आमाको मृत्युपछि बुवा सन्यासी भए, तर देवराज डाक्टर बनेरै छाडे

आमाको मृत्युपछि बुवा सन्यासी भए, तर देवराज डाक्टर बनेरै छाडे

डा. देवराज घिमिरे जनरल प्राक्टिस्नर हुन्। उनको चिकित्सकीय विधा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन हो। यो चिकित्सकीय विधालाई ‘एमडीजीपी’ पनि भनिन्छ।

सबै किसिमको रोगको प्राथमिक रूपमा पहिचान गरेर सक्ने किसिमको रोगको आफैँ उपचार गर्ने एवं रोगको जटिलताको प्रकृति र आवश्यकताअनुसार अन्य चिकित्सककहाँ बिरामीलाई रिफर गर्नु डा. देवराजको दैनिकी हो।

त्यसैले नै एमडीजीपी अध्ययन गरेका चिकित्सकलाई सम्पूर्ण रोगको उपचार गर्ने चिकित्सकका रूपमा समेत चिनिन्छ। हुर्काइ, बढाइ र अध्ययन तथा कामको सिलसिलामा डा. देवराजले बटुलेका तीतामीठा अनुभव उकेरासँग साटेका छन्।

चर्चित गायक उपचार नपाएर आकस्मिक कक्षमा छटपटाएपछि...
त्यसो त वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्यननका क्रममा काम गर्दा बिरामी भएका पूर्वका एक चर्चित गायकको पैसा नै नभएर उपचारमा समस्या परेको प्रसङ्ग सम्झन्छन् डा. देवराज।

पाको उमेरका ती गायक बिरामी परेर अस्पतालको आकस्मिक कक्षमा पुगेछन्। गायकलाई श्वासप्रश्वास र मुटुको समस्या थियो। तर, पैसा नभएका कारण थप उपचार गर्न नपाएर आकस्मिक कक्षमा छटपटाइरहेका थिए।

चलेका गायकको त्यो अवस्था देख्दा डा. देवराजलाई नरमाइलो लाग्यो। अस्पतालमा नै उनीलगायतको टिमले निःशुल्क औषधि उपचारको व्यवस्था मिलाए। केही दिनको निःशुल्क उपचारपछि ती गायक ठिक भएर डिस्चार्ज भए।

आफैँले पैसा उठाएर मिर्गौला रोगीको उपचार
त्यसो त उपचारका लागि अस्पतालको आकिस्मक कक्षसम्म पुर्याइएका कयौं बिरामीलाई डा. देवराज आफैँले खर्च जुटाएर उपचार गरेका छन्।

करिब ५५ वर्षका मिर्गौलाको समस्या भएका बिरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुगेका थिए। तर, ती व्यक्तिको उपचार गर्ने पैसा नै नभएपछि अलपत्र परेका रहेछन्।

बिरामीको दर्दनाक अवस्था देखेपछि डा. देवराजले गोजीबाट सय रुपैयाँ निकाले। त्यसपछि अस्पतालमा काम गर्ने अन्य साथीभाइ, सिनियर तथा जुनियर र कर्मचारी लगायतसँग २०, ५०, १०० गर्दै पैसा मागे। सबैले पैसा दिए।

जोडजम गर्दा करिब तीन हजार रकम जम्मा भयो। यसरी मागेर जम्मा गरेको पैसा बिरामीलाई उनले दिए। सम्भव हुने उपचार निःशुल्कका लागि उनले पहल गरे। डा. देवराजले अस्पतालमा भर्नाको प्रबन्ध मिलाइदिए।

नभन्दै ती पुरुषको उपचार भयो। उपचारपछि ठिक पनि भए र केही दिनको उपचारपछि डिस्चार्ज भएर घर फर्किए।

आकस्मिक कक्षमा ढलेका बेवारिसे बिरामीलाई घरबाट दालभात
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै काम गर्दा चार वर्षअघि बेवारिसे बिरामीको उपचार गरेर ठिक बनाएको घटना पनि डा. देवराजको मानसपटलमा ताजै छ।

करिब ५५/६० वर्षको पुरुष बिरामीलाई अस्पतालको आकस्मिक कक्षमा कसैले पुर्याएर उपचारका लागि छाडिदिएछ। आफन्त नभएपछि ती व्यक्तिलाई ‘बेवारिसे’ भनेर आकस्मिक कक्षमा नै राखियो। 

एउटा खुट्टा भाँचिएका बिरामीको अवस्था दर्दनाक थियो। मानसिक रूपमा अस्वस्थ्य उनले न खान पाएका थिए न आवश्यक उपचार नै। ज्यानमा शरीर ढाक्ने एकसरो कपडा पनि थिएन।

