बिर्सने समस्या छ?, रोग पनि हुनसक्छ

बिर्सने समस्या छ?, रोग पनि हुनसक्छ

बिर्सने समस्या भएका धेरै व्यक्ति परामर्शका लागि अस्पताल आउनुहुन्छ। ‘म बिर्सिन्छु के भयो?’ भनेर सोध्नुहुन्छ।

बिर्सने समस्या रोग नहुन पनि सक्छ। सामान्यतया उमेर पाको हुँदै जाँदा बिर्सँदै जाने लक्षण देखिनसक्छ। उमेर पाको हुँदै जाँदा शरीरको छाला, हरेक चिज बिस्तारै सुक्दै जान्छ।

त्यसैगरी उमेर पाको हुँदै जाँदा मस्तिस्क पनि सुक्दै जान्छ, जसले गर्दा मस्तिस्कको वास्तविक रूपमा काम गर्ने क्षमताको ह्रास आउँछ। त्यसैले उमेर पाको हुँदै जाँदा मस्तिस्कले काम गर्ने क्षमता नै यसरी कम हुँदै जाने भएकाले भुल्दै जाने समस्या हुन्छ।

यसरी व्यक्तिको सोच्ने क्षमतामा ह्रास आएर बिर्सदै जाने सुरुवाती चरणको समस्यालाई चिकित्सकीय भाषामा ‘माइल्ड कग्निटिभ इम्पेयरमेन्ट’ भनिन्छ।

बिर्सने समस्या भएर अस्पताल आइपुग्नेमध्ये अधिकांशले सामन राखेको ठाउँ तथा घर, दराज, गाडी मोटरसाइकल स्कुटरको चाबी भुल्ने लगायतका समस्या भोग्नुपरेको बताउनुहुन्छ।

चिनिरहेको व्यक्तिको नाम नै बिर्सन्छ। नातागोता र आफ्नै परिवारको समेत नाम बिर्सने समस्या हुन्छ। अनुहार याद हुन्छ तर, नाम पटक्कै सम्झदैन।

२४ घण्टामा पनि नसम्झिए रोगको लक्षण
त्यसो भए अब कस्तो बिर्सने अवस्थालाई सामान्य भन्ने अनि कस्तोलाई रोगको लक्षण भन्ने त?

बिर्सने लक्षण एक किसिमको स्वभाविक प्रक्रिया पनि हुन्छ। सामान्यतया ४० वर्ष काटेपछि बिर्सँदै जाने समस्या सुरु हुन्छ, जुन सामान्य प्रक्रिया हो। त्यसैले बिर्सने समस्या रोग हो की हैन भनेर छुट्याउन जरुरी हुन्छ।

कुनै कुरा बिर्सिए पनि दिनभर (२४ घण्टा)मा त्यो कुरा सम्झन्छ भने त्यस्तो अवस्थालाई रोग मानिँदैन। दिनभरीमा याद आउँछ। तर, बिर्सिएको कुरा २४ घण्टा बितिसक्दा पनि सम्झन सकिँदैन भने त्यस्तो अवस्थालाई रोगको लक्षणका रूपमा लिइन्छ।

बिर्सने कारणले दैनिक जीवनमा नकारात्मक असर पर्दै जान थाल्यो भने त्यसलाई रोगका लक्षणका रूपमा बुझ्नुपर्छ। उदाहरणका रूपमा काममा जान मन नलाग्ने, मस्तिस्कले सक्रिय भएर काम नगर्दा कुनै कुराको निर्णय लिन सक्ने क्षमता कमजोर हुनु रोगका लक्षण हुन्।

रोगका कारण व्यक्तिले खाएको समेत बिर्सन्छन्। दैनिक गर्नुपर्ने काम नै बिर्सन्छ। यसरी दिनदिनै बिर्सने क्रम बढ्दै गएको छ भने त्यो रोगको लक्षण हो। यसरी बिर्सने रोगलाई डिमेन्सिया भनिन्छ।

डिमेन्सिया बिर्सने एक किसिमको रोगको अवस्था हो। मस्तिस्कको स्नायु नसाहरू सुक्ने समस्या नै डिमेन्सिया हो। विभिन्न कारणले यस्तो समस्या हुन्छ। उमेर पाको हुँदै जाँदा व्यक्तिलाई अल्जाइमर रोगका कारण डिमेन्सियाको जोखिम बढ्दै जान्छ।

अल्जाइमर व्यक्तिको मस्तिस्कमा भएका स्नायुको नसा सुक्दै जाँदा हुने एक किसिमको रोग हो। डिमेन्सिया हुने प्रमुख कारण अल्जाइमर रोग हो।

