‘बिगार गृह’ बन्दै बाल सुधार गृह : बढ्दैछ झडप, भौतिक संरचनाको विजोग

‘बिगार गृह’ बन्दै बाल सुधार गृह : बढ्दैछ झडप, भौतिक संरचनाको विजोग
कभर फोटो- इन्सेक

काठमाडौं : बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरमा रहेको जयन्दु बाल सुधार गृहमा राखिएका बालबालिकाबीच बिहीबार राति भएको झडपमा रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भयो। उनी जबजरजस्ती करणीको बालबिज्याइमा संलग्न देखिएपछि सुधार गृहमा राखिएको थियो।

सुधार गृहमा रहेकाहरूले समूह-समूह बनाएर झडपमा उत्रँदा केसी घाइते भएका थिए। सो सुधार गृहमा २ सय ५५ जना बालबालिका छन्। झडपमा घाइते भएका ११ जनालाई प्रहरीले उपचारका लागि अस्पताल लगेको थियो भने सुधार गृहमा रहेका ९ जना भागेका थिए। प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ।

फाट्टफुट्ट सुधार गृहभित्र झडप हुने गरे पनि पछिल्लो समय भने एकपछि अर्को सुधार गृहभित्र एकपछि अर्को झडप भइरहेका छन्। झडपमा सुधार गृहमा राखिएका बालबालिकाको ज्यानै गएको भने यो पहिलो घटना हो।

२०७९ असारमा भैरहवामा रहेको प्रदेश स्तरीय बाल सुधार गृहमा झडप हुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन डीएसपी नवरत्न पौडेल र प्रहरी जवान  टोपबहादुर रखाल मगर नै घाइते भएका थिए।

बाल गृहमा रहेका १८ वर्ष माथिका किशोरहरूलाई स्थानान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा सुधार गृहमा रहेका किशोरहरूले ताला लगाएका थिए। प्रहरी ताला फोडेर भित्र छिर्न खोज्दा झडप भएको थियो। प्रहरीले सुधार गृहबाट १५ थान मोबाइल, १० वटा फलामको  झिर, काठका टुक्रा र चक्कु समेत फेला पारेको थियो।

यो घटनापछि झडप बढेको थिएन। एकाएक भक्तपुरमा रहेको बालसुधार गृहमा झडप शुरू भयो भदौमा। सुधार गृहमा राखिएका कमल बस्नेतको मृत्यु भएपछि त्यहाँ विभिन्न बालबिज्याईमा संलग्न रहेको भन्दै सुधारका लागि राखिएकाहरू विरोधमा उत्रिएका थिए।

विरोध उग्र भयो। सुरक्षाकर्मीले समेत नियन्त्रणमा लिन सकेनन्। बाल सुधार केन्द्रको ढोका फोडेर २२१ जना फरार भए। फरार भएकाहरूलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सुधार केन्द्रमै पठाएको थियो। सुधार केन्द्रबाट निस्किएकाहरूले भक्तपुरको सडकमा वितण्डा मच्याएका थिए।

सुधार गृहबाट भागेकाहरू नियन्त्रणमा आएपछि उनीहरूलाई अन्य सुधार गृहहरूमा स्थानान्तरण गरियो। अनि झडपका श्रृंखला अन्य सुधार गृहमा पनि सर्यो ।

भक्तपुर बाल सुधार गृहका १८ जनालाई पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा पुर्याइयो। अनि त्यहीँ झडप शुरू भयो। भक्तपुरका किशोरहरूलाई ल्याएको भन्दै त्यहाँ बसिरहेकाहरुले विरोध गर्दा झडप भएको थियो। झडपमा ११ जना घाइते भएका थिए। झडप नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो।

भक्तपुरबाट सल्किएको आगो
बाल सुधार गृहभित्र झडपको प्रारम्भ भक्तपुरबाट भयो। त्यहाँ रहेका कमल बस्नेतको मृत्यु भएपछि समसमै उपचार नगरेर मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाहरू विरोधमा उत्रिए। विरोध विस्तारै झडपमा पुग्यो।