नेपालीमा कुरा गर्न नसक्ने ती पुरुष सायद भारतीय नागरिक हुनुपर्ने डा. देवराजको अनुमान छ। ती बिरामीको खुट्टा भाँचिएकाले शल्यक्रिया गरेर उपचार गर्नुपर्ने थियो। तर, आफन्त नभएका कारण आकस्मिक कक्षमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी अलमलिएका थिए।

बिरामीको दर्दनाक अवस्था देखेपछि डा. देवराज र उनका एक साथीले उपचार प्रक्रियाको व्यवस्थापन थाले। चिकित्सक, कर्मचारी तथा व्यक्ति र संस्थासँग पैसा मागेर आर्थिक व्यवस्थापन गरे।

त्यतिमात्र होइन, घरबाटै लुगा लगेर लगाइदिए भने खानासमेत घरबाटै लगेर खुवाए। मानसिक सन्तुलत गुमेकाले उनले अस्पतालको शय्यामा नै दिसापिसाब गर्थे।

बिरामीको अवस्था बिजोग नै थियो। त्यो बेला हाडजोर्नीको विभागीय प्रमुख डा. पशुपति चौधरी थिए। उनलाई भनेर डा. देवराजले बिरामीको खुट्टाको शल्यक्रिया गरी उपचार गराएको केही दिनपछि उनी हिँड्नसक्ने भए। 

बिरामी ठिक भएपछि प्रहरीसँग समन्वय गरी धरानमा रहेको वेवारिसे व्यक्तिहरूलाई राख्ने पुनस्थापना केन्द्रमा राखिदिएको डा. देवराजले सुनाए।

वेवारिसेको मृत्युले मनै कटक्क
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कसैले ल्याएर बेवारिसे बिरामीलाई छाडिदिने अनि अस्पतालले औषधि उपचार गरे पनि स्याहारसुसारको अभावमा बिरामीको बिजोग भएको डा. देवराजले नजिकबाट देखेका छन्।

त्यस्तैमध्ये एउटा घटना डा. देवराज कहिल्यै बिर्सँदैनन्। एक जना करिब ५५ वर्षका बेवारिसे बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। करिब एक महिनासम्म ती बिरामीको अस्पतालमा उपचार भएको थियो।

तर, एक दिन त एक महिनासम्म उपचार गरेका ती बिरामी अस्पतालको पार्किङमा मृत भेटिए। कारण पत्ता लागेन।  त्यो घटना सम्झँदा अझै डा. देवराजको मन कटक्क हुन्छ।

यसरी बेवारिसे अवस्थाका व्यक्तिको उपचारका लागि राज्यले एउटा प्रभावकारी संयन्त्र नै बनाउनुपर्ने डा. देवराजको धारणा छ।

‘पैसा नै नभएर मृत्युको पर्खाइमा बिरामी घर फर्केको देख्दा आँसु खस्छ’
खाना र लगाउन समेत संघर्ष गर्दै हुर्किएका देवराजलाई पैसाको अभावका कारण बिरामी उपचार पाउनुपर्ने अवस्थाबाट बञ्चित भएर मृत्युको मुखमा पुगेको देख्दा दिक्क लाग्छ। उपचारको क्रममा नै पैसा नपुगेर बिरामीलाई घर फर्काएर मृत्युवरण गर्नुपर्ने अवस्था कयौं देखेका छन् उनले।

‘बाँच्ने बिरामी पनि पैसाको अभावका कारण घर फर्काएको धेरै देखेँ,’ उनले भने, ‘पैसा नभर बाँच्ने मान्छेले पनि मृत्यु कुर्दै गरेको देख्दा साह्रै दुःख लाग्छ।’

नेपालमा विशेषगरी सरकारी अस्पतालमा आईसीयूको अभावका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा. देवराजको अनुभव छ। त्यसैले सरकारी अस्पताललाई स्रोतसाधन तथा जनशक्तिको चुस्त व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

त्यतिमात्रै हैन, कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत इमान्दारीताका साथ काम नगरिदिँदा स्वास्थ्य क्षेत्र डामाडोल रहेको उनलाई अनुभूूति हुन्छ। स्वास्थ्य क्षेत्रमा लगानी भए पनि लगानी भए अनुसारको प्रतिफल नपाएको उनको अनुभव छ।

कति व्यक्तिलाई त अझै रोग लागेपछि अस्पताल जानुपर्छ भन्नेसम्म थाहा नहुने गरेको विभिन्न ठाउँमा स्वास्थ्य शिविर जाँदा उनले अनुभव गरेका छन्। त्यसैले स्वास्थ्य विविर तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम जिल्ला, पालिकामा मात्रै नभएर दुर्गमका वडा वडा र गाउँगाउँमा गर्नुपर्ने डा. देवराजको सुझाव छ।

