छिमेकीको घरमा नाचगान हेर्न गएकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कार, पाँच जना पक्राउ

छिमेकीको घरमा नाचगान हेर्न गएकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कार, पाँच जना पक्राउ

सुर्खेत : पश्चिम सुर्खेतकी १३ वर्षीया बालिका वीरेन्द्रनगर-२८ (प्रहरीले परिवर्तन गरेको नाम) असोज ४ गते दिउँसो घर नजिकैको खोलामा कपडा धुन गइन्।

कपडा धुँदा र साथीहरूसँग खेल्दाखेल्दै ढिला भयो। घर फर्कँदै गर्दा घरदेखि केही पर छिमेकीको जन्मदिनको अवसरमा नाचगान चलिरहेको थियो।

प्रहरीमा दिएको बयानअनुसार उनी पनि नाचगान हेर्न गइन्। साँझ ९ बजेतिर पिसाब लागेपछि उनी नजिकैको सडकमा आइन्। त्यही गाउँका १९ वर्षीय महेन्द्र सार्कीले उनको मुख छोप्दै समाते। उनले बलात्कार गर्न खोज्दा कराइन्। महेन्द्रले ४० रूपैयाँ दिएर फकाउन खोजे। उनी भागेर त्यही नाचगान भएको ठाउँमा गइन्।

त्यहाँ गाउँका १६ र १५ वर्षीय दुई किशोर थिए। उनीहरूले ‘एकछिन काम छ, बहिनी’ भन्दै घर पछाडि बोलाए। उनी गएलगत्तै बालिकाको मुख छोपेर हातखुट्टा समात्दै महेन्द्रको घरमा पुर्याए। बेलुका ११ बजेतिर उनीहरूले बालिकाको बलात्कार गरेर नाचगान भएकै ठाउँमा फर्किए।

केही समय बालिका अचेत भइन्। होस खुलेपछि उनी नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा गइन्। त्यहाँ महिनावारी भएर उनकी साथी बसेकी थिइन्। उनले साथीलाई सुत्न दिन अनुरोध गरिन्। एक घण्टा साथीसँग सुतेकी उनलाई उठाउन चिनेजानेकै १५ वर्षीय अर्का किशोर आए।

उनले ‘तिम्रो घरकाले खोजिरहेका छन्। छिटो आउ अरे। नभए यतै आएर पिट्ने भनेका छन्’ भन्दै बोलाए। उनलाई फेरि बलात्कार गर्ने योजनाका साथ बोलाइएको रहेछ।

उनी बाहिर निस्कँदा नजिकै अर्का १५ वर्षीय किशोर बसेका रहेछन्। उनको जिम्मा लगाएर बोलाउन गएका किशोर गए। रातिको २ बजे जिम्मा लगाएका १५ वर्षीय किशोरले पनि मुख छोप्दै हातगोडा समाएर छिमेकी शेरबहादुर सार्कीको गोठमा लग बलात्कार गरे।

यसरी केही घण्टाको फरकमा फरक-फरक स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएकी उनी शारीरिक र मानसिक रूपमा बिछिप्त भइन्। बिहान पख मात्रै बालिकाका साथीहरूले घरमा भनेपछि आफूले थाहा पाएको उनकी आमाले बताइन्। 

‘दिउँसो गएकी छोरी साँझ नआएपछि पारी घर हजुरबुवाकोमा गइकी भन्ने सोचेँ। गाउँमा पनि एकदमै बदमासी काम गर्ने ती अपराधीहरूले रातीमा त्यस्तो गरेछन्,’ बालिकाकी आमाले उकेरासँग भनिन्, ‘अहिले छोरीको मानसिक अवस्था समेत ठिक छैन।’

उनका अनुसार बालिकालाई एक वर्षको उमेरदेखि नै कुपोषण लागेको थियो। पोषण पुनर्स्थापना गृहमा ल्याएपछि उनलाई सुधार भएको थियो। यो घटनाले उनमा थप समस्या थपियो।

बिहीबार राति भएको घटना प्रहरीले शुक्रबार थाहा पायो।  प्रहरीले पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएको छ।

पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनावद्ध रूपमा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

शनिबार बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।

‘फरक-फरक ठाउँमा तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कार प्रयास गरेको र एक जना साथमा गएर बोलाउने काम गरेको भन्ने कुरा आरोपीहरूले स्वीकारेका छन्,’ उपरीक्षक थापाले भने, ‘एकै रात फरक-फरक ठाउँमा घटना भएकोले त्यसको विस्तृत अनुसन्धानमा प्रहरी लागेको छ।’

प्रहरीले अहिले आरोपीहरूको उमेर बुझ्न उनीहरूको जन्मदर्ताको प्रमाण पत्र खोजिरहेको जानकारी दिएको छ।

६ असोज, २०८०, २०:५२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।