भक्तपुरको बाल सुधार गृह सरकारी हो। तर त्यसको सञ्चालनको जिम्मा युसेप नेपाल नामक गैर सरकारी संस्थाले लिएको छ। बाल गृह सञ्चालन गरे वापत सो संस्थाले सरकारबाट सञ्चालन खर्च र अनुदान पाउने गरेको देखियो।

घटनापछि विभिन्न संस्था र मानव अधिकारकर्मीहरूले भक्तपुर घटनाको अनुगमन गरेका थिए। अनुगमनमा फेला परेका तथ्यले त्यहाँ रहेका बालबालिकाहरूले जे आरोप लगाए, त्यो झुटो हैन भन्ने देखायो। बस्नेतको उपचारमा सुधार केन्द्रका जिम्मेवार कर्मचारीबाट गम्भीर लापरवाही भएको देखियो। बस्नेत २०७८ बाटै सो सुधार गृहमा रहेका थिए।

बालगृह सञ्चालनको जिम्मेवारी लिएका युसेप नेपालका निर्देशक केशव सुवालले इन्सेकका प्रतिनिधिलाई दिएको जानकारीबाटै बस्नेतले बेलैमा आफू अस्वस्थ भएको जानकारी गराउँदा पनि सुधार गृहले आवश्यक उपचार शुरू नगरेको पुष्टि हुन्छ। युसेपले भक्तपुरसँगै कास्की, मोरङ र बाँकेको बालसुधार गृहको जिम्मा लिएको छ।

सुवालका अनुसार बस्नेतको शरीरमा ज्वरो घटबढ भइरहेको थियो। मृत्यु हुनु अघिल्लो दिन उनले होस्टल वार्डेनलाई ज्वरो आएको भने पनि स्वास्थ्य परिक्षण नगराई निको नामक औषधि दिएर पठाएको उनले नै स्वीकार गरेका छन्।

औषधि खाएर सुतेका उनी भोलिपल्ट अचेत अवस्थामा फेला परेको उनको दाबी छ। यसले अस्वस्थ रहेका बालबालिकाको निगरानी हुने नगरेको पुष्टि हुन्छ।

बस्नेतलाई गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरे। त्यहाँ रहेका बालबिज्याइकर्ताका अनुसार बस्नेतबारे पहिला त्यहीँका बालबालिकाले थाहा पाएर वार्डेनलाई खबर गरेका थिए।

नागरिक अस्पतालको प्रशासन प्रमुख मञ्जु तिमल्सिनाले इन्सेकको प्रतिनिधिलाई बताएअनुसार अस्पताल ल्याउनुअघि नै बस्नेतको मृत्यु भइसकेको थियो। अनि पिलोको कारण उसको देब्रै तिघ्रा सुन्निएको समेत थियो।

सुधार केन्द्रमा रहेकाहरूले इन्सेकलाई बताएअनुसार विरामी हुँदा कर्मचारीले आफैँ औषधि दिने र लैजाने परे नजिकैको मेडिकलमा लगेर जचाउँछन्। अस्पताल लैजाने परे आफन्त नै आउनुपर्छ। उपचार खर्च आफन्तले नै ब्यहोर्नुपर्छ।

सुधार हैन बिगार केन्द्र
कुनै अपराधमा संलग्न रहेको वा दोषी ठहर भएका १८ वर्ष मुनिका किशोर किशोरीलाई कारागारमा राख्न मिल्दैन। बालबालिका सम्बन्धी ऐन २०४८ ले कानुनको विवादमा परेका बालबालिकालाई सुधार गर्न सुधार गृहमा राख्ने पर्ने प्रबन्ध गरेको छ।

