१८ औँ वर्षमा एनसेल : प्यारालम्पिकका राष्ट्रिय खेलाडीलाई तालिम, १८ परियोजनामा १० लाखको दरले सहयोग

१८ औँ वर्षमा एनसेल : प्यारालम्पिकका राष्ट्रिय खेलाडीलाई तालिम, १८ परियोजनामा १० लाखको दरले सहयोग

काठमाडौँ :  १८ औँ वार्षिकोत्सव मनाउँदै एनसेल आजियाटाले ‘हामी तपाईँकै लागि’ थिमको घोषणा गरेको छ।

यस थिम अन्तर्गत कम्पनीले सामाजिक कार्यहरूलाई अगाडि बढाउन र नेपालमा समुदाय स्तरमा सार्थक प्रभाव पार्ने श्रृङ्खलाबद्ध कार्यक्रम गरिने प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जानकारी गराए।

सार्वजनिक भएको कार्यक्रमहरूमा सामाजिक उत्तरदायित्व कार्यक्रम र नयाँ थिम अनुसार राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ।

कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ। त्यसका लागि राष्ट्रिय खेलाडीहरूको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग गर्ने कायुमोभले बताए।

योसँगै एनसेलले १८ औँ वार्षिकोत्सवको अवसरमा समुदायस्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ १८ का लागि १८ कार्यक्रमको घोषणा गरेको थियो।

यस कार्यक्रम अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने सामुदायिक विकास परियोजनाका लागि आवेदन आह्वान गरेको छ।

इच्छुक संस्थाहरूले एनसेलको वेबसाइट मार्फत आवेदन दिएपछि निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्ने उल्लेख गरेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणमा १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरेको उल्लेख छ। सबै भन्दा ठुलो करदातामध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८-७९ सम्ममा कर र शुल्क बापत २ खर्ब ८३ अर्ब भन्दा बढी तिरेको उल्लेख छ।

वार्षिकोत्सवको अवसरमा मानव विकास सूचकाङ्क न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरूसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरूमा भ्रमण लगायतका कार्यक्रमहरू आयोजना गर्ने कम्पनीले जानकारी दिएको छ।

कार्यक्रम सार्वजनिक गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक कायुमोभले भने'१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अङ्ग बन्न पाएकोमा हामी गर्व गर्छौँ। एनसेल सधैँ नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौँ।'

 सात ग्राहकलाई सात स्कुटर

एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला, ग्राहकमाझ आकर्षक अफर समेत सार्वजनिक गरेको थियो। नयाँ अफरमा प्रत्येक ग्राहक विजेता बन्ने ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउने उल्लेख छ।

यस अफरमा एष्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहक दैनिक, साप्ताहिक र बम्पर उपहार पाउन योग्य बन्ने उल्लेख छ।

दैनिक उपहारमा ग्राहकले एनसेलका सेवा बिना शुल्क पाउनेछन्। प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले एक सय ब्यालेन्स पाउने र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउने कम्पनीले जानकारी दिएको छ।

साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न ग्राहकले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्ने र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्ने कम्पनीले जानकारी दिएको छ। सन् २००५ मा सेप्टेम्बर १७ मा हेलो मोवाइलको रुपमा सेवा शुरु भएको थियो। हेलो मोवाइल नै अहिलेको एनसेल हो।

असोज १, २०८० सोमबार २१:४४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।