छ हजार शव चिरेका डा.गोपालको अनुभव : हवाई दुर्घटनापछि १४ जनाको शव दुई सय टुक्रा भएर आयो

छ हजार शव चिरेका डा.गोपालको अनुभव : हवाई दुर्घटनापछि १४ जनाको शव दुई सय टुक्रा भएर आयो

डा. गोपाल चौधरी कानूनी चिकित्सा(फरेन्सिक मेडिसिन) विशेषज्ञ हुन्। उनले चिकित्सकीय पेशाको सिलसिलामा ६ हजारभन्दा बढी मृत शरीरको पोष्टमार्टम गरेका छन्। विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएको व्यक्तिको शव परीक्षण  गर्नु उनको दैनिकी हो।

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. गोपालको चिकित्सकीय विधा, सीप तथा काम हो।

व्यक्तिको मृत्युपछि गरिने मृत शरीरको परीक्षणलाई ‘पोष्टमार्टम एक्जामिनेशन’ भनिन्छ। मृत्युको कारण पत्ता लगाउने यस किसिमको परीक्षण विधि तथा प्रक्रियालाई ‘अटोप्सी’ समेत भनिन्छ।

डा. गोपालले चिकित्सकीय पेशाका सिलसिलामा देखे भोगेका केही घटना ताथ अनुभव उकेरासँग साटे।

प्रहरीले एक बोरा बंगुरको हड्डी परीक्षण गर्न ल्याएपछि...
करिब आठ वर्षअघि खेत खन्ने क्रममा बारीमा गाडिएको अवस्थामा शंकास्पद हड्डी भेटिएछ। घटना कुन जिल्लाको हो ठ्याक्कै याद रहेनछ।

त्यसपछि प्रहरीले त्यो हड्डी उत्खनन गरेर बोरामा हालेर पोष्टमार्टमका लागि महाराजगञ्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागमा पठायो। परीक्षणका लागि बोरामा लगिएको हड्डीको तौल करिब दश किलो थियो।

डा. गोपालको टिमले त्यो बोराको हड्डीको परीक्षणको तयारी गर्यो र अध्ययन थाल्यो। शुक्ष्म अध्ययनमा त्यो मानव अस्थिपञ्जर (हड्डी) नभएको पत्ता लाग्यो। के को हड्डी हो भनेर अध्ययन गर्दै जाँदा बंगुरको हड्डी भएको पत्ता लाग्यो।

‘मान्छेको भन्ठानेर परीक्षण गर्न बोरामा ल्याइएको त्यो एक बोरा हड्डी त बंगुरको पो रहेछ’, उनले भने।

बेला-बेलामा मानवको हो कि भन्ठानेर विभिन्न जीव जनावरका हड्डी प्रहरीले परीक्षणका लागि ल्याउने गरेको अनुभव उनले सुनाए।

बौद्धमा भेटिएको त्यो नलिखुट्टा...
दुई वर्षअघि काठमाडौंको बौद्धमा वयस्क मानिसको खुट्टाको हड्डी भेटिएको घटना पनि डा. गोपालको मानसपटलमा ताजै छ।

त्यहाँ वरिपरि घरको बीच भागको बारीमा बोराभित्र घुँडाभन्दा तलको एउटा खुट्टाको हड्डी भेटिएको थियो। प्रहरीको अनुरोधमा डा.गोपाल पनि घटनास्थलमा भेटिएको हड्डीको अध्यनको लागि पुगे। उनले अवलोकन गरे।

‘पैताला छ, छाला छ, नलिखुट्टाको ठूलो हड्डी थिएन, सानो हड्डी थियो’, उनले त्यो घटनाको प्रसङ्ग सुनाए।

त्यो खुट्टाका हड्डी हतियारले मिलाएर काटेर निकालेको जस्तो देखिएको उनले बताए। अनुसन्धानको क्रममा कुनै तान्त्रिकले दाहसंस्कार गरेको शवको नलिखुट्टो शंखका रूपमा बजाउन निकालेर ल्याएको र काम नलाग्ने हड्डी फ्याँकेको हुनसक्ने अनुमान गरिएको उनले सुनाए।

भेटिएको त्यो हड्डी त्रिभुवन विश्वविद्यालय, महराजगञ्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागमा परीक्षणका लागि लगियो। हड्डीको मासु कुहिसकेको थियो।