त्यही अनुसार नेपालमा आठ वटा सुधार गृह सञ्चालनमा छन्। कानूनले त्यस्ता बालबालिकालाई कडा सजाय नदिई सुधार गरी सामान्य जीवनशैलीमा फर्काउन सुधार गृहको व्यवस्था गरे पनि परिणाम भने उल्टो देखिन्छ। सुधार केन्द्र बिगार केन्द्र झैँ देखिन्छन्।

अस्वस्थ खाना अनि अस्वस्थ बसाई सबै सुधार केन्द्रको समस्या देखियो। शिक्षा, मनोपरामर्श मात्रै हैन अदालतबाट दोषी ठहर भएका र नभएकालाई एकै ठाउँमा राख्नेदेखि सबै उमेर समूहकालाई एकै ठाउँमा राख्ने गरेको केन्द्रीय बाल कल्याण समितिकै प्रतिवेदनमा देखिन्छ।

सुधार गृहको व्यवस्थापन राम्रो छैन
रामबहादुर चन्द
अधिकृत ,राष्ट्रिय बाल अधिकार परिषद् 

बालबालिका सम्बन्धी ऐन २०७५ ले बालसुधार गृहमा राख्ने बालबालिकाको उमेर १६ बाट १८ बनायो। सुधार गृहमा बाल बिज्याँयी गरेका १६ देखि १८ उमेर समूहहरू थपिए। तोकिएको अवधि १८ वर्ष कटेपछि कारागार पठाउनुपर्ने हो। तर, त्यो पनि हुन सकेन। ८ वटा सुधार गृह छन्। सुधार गृहको सुविधा थपिएको छैन।

त्यहाँ कुनै बालबालिका२०-२२ वर्षका हुँदा पनि राख्नुपर्ने भयो। उनीहरूले विद्रोह गर्न थाले। असहज अवस्था भयो। बाल सुधार गृहको व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिन्छ। सोचमा परिर्वतन आउने काम गर्नुपर्ने हो। त्यो हुन सकेको छैन। सुरक्षाकर्मीले हेरचाह बढाउनुपर्ने हो।

बालसुधार गृहबारे अहिलेसम्म ऐन बनेको छैन। बालबालिका उमेरअनुसार भौतिक व्यवस्थापनको लागि नयाँ मापदण्ड बनाउनैपर्छ। सरकारले ठूला कारागार भवन बनाउँदै छन्। त्यहाँ बालसुधार गृह पनि राख्ने तयारी छ। अहिले दुईवटा थप्ने कुरा छ। अरू पनि थप्नुपर्ने देखिन्छ।

मुख्य कुरा १८ वर्ष पूरा भएपछि सुधार गृहबाट कारागारमा राख्ने की अन्यत्र लैजाने भन्ने बहस गर्नुपर्ने देखियो।

१८ वर्ष कट्दा पनि सुधार गृहमै राख्दा समस्या
कुबेर कडायत
प्रवक्ता, नेपाल प्रहरी 

बालबालिका हुँदा सुधार गृहमा राखियो। उनीहरूको उमेर बढ्दै गएपछि पनि त्यही बस्ने भए। १८ वर्ष कटेपछि पनि त्यही बस्ने हुँदा त्यहाँ गुट-उपगुट बनाउने भए। 

सुधार गृहका कर्मचारीलाई नटेर्ने भए। कारागारमा जस्तो नियम त्यहाँ हुँदैन। उमेर बढेपछि अन्यत्र लानुपर्ने हो। त्यसो नहुँदा बाल सुधार गृहको संरचनाले उनीहरूलाई धान्न सकेको छैन।

उमेर बढेका र साना पनि एकै ठाउँमा राख्दा अरु साना बालकहरू पनि बिग्रने भए। वयस्क हुँदै गएपछि सुधार गृह नभई अन्यत्र राख्नुपर्ने कानूनी व्यवस्था गर्न जरुरी देखियो।

५ असोज, २०८०, १९:२०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।