अल्जाइमर भएको खण्डमा भुल्दै जाने लक्षण बढ्दै जाँदा व्यक्तिले आफ्नै परिवारका सदस्य समेत चिन्दैन। आफू कहाँ छु भन्ने पनि बिर्सन्छ। आफू बसेको घर नै बिर्सन्छ। आफूले के खाएँ, के बोलिरहेको छु भन्ने पनि थाहा हुँदैन। यस्तो भूल्ने समस्याको व्यक्ति घरबाट एक्लै बाहिर निस्कियो भने फर्केर घर आउन सक्दैन।

आफ्नो घर कहाँ छ भन्ने बिर्सिसकेको हुन्छ। यस्तो व्यक्तिलाई कसैले उसैको घरमा ल्याइदिए भने पनि आफू बसेको घर भनेर चिन्दैन। त्यसैले यस्तो बिर्सने समस्या भएको व्यक्ति हराउने सम्भावना धेरै नै हुन्छ।

व्यक्तिले कसैको नाम वा कुनै घटना मात्रै बिर्सने समस्या हुँदैन। उदाहरणको लागि कसैको अगाडि घडी राखिदियो भने उसले त्यो घडी हो भन्न पनि बिर्सन्छ र घडी भन्न सक्दैन। चलाइरहेको मोबाइललाई मोबाइल भन्नै बिर्सन्छ। देखिरहेको र थाहा पाइरहेको वस्तुलाई बिर्सने समस्या भएको व्यक्तिले ‘यो के हो?’ भनेर सोध्छ।

यसरी बिर्सँदै जानेक्रम बढेको खण्डमा स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ। अल्जाइमर रोगका कारण बिर्सने समस्या भएको खण्डमा पूर्ण रूपमा निको नहुने भए पनि रोकथाम गर्न सकिन्छ। तर, अन्य रोगका कारणले बिर्सने समस्या निम्तिएको खण्डमा भने उपचारपछि पूर्ण रूपमा ठिक हुनसक्छ।

मस्तिस्कको राम्रो व्यायाम अध्ययन नै हो
व्यक्तिको शरीर तन्दुरुस्त राख्न जसरी व्यायाम आवश्यक हुन्छ, मस्तिस्क तन्दुरुस्त राख्न पनि त्यतिकै व्यायामको आवश्यकता हुन्छ। मस्तिस्कको राम्रो व्यायाम गरेको खण्डमा मस्तिस्क स्वस्थ हुन्छ। मस्तिस्क स्वास्थ्यका लागि स्वस्थ खानपान, व्यायमजस्ता जीवनशैली व्यवस्थित हुनुपर्छ।

नेपालमा मस्तिस्कको व्यायामलाई खासै प्राथमिकता दिएको देखिँदैन। मस्तिस्कको सबैभन्दा राम्रो व्यायाम भनेको अध्ययन नै हो। त्यसैगरी कम्प्युटर तथा मोबाइलमा पजल गेम, भिडियो गेम खेल्दा मस्तिस्कको राम्रो व्यायाम हुन्छ। तर, यस्तो खेल धेरै खेल्नुहुँदैन। यसको पनि सीमा हुन्छ।

सामान्य भाषामा भन्नुपर्दा यस्तो खेल खेल्दा सामान्य दैनिकीमा असर पर्दैन भने त्यसलाई सीमाभित्रै खेलिएको मान्न सकिन्छ। फुर्सद छ, त्यसले कुनै असर गरेको छैन भने खेल्न सकियो। तर, अफिसमा काम गर्ने समयमा नै बसेर खेल्न थाल्नुभयो भने त्यो समस्या हो।

आवश्यता भन्दा बढी खेलेको खण्डमा फेरि त्यसले नकारात्मक मानसिक समस्या निम्त्याउन सक्छ। यसमा सचेत बन्नुपर्छ।

रक्सी सेवन गर्नेमा बिर्सने समस्या धेरै
बिर्सने समस्या धेरै हुने केही कारणहरू छन्। सामान्यतया टाउकोमा चोट (हेड इन्जुरी) लागेको व्यक्ति, मस्तिस्कभित्र ब्रेट ट्युमर, पक्षघातजस्ता समस्या भएको खण्डमा बिर्सने समस्या हुन्छ।

विशेषगरी नियमित अल्कोहल सेवन गर्ने व्यक्तिमा बिर्सने समस्या एकदमै बढी हुन्छ। कतिपय औषधिको सेवन गर्ने व्यक्तिमा पनि बिर्सने समस्या हुनसक्छ।

विशेषगरी विभिन्न दीर्घकालीन रूपमा सेवन गर्नुपर्ने औषधिको सेवनका कारण बिर्सने समस्या हुनसक्छ। भिटामिन  ‘बी१२’ को कमी जस्ता कारणले पनि बिर्सने समस्या हुन्छ।

(वीर अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख, न्यूरो सर्जन प्रा.डा. राजिव झासँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

३ असोज, २०८०, ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।