तारे होटलमा कार्यक्रम गर्नुको सट्टा गाउँ–गाउँमा गएर जनचेतनाका कार्यक्रम गर्नुपर्ने सुझाव दिन्छन् उनी।

आमाको मृत्युपछि बुवाले सन्यासी भएर गृहत्याग गरे
देवराज ओखलढुङ्गाको हालको चम्पादेवी गाउँपालिकामा २०४३ मा जन्मिएका हुन्। २०४५ तिर उनको परिवार बसाइँ सरेर धनुषाको मिथिला नगरपालिका झर्यो। उनले एक कक्षासम्म धनुषामा नै अध्ययन गरे। 

देवराज एक कक्षामा पढ्दा नै लालगढ भन्ने ठाउँमा २०४९ मा बसले हानेर उनकी आमाको मृत्यु भएछ। उनकी आमाको मृत्युपछि बुवा विरक्तिएर छोराछोरी लिएर काठमाडौं आए। बुवाले एउटा सानो चिया पसल गर्न थाले। देवराज बौद्धस्थित महेन्द्र माविमा दुई कक्षामा भर्ना भएर पढ्न थाले।

बुवाको चिया पसल भएकाले विद्यालय बिदा भएको बेला अनि बिहान बेलुका चियाका गिलास माझ्दै पढेको सम्झन्छन् देवराज। तीन कक्षासम्म उनले काठमाडौंको महेन्द्र माविमा नै पढे।
‘काठमाडौंमा बुवाले चिया, नास्ता बेच्नुहुन्थ्यो, हामी भाँडा माझ्थ्यौं’, उनले त्यो बेलाको प्रसङ्ग सुनाए।

आठ छोरा र दुई छोरी गरी दश जना छोराछोरीको ठूलो परिवार थियो देवराजका बुवाको। चिया पसलले परिवार धान्न सकेन। त्यसपछि छोराछोरी लिएर धनुषा फर्किएका देवराजका बुवा सन्यासी जीवन बिताउन थाले।

बुवा घरभन्दा करिब पाँच सय मिटर पर सानो कुटी बनाएर परिवारबाट अलग्गिएर एक्लै बस्न थाले। सन्यासी भएर उनका वुवाले नाम नै परिवर्तन गरेर भरत गिरी राखे। बुवाले नै गृह त्याग गरेर सन्यासी भएपछि भने देवराजका दाइदिदिहरूलाई भाइबहिनी हुकाउनुपर्ने चुनौति थपियो।

उनका बुवाका तीन जना श्रीमतीमध्ये देवराजकी आमा कान्छी थिइन्। दुई वर्षअघि बुवाको पनि निधन भइसकेको देवराजले सुनाए।

थप अध्ययनको संघर्ष
आमाको मृत्यु र बुवाले गृहत्याग गरेपछि आइपरेका चुनौतिका चाङ देवराज सम्झन चाहँदैनन्। बुवाको गृहत्यागपछि माइला दाइ(रामहरी घिमिरे)ले भाइबहिनी हुकाउर्ने तथा पढाउने जिम्मेवारी सम्हाले।

आर्थिक चुनौतिका बीच काठमाडौंबाट फर्केपछि देवराजले चार कक्षामा भर्ना भएर स्थानीय विद्यालयमा नै सात कक्षासम्म पढे। उनका एक जना दाजु चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियाल क्यान्सर अस्पतालमा काम गर्थे।

त्यसैले देवराज पनि चितवन पुगे। अनि दाइ (विष्णुहरि) सँग बसेर भरतपुरको प्रेमबस्ती माविमा आठ कक्षामा भर्ना भएर पढ्न थाले। त्यहीँबाट उनले एसएलसी गरे। एसएलसीपछि देवराज फेरि काठमाडौं आए। अर्का दाइसँग बसेर अमृत साइन्स कलेजमा आइएस्सी पढे।

त्यसपछि देवराजले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा रेडियोलोजी विषयमा स्नातक तहको अध्ययन गरे। २०६७ मा उनले छात्रवृतिमा नै तीन वर्षे रेडियोलोजी विषयको (बीएस्सी) अध्ययन सके। सीमित खर्चमा निक्कै संघर्ष गर्दै अध्ययन गरेको उनी सम्झन्छन्।

देवराजलाई डाक्टर पढ्ने त इच्छा थियो। तर, डाक्टर पढ्ने त परै जाओस् खान लगाउनसमेत सानैदेखि निक्कै हण्डर खेप्दै हुर्किए उनी। त्यसैले उनले डाक्टर पढ्छु भन्ने इच्छा भए पनि पढ्न पाउँछु भन्ने सपनामा पनि सोचेका थिएनन्।

छात्रवृति कोटामा डाक्टर पढ्न पाइहालिन्छ कि भनेर उनले एमबीबीएस अध्ययनका लागि प्रयास गरे। नभन्दै काठमाडौं विश्वविद्यालयको छात्रवृति कोटामा देवराजले मोरङको बिराटनगरस्थित नोभेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्ने मौका पाए।