डा. गोपालले हड्डीको डिएनए परीक्षणका लागि नमुना निकाले र परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाए। त्यो खुट्टाको हड्डी कसरी त्यहाँ भेटियो र कसको हो भन्ने हालसम्म पत्ता नलागेको उनले सुनााए। त्यो हड्डीको प्रकृति हेर्दा अझै उनलाई अनौठो लाग्छ।

टाउको र शरीर छुट्टिएका ती पुरुषको पोष्टमार्टम गर्दा
डा. गोपालले विभिन्न किसिमका क्षतविच्छेद भएका शवको पोष्टमार्टम गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा यति विभत्स तरिकाले हत्या भएका व्यक्तिको शव परीक्षण गर्नुपर्छ की डा. गोपालकै आङ नै जिरिङ्ग हुन्छ।

अनि घटनाका शव देख्दा उनी मनमनै सोच्छन्, ‘कम्प्लिट्ली टाउको काटेको हुन्छ, कसरी काट्न सकेको होला!’

डा. गोपाल यस्तै एउटा विभत्स हत्या भएका व्यक्तिको पोष्टमार्टम गरेको सम्झन्छन्। घटना केहीवर्ष अघिको हो।  बालाजु क्षेत्रमा हत्या भएका ती पुरुषको शरीर सुटकेशमा र टाउको झोलामा राखेर फरक-फरक ठाउँमा फालिएको थियो।

महाराजगञ्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागमा पुर्याइएका ती पुरुषको शवको पोष्टमार्टम डा. गोपालले नै गरे। पोष्टमार्टमको क्रममा ती पुरुषको विभत्स शव देख्दा उनको मन पोल्यो। पोष्टमार्टमको क्रममै यी पुरुषको किन हत्या गरियो होला? भन्ने विषय उनको मनमा खेलि नै रह्यो।

मनमा उत्पन्न तनावकै बीच डा. गोपालले ती पुरुषको पोष्टमार्टम गरे। पोष्टमार्टमपछि कसरी र कस्तो किसिमको हतियार प्रयोग गरेर हत्या गरिएको हो, पहिल्यै बेहोस बनाएर काटिएको हो की काटेर हत्या भएको होे भन्नेजस्ता विषय टुंगियो।

१४ जनाको शव दुई सय टुक्रा भएर आएपछि...
करिब १३ वर्षअघि हवाईजहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिको शवको पोष्टमार्टम र शव पहिचान गर्न नै कठिन भएको विभत्स दृश्य सम्झँदा डा. गोपालको मनै भारी हुन्छ। हवाइजहाज दुर्घटनामा परी मृत्यु हुनेको शवको अवस्था विभत्स थियो। १४ जनाको शव दुई सय भन्दा बढी टुक्रा परेको अवस्थामा भेटिएको थियो।

दुर्घटनापछि ती मृतक व्यक्तिको शवको पोष्टमार्टमका लागि महाराजगञ्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागमा लगियो। त्यो बेला नेपालमा शवको पहिचान गर्ने स्रोत साधनको अभाव थियो। टुक्रिएका शवको पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने थियो। जुन नेपालमा सम्भव भएन। त्यो बेला डिएनए परीक्षणको लागि विदेशबाटै विशेषज्ञ बोलाउनुपरेको उनले सुनाए।

त्यसैले सरकारले अमेरिकाबाट दुई जना डिएनए परीक्षण गर्ने विशेषज्ञ बोलायो। ति विशेषज्ञ आएर ति १४ जनाको दुई सय भन्दा बढी टुक्रा परेको शवको डिएनए परीक्षणका लागि नमुना लगेको डा. गोपालले अनुभव सुनाए।

डिएनए परीक्षणको रिपोर्ट नआउन्जेल दुर्घटनामा मृत्यु भएका व्यक्तिको शवको टुक्रा फरेन्सिक विभागमा नै राखियो। करिब तीन महिनापछि डिएनए परीक्षणको रिपोर्ट आयो। रिपोर्ट आएपछि एकै किसिमको डिएनए मिल्ने शवको टुक्रालाई एउटा-एउटा प्लाष्टिकको झोलामा राख्दै छुट्याएको सम्झन्छन् उनी।

शवको टुक्रा पहिचान गरेपछि आफन्तलाई प्लाष्टिकमा प्याकिङ गरेर शवको टुक्रा बुझाएको डा. गोपालको मानसपटलमा ताजै छ। त्यो विभत्स घटना सम्झँदा अझै उनको आङ सिरिङ्ग हुन्छ।

