तीनकुने हत्याकाण्ड : हत्यापछि सडकमा निस्फिक्री हिँडिरहेका थिए आरोपी ( सिसिटिभी फुटेजसहित)

तीनकुने हत्याकाण्ड : हत्यापछि सडकमा निस्फिक्री हिँडिरहेका थिए आरोपी ( सिसिटिभी फुटेजसहित)

काठमाडौँ : प्रहरीले शनिवार तीनकुनेमा रहेको दिव्य स: मिलमा भएको चार जनाको बीभत्स हत्या घटनाको आरोपीलाई प्रहरीले दुई दिनमै पक्राउ गर्यो।

शनिवार सार्वजनिक भएको घटना निकै बीभत्स थियो। घटनामा संलग्न व्यक्तिले एकै परिवारका तीन जना अनि अर्को त्यही काठ कारखानामा काम गर्ने युवालाई धारिलो हतियारले हानेर हत्या गरेका थिए।

घटनाको प्रकृतिले यो आवेग प्रेरित घटना हो भन्ने देखाउँथ्यो नै। प्रहरी तत्काल अनुसन्धानमा जुट्यो। उपत्यका प्रहरी कार्यालयले छानबिनमा कुनै कमी नहोस् भनेर समिति गठन गर्यो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय अनि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी अनुसन्धानमा जुटे।

सहरका सबै क्षेत्रमा डिजिटल निगरानी बढाउन नसके पनि प्रहरीले मुख्य सडक मार्गमा सिसिटिभी जडान गरेको थियो नै। कतै सिसिटिभीबाट कुनै क्लु फेरा पर्छ कि भनेर जुटेको प्रहरीले घटनास्थलदेखि सडक मार्गमा रहेका सबै सिसिटिभीको अध्ययन सुरु गर्यो।

घटना लगभग ११ बजेको आसपास भएको हुनसक्ने भएकाले साढे १० देखि बिहान १ बजेसम्मको सिसिटिभीको दृश्य निगरानी गर्दा सम्भावित आरोपीको फुटेज फेला पर्न सक्थ्यो।

भयो पनि त्यही। १२ बजेतिरको आसपासमा जिन्स, कालो टिसर्ट अनि ब्याग बोकेका एक युवा निकै हतारिएर तीनकुनेबाट काँडाघारितिर लागेका थिए।

उनी निकै हतारिएका देखिन्थे। कतै दौडन्थे उनी त कतै कहाँ जाने भनेर अन्यौलता परेझैँ देखिन्थे। प्रहरीले घटनास्थल वरपरको फुटेज पनि सङ्कलन गरिसकेको थियो। त्यसले समेत सम्भावित आरोपीको पहिचान गर्न प्रहरीलाई सहज भएको थियो।

जडीबुटी क्षेत्रमा गएर युवा हराएकाले प्रहरीले हुलियाको आधारमा त्यही क्षेत्रमा खोजी सुरु गर्यो र आइतबारै आरोपीलाई पक्राउ गर्न सफल भयो। आइतबार दुवै प्रहरी कार्यालयका अधिकारीले पत्रकार सम्मेलन गरेर घटनाका आरोपीको रूपमा २३ वर्षका सञ्जय भण्डारीलाई सार्वजनिक गरे जो जन्मजात बोल्न सक्षम थिएनन्।

प्रहरीका अनुसार भण्डारी र विशाल राईबिचको दुस्मनीका कारण घटना भएको हो जसमा उनीहरूबिचको झगडामा सम्बन्धै नरहेका एकै परिवारका तीन जना समेत मारिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख भए अनुसार पक्राउ आरोपीबाट घटनामा प्रयोग भएको खुकुरी, उनले घटनाको समयमा लगाएको कपडा र झोला समेत फेला परेको छ।

प्रहरीका केही दिन अगाडि उमेशले मोटरसाइकल चलाउँदा भण्डारीलाई ठक्कर दिएको थियो। तर विशालले उल्टै उनलाई कुटेका थिए।  घटनाको दिन भण्डारी राईलाई भेट्छु र निहुँ खोजे छप्काई दिन्छु भन्दै आफू बस्ने दिदी भिनाजुको काँडाघारीमा रहेको डेराबाट खुकुरी झोलामा राखेर स : मिलमा गएका गएका थिए।

बेलुका स मिलको पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर उनी राई बस्ने कोठामा जाँदा उनी थिएनन्। भण्डारी कोठाको सोफामा बसे। केही समयमा विशाल आएर किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि भण्डारीले खुकुरी निकालेर विशालको टाउकोमा पटक पटक प्रहार गरेको प्रहरीको दाबी छ।

विशालको हत्या गर्ने क्रममा वृद्ध सुभद्रा भुजेलले घटना देखेर कराएको जस्तो लागेपछि उनले वृद्धलाई पनि खुकुरीले टाउकोमा हानेका थिए। पूर्ण बहादुर भुजेल घटनास्थलमा आएर फोन गर्न लागेको जस्तो देखेपछि उनले पूर्णलाई पनि टाउकोमा खुकुरीले हानेको प्रहरीको दाबी छ।

'त्यसपछि अम्बिका भुजेल पनि घटनास्थलमा आएकोले भण्डारीले भुजेलको टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको देखिन्छ,' प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा दाबी गरिएको छ।

घटनापछि भण्डारीले कुमार भुजेलको शवलाई घिसार्दै टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा राखेको, उनको श्रीमती अम्बिकाको शवलाई पानीको कल छेउमा लगेर फालेको र सुभद्राको शवलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगेर फालेको प्रहरी विवरणमा उल्लेख छ।

'विशाल राईलाई रिसईबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य ३ जनालाई सो घटना देखि बाहिर आउँछ भनी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ' प्रहरीले भनेको छ।

चारै जनाको हत्यापछि बाहिर गेटमा ड्याङ ड्याङ आवाज आएको र बत्तीको लाइट समेत देखेपछि पछाडि पट्टीको गेटबाट हाम फालेर कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोकमा रहेको डेरामा पुगेर सुतेका थिए।

उनी आइतबार प्रहरीले खोजी रहेको हुन सक्छ भनेर लागि सिन्धुपाल्चोकमा रहेको घर जान काँडाघारीबाट निस्किएर आउँदै गर्दा हुलियाको आधारमा पक्राउ परेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनी जन्मजात बोल्न सक्दैनन्।

 

भदौ ३१, २०८० आइतबार २२:१८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।