सन् २०१० मा भर्ना भएर देवराज एमबीबीएस अध्ययन गर्न थाले। सन् २०१५ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। नोबेल मेडिकल कलेजका सञ्चालक तथा हालका प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले आफूलाई छात्रवृत्तिमा अध्ययन गर्ने मौका दिएको उनले सुनाए।

‘सुनिल दाजु नै मेरो जीवनको टर्निङ प्वाइन्ट भएर आउनुभयोे’, देवराजले भने।

एमबीबीएस अध्ययनपछि काठमाडौंको नयाँबजारस्थित पिपुल्स मेडिकल कलेजमा डा. देवराजले एक वर्ष मेडिकल अधिकृत भएर काम गरे।

रोजाइमा सबै रोगको उपचार गर्ने विधा
डा. देवराजलाई थप अध्ययन गर्नु त छँदै थियो। तर, पैसा थिएन। नभन्दै उनले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी छात्रवृत्ति कोटामा एमडी अध्ययन गर्ने मौका पाए। त्यसैले देवराजले सन् २०१८ मा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमडी अध्ययन थाले।

डा. देवराजको एमडी अध्ययनको रोजाईमा पर्यो, ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ अर्थात ‘एमडीजीपी’। नेपाल सरकारको छात्रवृति कोटामा अध्ययन गरेका देवराजले सन् २०२१ मा तीन वर्षे एमडीजीपी अध्ययन पूरा गरे।

डा. देवराज सरकारी छात्रवृत्ति कोटामा एमडीजीपी अध्ययन गरेकै हुनाले उनले दुई वर्ष अनिवार्य छात्रवृति करारमा काम गर्नुपर्ने थियो। त्यसैले सुनसरीको इनरुवास्थित जिल्ला अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी दिएर उनलाई सरकारले छात्रवृत्ति करारमा काम गर्न खटायो।

एक हप्ताअघि सुनसरीको जिल्ला अस्पतालमा अर्कै चिकित्सक मेडिकल सुपरिटेण्डेण्ट नियुक्ति भएर आएकाले अहिले भने निमित्त मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारीमा भने आफू नरहेको उनले सुनाए। अब करिब तीन महिना आफूले छात्रवृत्ति करारमा काम गर्न बाँकी रहेको उनले सुनाए।

२१ महिना अस्पतालको नेतृत्व गर्दाको त्यो अनुभव
सुनसरीको इनरुवास्थित जिल्ला अस्पतालमा विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा असहाय बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर फोकल पर्सन नै तोकेर उपचार व्यवस्थापन गरेको उनले सुनाए। त्यसैगरी रिफर गर्नुपर्ने बिरामीका लागि पनि आफैँले समन्वयकारी भूमिका खेलेको उनले बताए।

दैनिक ५०/६० जना बिरामी पनि नजाने जिल्ला अस्पतालमा २१ महिना आफूले नेतृत्व लिएर काम गर्दा दैनिक करिब तीन सय देखि पाँच सय बिरामी आउन थालेको डा. देवराजले सुनाए। जिल्ला अस्पताल इनरुवामा सानादेखि विभिन्न किसिमका शल्यक्रिया पनि हुन थालेको उनी बताउँछन्।

आफू त्यो अस्पतालमा पुग्दा दुई जना मेडिकल अधिकृत भए पनि विशेषज्ञ चिकित्सक नै नभएको सुनाए। त्यहाँ सामान्य बाहेकको उपचार हुँदैनथ्यो। अस्पताल पुग्ने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्थ्यो। बिरामी रिफर गर्ने अस्पताल जस्तो मात्र भएको थियो। तर, अहिले अस्पतालमा दश जना विशेषज्ञ चिकित्सक, पाँच जना मेडिकल अधिकृतलगायत, नर्स तथा स्वास्थ्यकर्मी लगायत कर्मचारी रहेको उनले जानकारी दिए।

भौतिक संरचना बनाउनेदेखि लिएर सेवा सुविधाको विस्तारले अस्पतालको मुहार नै फेरिएको डा. देवराजले अनुभव सुनाए। कोरोना भाइरस संक्रमणको महामारीका समयमा यो अस्पतालमा धेरै बिरामीलाई उपचार दिन सफल भएको अनुभव सुनाए उनले।

डा. देवराजले चार वर्षअघि विवाह गरे। उनकी श्रीमतीले जनस्वास्थ्य विषय अध्ययन गरेकी छन्। उनीहरूका तीन वर्षका एक जना छोरा छन्। विवाहपछि आफ्नो जीवनशैलीमा सहजता भएको उनले सुनाए।

असोज ६, २०८० शनिबार १७:३४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।