शव झुक्किने डर
विभिन्न किसिमका यस्ता दुर्घटनामा मानिसको मृत्यु भएका व्यक्तिका आफन्तलाई चाँडै शव दिनुपर्ने दबाब पर्छ। तर, शव पहिचान नगरी दिन मिल्दैन।

हवाई दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि समेत समय लाग्ने उनले बताए। सामान्य विधिले पहिचान नभए डिएनए परीक्षण गर्नुपर्ने हुन्छ। डिएनए परीक्षण गर्दा रिपोर्ट आउन एक÷डेढ महिना नै लाग्ने उनले सुनाए।

यसरी हवाई दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव हेर्दा नचिनेर आफ्नै जस्तो लाग्ने हुँदा एकले अर्काको शव लाने सम्भावना धेरै हुने उनले सुनाए। त्यसैले डिएनए परीक्षणपछि पहिचान गरेर मात्रै शव दिइने गरेको उनले सुनाए।

जहाज दुर्घटनामा परेका पाइलट साथीको पोष्टमार्टम गर्नुपर्दा...
शवको पोष्टमार्टम गर्दा डा. गोपाललाई अझै असहजता महसुस हुन्छ नै। तर, उनको चिकित्सकीय विधा नै यस्तै भएकाले कामको रूपमा लिएर पोष्टमार्टम गर्छन् आजकाल।

विशेषगरी चिनेजानेका अनि साथीहरूकै शवको पोष्टमार्टम गर्नुपर्दा भने उनको मन थामिँदैन। मनमा गाँठोपर्छ। ११ वर्ष अघि सन् २०११ मा ललितपुरमा बुद्ध एयरको हवाइजहाज दुर्घटना भयो। दुर्घटनापछि शवहरू पोष्टमार्टमका लागि त्रिवि, महाराजगञ्ज चिकित्सा क्याम्पस, फरेन्सिक मेडिसिन विभागमा लगियो।

डा. गोपाल नेतृत्वको टिमले जहाज दुर्घटनामा परेका शवको पोष्टमार्टम गर्न थाल्यो। उनले पोष्टमार्टम गर्नुअघि त्यो जहाज आफ्नै साथीले उडाएका थिए भन्ने कुरा थाहा पाइसकेका थिए। ती साथीको शवको पोष्टमार्टम गर्दा मन थाम्नै नसकेको उनले सुनाए।

ती स्कुले पाइलट साथीको पोष्टमार्टम गर्दाको क्षण सम्झेर कुराकानीको क्रममा डा. गोपाल अलि भावुक बने। उनी असहज स्थितिमा पुगे। साथीको त्यो शवको पोष्टमार्टम गर्दाको क्षण सम्झनसमेत उनलाई असहजता भएकाले त्यो घटनाको थप कुरा गर्न चाहेनन्।

चिकित्सक साथीको पोष्टमार्टम गर्दा...
त्यसैगरी एमबीबीएसपछि सँगै काम गरेकी एक जना महिला साथीको पनि डा. गोपालले पोष्टमार्टम गरेका छन्। करिब आठ वर्षअघि नेपाली सेनाकी ती चिकित्सक साथीको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएछ।

मृत्युपछि शव पोष्टमार्टमका लागि महाराजगञ्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभाग पुर्याइयो। त्यो बेला प्रा.डा. प्रमोद श्रेष्ठ विभागीय प्रमुखको जिम्मेवारीमा भएको उनी सम्झन्छन्।

हेकिकप्टर दुर्घटनामा परेकाको पोष्टमार्टम सुरु भयो। पोष्टमार्टम गर्ने टिममा डा. गोपाल पनि थिए। आफ्नै चिकित्सक साथीको शवको पोष्टमार्टम गर्नुपरेको त्यो क्षण सम्झँदा अझै डा. गोपालको मन भारी हुन्छ।

डा. गोपालले महाराजगञ्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागमा पुगेपछि करिब १३ वर्षको अन्तरालमा हवाइजहाज र हेलिकप्टर गरी करिब १४ वटा दुर्घटनामा परेका व्यक्तिको पोष्टमार्टम गरेका छन्।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायतको शवको पनि डा. गोपालले पोष्टमार्टम गरेका हुन्।

शव नचिन्ने गरी नजलेकाले अधिकारिको शव पहिचानका लागि केही सहज भएको उनले सुनाए। राजनीतिक नेता तथा सेलिब्रेटीहरूको पोष्टमार्टम गर्दा भने समयको दबाब हुने उनले अनुभव सुनाए।

