यदि त्यसो हुन सकेन भने पनि नेतृत्वको कुरा सुनेर बिना प्यानल चुनाव लड्नुहोस्,’अधिवेशनको उद्घाटन गर्न पुगेको ओलीले बुधवार भने, ‘एउटाले जित्छ, एउटाले हार्छ। यसो गर्दा पार्टीलाई नै फाइदा हुन्छ।’

अधिवेशनका लागि इन्चार्जलाई अधिकार रहेको भन्दै गुट नबनाई जिल्ला-जिल्लाको सहमति गर्न ओलीले निर्देशन दिएका थिए। यस अगाडि लुम्बिनीको नेतृत्व चयनमा पनि सर्वसम्मत गराउने प्रयास गरेका ओली असफल भएका थिए। लुम्बिनीमा निर्वाचनबाट नेतृत्व चयन भएको थियो।

होला त सर्वसम्मत नेतृत्व चयन ?

ओलीले गुटगतरुपमा निर्वाचन नजानु भने पनि नेताहरूले नै फलानो–फलानो गुटको व्यक्ति भनेर प्रचार गरिरहेका छन्। यहाँ पनि लुम्बिनीकै जस्तो अवस्था आउन सक्ने नेताहरू बताउँछन्।

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले गुटबन्दीलाई पार्टीले अनुमति नदिने बताएका थिए।

‘गुटबन्दीले पार्टीलाई एकता हैन, विभाजनतिर लैजान्छ,’ भट्टले भनेका थिए, ‘यो विषयमा पार्टी गम्भीर छ। लोकतान्त्रिक अभ्यास गर्ने कुरामा दुई मत छैन। हामी गम्भीरतापूर्वक लागिरहेका छौँ।’

भट्टले जे दाबी गरे पनि निर्वाचन भए गुटकै आधारमा उम्मेदवार पर्ने देखिन्छ। कर्णालीमा दुई वटा गुटबिच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको छ। स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटीबिच आफ्नो टिममा नेतृत्व ल्याउने प्रतिस्पर्धा देखिन्छ।

बोगटी टिमको डिजाइनकर्ताको भूमिकामा वर्तमान अध्यक्ष विनोदकुमार शाह देखिएका छन्। कँडेलले पनि आफू निकट नेताहरूबिच छलफल चलाइरहेको र बोगटी–शाह गुटमा पनि छलफल भइरहेको एमाले नेताहरू बताउँछन्।

अध्यक्षका लागि प्रदेशका पूर्व सभामुख राजबहादुर शाही अध्यक्षको दाबेदारका रूपमा खडा भइरहेका छन्। पूर्व सभामुख शाहीले कुनै पनि हालतमा आफू ‘ब्याक’ नहुने र बरु निर्वाचनमा जान चाहिरहेको बताएका छन्।

कँडेलको प्यानलबाट पोलिटब्युरो सदस्य गुलावजंग शाह अध्यक्षको उम्मेदवारका लागि फाइनल भइसकेको उनी निकट नेताहरू दाबी गर्छन्। सोही टिमबाट अध्यक्षका दाबेदार मानिएका धुर्व शाहीलाई सचिवमा लडाउने कुरा भइरहेको एक नेताले उकेरालाई बताए।

यता बोगटी–शाह टिमबाट को अध्यक्ष बन्ने भन्ने विषय बाहिर आउन सकेको छैन। उक्त टिममा विनोदकुमार शाहले मीनबहादुर शाहीलाई अगाडि सार्ने प्रयास गरिरहेका छन्। तर, निर्वाचनका गएको खण्डमा मीनबहादुरले भोट तान्न सक्दैनन् कि भन्ने विषयमा बोगटी—शाह चिन्तित रहेकाले पूर्व सभामुख राजबहादुर शाहीलाई उठाउनेकी भन्ने छलफल समेत रहेको एक नेताले बताए।

एमाले कर्णाली प्रदेशका अनुसार १० जिल्ला र मोर्चा-सङ्गठनको गरी ६०४ जना प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन्। जसअनुसार १९५ जना महिला र ४०७ जना पुरुष छन्। अधिवेशनमा ७३ जना पुरुष, ३८ जना महिला गरी १११ जना दलित प्रतिनिधित्व छन्। जिल्लागत प्रतिनिधित्व भूगोल अन्तर्गत सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालिकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुम पश्चिम २३ गरी ५५४ जना प्रतिनिधि  छन्। विभिन्न २२ वटा मोर्चा तथा सङ्गठनका ५० जनाको प्रतिनिधित्व रहेको अध्यक्ष विनोदकुमार शाहले बताए। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी चयन गरिनेछ।

ओलीको निर्देशन बागमतीमा पनि मानेनन्

बागमतीमा पनि उनले यस्तै निर्देशन दिएका थिए। निर्वाचनको कार्य तालिका सारेर सर्वसम्मत गराउने प्रयास गरे पनि सफल नभएपछि उम्मेदवारी दर्ता भयो।

बागमती प्रदेशको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिए। निर्वाचन समितिका अनुसार कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल,सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

यस अगाडि भएको लुम्बिनी प्रदेश अधिवेशनमै ओलीको समर्थन रहेको नेता पराजित भएका थिए। तर उनले प्रयास छाडेका छैनन्। 

लुम्बिनीमा ओलीले हरि रिजाललाई नेतृत्व दिने कसरत गरेका थिए। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि भएको निर्वाचनमा उनी २ मतले राधाकृष्ण कँडेलसँग पराजित भएका थिए। 

१० असोज, २०८०, २१:१६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।