कुमारी आमाको सन्तानको पक्षमा सर्वोच्चको फैसला, बाबु पहिचान खुलाउने-नखुलाउने अधिकार निवेदकको

कुमारी आमाको सन्तानको पक्षमा सर्वोच्चको फैसला, बाबु पहिचान खुलाउने-नखुलाउने अधिकार निवेदकको

काठमाडौँ : विवाह नै नगरी सन्तान जन्माएका कुमारी आमाको सन्तानको कानुनी पहिचान हुने प्रमाणको पक्षमा सर्वोच्चबाट भएको फैसला सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक भएको फैसलामा कानुनी रूपमा कसको पहिचान लिने भन्ने अधिकार सम्बन्धित व्यक्तिको हुने र कोही व्यक्ति बच्चा जन्माउन संलग्न रहेकै आधारमा उसको कानुनी पहिचान अनिवार्य नहुने व्याख्या सहितको फैसला सार्वजनिक भएको हो।

महालक्ष्मी नगरपालिका वडा नम्बर ६ ले आमाको नागरिकताको आधारमा जन्म दर्ता प्रमाण पत्र नदिएपछि सर्वोच्चमा परेको रिटमा न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले कसको पहिचान चयन गर्ने भन्ने अधिकार व्यक्तिको भएको व्याख्या गरेका हुन्।

'व्यक्तिको पहिचान केही विशेष अवस्थामा त्यस्ता व्यक्तिको रोजाइको विषय हुनसक्ने तथ्य नकार्न सकिँदैन' फैसलामा भनिएको छ।

प्रेमीले गर्भवतीमै छाडेर भागेका थिए

विवाह हुनुभन्दा अगाडि नै गर्भवती भएकी महिलाले छोरी जन्माइन्। तर प्रेमीले कोठामै छाडेर भागे। पछि उनी माइतमा आएर बसिन् र छोरी जन्माइन्। छोरीको लालनपालन उनी एक्लैले गरिन्।

पछि छोरीको जन्म दर्ता गर्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ मा निवेदनदिँदा बाबु नेपाली नागरिक हो हैन एकिन नभई जन्म दर्ता दिन नसिकिने भनियो।

विवाह नै नगरी गर्भवती प्रेमिका छाडेर भाग्ने व्यक्ति मकवानपुरका नेपाली नागरिक भएको प्रमाण पेस भयो। त्यसपछि उतै मकवानपुरमा जानभन्दै वडाले जन्म दर्ता गर्न अस्वीकार गरेपछि छोरीले आफूले कहिल्यै नदेखेको, बाबुको रूपमा जिम्मेवारी पनि नलिएको र भावनात्मक सम्बन्ध समेत नभएको व्यक्तिलाई बाबु स्वीकार गर्न नसक्ने भन्दै आमाको नाममा जन्म दर्ता र नागरिकता पाउन सर्वोच्चको रिट हालेकी थिइन्। सोही रिटमा अदालतबाट उनको पक्षमा फैसला आएको थियो।

फैसलामा बाबुको पहिचानसँगै कानुनी शब्दहरूको व्याख्या गरिएको छ। यसले अन्य कुमारी आमा वा बाबुको नाम उल्लेख नगरी कानुनी रूपमा आमाको मात्र पहिचान लिन चाहनेहरूलाई सहज हुने देखिन्छ।

फैसलामा नेपालको संविधानको धारा ११ को उपधारा २ मा बाबु वा आमा उल्लेख हुनु भनेको लैगिंक दृष्टिकोणबाट आमाको पहिचानबाट पनि नागरिकता प्रदान गर्न सकिने अभिप्रायलाई अघि सारिएको व्याख्या गरिएको छ।

'नेपालको संवैधानिक तथा कानुनी व्यवस्था अनुसार नेपालमा स्थायी बसोबास भएका कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमामध्ये कुनै एक नेपालको नागरिक भएमा त्यस्तो व्यक्ति वंशजको आधारमा नेपालको नागरिक हुने व्यवस्था देखिएको' फैसलामा उल्लेख छ।

नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउन सक्ने भन्दै फैसलामा बालबालिकाको लागि बाबुको पहिचान निजको भौतिक उपस्थिति, निजबाट पाएको वात्सल्य प्रेम र हेरविचार र जैविक बाबुले उठाएको जिम्मेवारी विषयसँग जोडिने व्याख्या गरेको छ।

'कहिल्यै भौतिक रूपमा वा भावनात्मक रूपमा समेत सम्पर्क वा सम्बन्धमा नरहेको व्यक्तिलाई बाबुको रूपमा परिचय दिई दिलाई स्वीकार गर्न बाध्य गर्नु न्यायोचित र तर्कसङ्गत नहुने' फैसलामा भनिएको छ।

बाबुको पहिचानबारे नागरिकताको आवेदन दिने व्यक्तिले परिचय खुलाएको वा नखुलाएको आधारमा निर्क्योल गर्नुपर्ने र कसैले विवरण ढाँटेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने भएकाले घोषणा गरेको विषयका आधारमा नागरिकता दिन ढिला गर्न नहुने भन्दै फैसलामा सम्बन्धित वडालाई आमाको नाममा जन्म दर्ता गर्न र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निवेदकले चाहे अनुसारको कानुनी पहिचान खुलाएर नागरिकता दिन आदेश दिएको छ।

८ असोज, २०८०, २२:३७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।