हवाइजहाज तथा हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका शवहरू प्राय क्षतविच्छेद हुन्छन्। यस्ता शवको उनी पोष्टमार्टम गर्छन्।

दैनिक शव परीक्षण गर्ने डा. गोपाललाई हवाइजहाज तथा हेलिकप्टरमा यात्रा गर्न निक्कै डर लाग्छ। उनी सकभर हवाईजहाज तथा हेलिकप्टरमा यात्रा गर्दैनन्। उनी सम्भव भएसम्म टाढाटाढा आफैँ गाडी र मोटरसाइकल चलाएर यात्रा गर्छन्।

जन्म सुनसरी, पढाइ काठमाडौं
गोपाल २०३६ मा सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा जन्मिएका हुन्। तर, उनका बुवा काठमाडौंमा ट्रेकिङ एजेन्सीमा काम गर्थे। त्यसैले उनी पनि सानैदेखि काठमाडौं नै बसे। काठमाडौंमा नै हुर्किए र पढे।

गोपालले एक कक्षादेखि नै चाबहिलको बाबा बोर्डिङ हाइस्कुलमा पढ्न थाले र त्यहिँबाट २०५२ मा एसएलसी गरे। त्यसपछि उनले काठमाडौंकै बालाजुस्थित नेशनल कलेज अफ टेक्निकल साइन्सबाट प्लस टु गरे।

सानैदेखि डाक्टर बन्ने इ्रच्छाका कारण उनी काठमाडौं विश्वविद्यालय अन्तर्गत सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा सन् २००० मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। गोपालले सन् २००६ मा एमबीबीएस अध्यय पूरा गरे।

रोजाइमा शव परीक्षण
एमबीबीएस पूरा गरेपछि डा. गोपालले एमबीबीएस अध्ययन गरेकै अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गर्न थाले। त्यहाँ उनले करिब दुई वर्ष र शंकरापुर अस्पतालमा दुई वर्ष काम गरे।

त्यसपछि डा. गोपालले नेपाल मेडिकल कलेजमा फरेन्सिक मेडिसिन विभागमा ट्युटरका रूपमा केही महिना काम गरे। उनलाई कानूनी चिकित्सा विशेषज्ञ प्रा.डा. हरिहर वस्तीले पनि एमबीबीएसमा फरेन्सिक मेडिसिन विषय पढाएका थिए। नेपाल मेडिकल कलेजमा पनि डा. हरिहर काम गर्थे। त्यहाँ डा. हरिहरसँग नजिक रहेर डा. गोपालले काम गर्ने मौका पाए।

एमबीबीएस अध्ययनपछि उनलाई मुटुरोग विशेषज्ञ बन्ने इच्छा थियो। तर, डा. हरिहरसँग नजिक भएर काम गरेपछि कानूनी चिकित्सा विषयको अध्ययन गर्न मन लाग्यो अनि सन् २०१० मा त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको फरेन्सिक मेडिसिन विषय अध्ययनका लागि भर्ना भए।

सन् २०१३ मा अध्ययन सकेलगत्तै डा. गोपालले त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पस, फरेन्सिक मेडिसिन विभागमा उपप्राध्यापकको रूपमा करारमा जागिर सुरु गरे। करिब ६ वर्ष काम गरेपछि उनी स्थायी भए।

हाल डा. गोपाल महाराजगञ्ज चिकित्सा क्याम्पसका उप-प्राध्यापक तथा फरेन्सिक मेडिसिन विभागका प्रमुखको भूमिकामा छन्। उनले एक वर्षअघि असारबाट विभागीय प्रमुखको भूमिका सम्हालेका हुन्।

उनले सन् २०१४ मा अस्ट्रेलियाको मेलवर्नस्थित भिक्टोरियल इन्स्टिच्युड अफ फरेन्सिक मेडिसिनमा ‘फरेन्सिक मेडिसिन’ विषयमा ६ हप्ताको तालिम लिने अवसर पाए। त्यहाँ उनले पोष्टमार्टम सम्बन्धी थप ज्ञान तथा सीप सिक्ने मौका पाए।

डा. गोपालले जागिरे भएपछि विवाह गरेका रहेछन्। उनको प्रेम विवाह रहेछ। श्रीमती पनि चिकित्सक नै भएकाले श्रीमतीले पेशाको विषयमा बुझेकी छन्। त्यसकारण काम गर्न सहज भएको उनले सुनाए।

