तीज विशेष : उमेरले ६ दशक काटिसकेको ‘तिवारी आमा’, गाउँले भाकाका गीतबाट चर्चा बटुल्दै

तीज विशेष : उमेरले ६ दशक काटिसकेको ‘तिवारी आमा’, गाउँले भाकाका गीतबाट चर्चा बटुल्दै

बुटवल : आजकाल कतिपय तीजका गीत परिवारसँग बसेर सुन्नै नमिल्ने खालका छन्। सुख, दुःख र बेदनाका भन्दा पनि अपाच्य र चर्चाकै लागि दुई अर्थी शब्दको टुक्का बनाएर गीत गाउने चलन अहिले झनै बढेको छ।

हालका गीतले तीज पर्वको अर्थ राख्नुभन्दा पनि समाजलाई कसरी भड्काउने भन्नेतर्फ प्रोत्साहन गर्ने गरेको देखिन्छ।

बेदनाका पोकाहरू फुकाएर सुख र दुःखका कुरा गीतमार्फत प्रस्तुत गर्ने त्यो पुरानो चलन अहिले अपवादका रुपमा मात्र देख्न पाइन्छ।

तीज पर्वको भड्किलोपन मात्र होइन, एक महिना अघिदेखि दरका नाममा गरिने ‘पार्टी’ले समेत पर्वलाई फेसन बनाइरहेको छ।

गीतको सांस्कृतिक महत्व हराउँदै गइरहेका केही त्यस्ता कलाकार हरू पनि छन, जो तीजको महत्व दर्साउँदै गीत र भावनाबाट सुख र दुःखका कुरा व्यक्त गर्छन्। तीनै मध्येकी एक हुन, पाल्पा रामपुरकी लक्ष्मी तिवारी।

गाउँले परिवेशका विषयलाई गीतमार्फत प्रस्तुत गर्ने लक्ष्मी तिवारी अहिले ‘तिवारी आमा’का नामबाट परिचित छन्।

छोरीहरूसँग गरिने सुख, दुःख र परिवारका कुरालाई गीतमार्फत प्रस्तुत गर्ने तिवारी आमा रामपुर बसेर पनि देश विदेशमा चर्चित बनेकी छन्।

यो वर्ष पनि तिवारी आमाको स्वरमा नयाँ तीज गीत ‘पानी मरुवा’ आएको छ। जसमा बेदनाका कुरा छन्। उनले गाएका हरेक गीतमा यथार्थता रहेको हुन्छ।

गीतको एउटा टुक्का : 

जेठीको नि छोरो हुर्क्यो, नानी अलि सानी छ
साँझ परेसी ज्वाइँको इत्ती खाने बानी छ। 

माइली छोरी फेन्सी खोली, यो मन्दीमा बिक्छ र
सटर खोल्यो, मोबाइल खोल्यो, हेर्यो टिकटक।

६३ वर्षको उमेरमा पनि गाएको गीतले उनको चर्चा देश विदेशमा छ। बृद्ध उमेरमा पनि लुकेको त्यो प्रतिभा अहिले संसार माझ पुगेपछि तिवारी आमा खुसी छन्।

‘मनका वेदना पोखेर गीत गाएँ। आज सबैले तिवारी आमाभन्दा खुसी लाग्छ,’ उनले भनिन्।

सानो उमेरदेखि गीत गाउने तिवारी आमा अहिले पनि गाउँघरमा हुने कार्यक्रममा अगाडि पुगेर गीत गाउँछिन्। २०१७ सालमा जन्मेकी तिवारी आमाको गीत प्रतिको लगाव निकै जोसिलो छ।

बुवा रवीन्द्रनाथ ज्ञवाली र आमा पवित्रादेवी ज्ञवालीको कोखबाट जन्मेकी तिवारी आमाको २०३२ सालमा रामपुरका डोलाराम तिवारीसँग विवाह भयो। तीन छोरा १ छोरी रहेका उनका दुई छोरा विदेशमा छन्। 

‘खेती किसानी गर्दा पनि गीत गाउने गर्छु। गुन गुनाउने बानी अझै मरेको छैन,’ उनले भनिन्।

स्वर मात्र हैन, गीतका टुक्का पनि लेख्न माहिर छिन् तिवारी आमा। गाउँकै परिवेशलाई देखेकै भरमा टुक्का बनाउँछिन् उनी।

‘पढ्न नपाए पनि गीत जुराउन आउँछ। लेख्न नजाने पनि कसैलाई लेख्न लगाउँछु,’ उनले भनिन्।

उमेरमा पढ्न नपाएकी तिवारी आमासँग आफ्नै कथा व्यथा पनि छन्। सानो उमेर हुँदा आमा बितेपछि भएको पीडा होस् वा त्यसपछि भोगेको यथार्थ अनि गाउँघरमा भोगिने सबै दुःख नै आफ्नो सिर्जनाका कथा रहेको उनी बताउँछिन्। 

तिवारी आमा सामाजिक चेतना र जागरणका गीत मात्र गाउँदिनन्। राजनीति गर्नेहरूलाई चोटिलो प्रहार गर्दै शब्द लेख्न र गाउन पनि माहिर छन्।

उनले गाएकी छन् :

कहिले जुट्छन् कहिले फुट्छन् कहिले पार्टी बाराबार
अहिले हाम्रो नेपालको यही छ समाचार।

त्यसपछि अर्को टुक्कामा भन्छिन्,

माओवादी चञ्चले छ कहिले शीतल कहिले घाम
कहिले बस्छन् जंगलभित्र कहिले एकै ठाउँ।

तिवारी आमालाई राजनीतिले देश नबिग्रियोस् भन्ने लाग्छ। ‘नेता सुध्रे देश सुध्रिन्छ। त्यसैले पनि खबरदारी गरेर गीत गाउने गरेकी हुँ,’ उनले भनिन्।

देशमा रोजगारी नभएपछि विदेश जानेहरूको लहर छ। उनले रोजगारीमा गएकाहरूलाई फर्कन आग्रह गर्दै गीत लेखेकी छिन्। युवा विदेश पलायन भए पछिको यथार्थ उनको गीतमा छन्।

नेपालमा रोजगार छैन, विदेशमा नगइ भा'छैन
जग्गा जमिन बाँझै बस्यो, खेती ला'छैन।
नेपालका युवा जति विदेशको खाडीमा
पाती फुल्यो, बाँदर नाच्यो गैरा बारीमा।
खाडी देशमा पाकेका छन् छोराछोरी दाजुभाइ
नानाथरी फेसन चाहियो घरमा बस्नेलाई।

उमेरले ६ दशक काटे पनि गायन क्षेत्रमा तिवारी आमाको सक्रियता घटेको छैन। बरु अझ बढेको छ। बोलाएको ठाउँमा पुगेर गीत गाउँदा सबैभन्दा बढी खुसी तिवारी आमा हुने गरेकी छिन्।

अनौपचारिक रूपमा धेरै गीत गाएकी तिवारी आमाको औपचारिक पहिलो गीत पानी मरुवा हो। कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ सँग मिलेर उनले यो गी गाएकी थिइन्। यसबाट उनका पाँच वटा एल्बम बजारमा पुगेका छन्। 

असोज १, २०८० सोमबार ११:२८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।