‘सपनामा शवहरू गफ गर्न आउँथे’
स्नातकोत्तर तहको फरेन्सिक विषयको अध्ययन थालेर शवको पोष्टमार्टममा सहभागी भएपछि करिब एक वर्षसम्म त डा. गोपालको पनि मन उथलपुथल नै भयो। त्यो बेला उनलाई पनि यो विषय नपढुँ कि जस्तो लाग्यो।

दैनिक शवसँग खेल्नुपर्दा तनाव उत्पन्न भएर आफैँ डिप्रेशनको सिकार त भइँदैन? भन्ने उनको मनमा पनि नउब्जेको हैन। शवको पोष्टमार्टम गरेर फर्किएपछि उनलाई सुरुवाती दिनमा केही पनि खानै मन लाग्दैनथ्यो।

दिनभरी शवमा खेलेको सम्झेर उनलाई मासु देख्यो की वान्ता आउला जस्तो हुन्थ्यो। त्यो बेला डा. गोपालले मासु खानै छाडिदिएका थिए। 

कुहिएर किरा परेको शवको पोष्टमार्टम गर्दा त झन् कयौंपटक शवमा परेका किरा उछिट्टिएर उनका अनुहार र शरीरमा पुग्छन्। मान्छेको शवको अनौठो किसिमको गन्धले डा. गोपालको मनमा तनाव उत्पन्न हुन्थ्यो।

त्यसो त अस्पतालमा पोष्टमार्टम गरेर घरमा गएर सुत्दा समेत उनी सुःख पाउँदैनथे। उनलाई सपनामा पनि शवले दुःख दिन्थ्यो। डा. गोपाल शवहरूसँग बसिरहेको सपना देख्थे। सपनामा शवहरूसँग गफ गरिरहेको र आफू सुतेको वरिपरि यत्रतत्र शवहरू देख्थे उनी।

‘लाश नै उठेर आउँदा तर्सिएर झस्याङ्ग ब्यूँझन्थेँ, अनि डर लाग्थ्यो,’ डा. गोपालले सुनाए।

त्यस्तो अवस्थामा काम गर्नुपर्दा यो विषय किन पढेछु जस्तो लाग्थ्यो उनलाई। तर, एक वर्षपछि भने बिस्तारै डा. गोपाललाई शवसँग खेल्ने बानी पर्दैगयो। उनको मनमस्तिस्कले यसलाई पेशाको रूपमा स्वकार्दै गयो। आजकाल भने त्यस्तो डरलाग्दो सपना भने खासै देख्दैनन् उनी।

‘शवसँग खेल्ने विषय के छान्नु?’
पोष्टमार्टमसम्बन्धी काम गर्ने फरेन्सिक मेडिसिन विधाका चिकित्सकलाई आम मानिसले मात्रै नभएर चिकित्सकले समेत नरुचाएको डा. गोपालले सुनाए।

कतिपय साथीभाइले समेत उनलाई ‘मान्छे बचाउने विषय पो पढ्नुपर्छ त, शवसँग खेल्ने विषय के छान्नु’ भन्थे। कतिपयले ‘डाक्टर भनेको त मान्छे बचाउने पो हुनुपर्छ त, मान्छे मरिसकेपछि डाक्टरको के काम?’ भनेको समेत उनले कयौंपटक सुनेका छन्।

तर, उनलाई यो विषयको महत्व छ भन्ने थाहा भइसेको थियो। त्यसैले अरुले के भने भन्ने विषयलाई उनले त्यति महत्व दिएनन्। उनले यही विषय अध्ययन गरे र यहि चिकित्सकीय विधा अंगाले।

मानिसको मृत्युपछि पनि के कारणले मृत्यु भयो भन्ने पत्ता लगाउने डा. गोपालको अध्ययनको मुख्य चिकित्सकीय विधा हो। उनी पोष्टमार्टम गरेर के कारणले मान्छेको मृत्यु भएको हो भन्ने पत्ता लगाउने काम गर्छन्। शवको पहिचान लगायतको काम गर्छन्।

त्यसो त बलात्कार, जबरजस्ती करणीमा परेका पीडित र पीडक दुवैको स्वास्थ्यपरीक्षण गर्ने, उमेरको लगायतको परीक्षण गर्नु डा. गोपालको चिकित्सकीय विधामा पर्छ।

भदौ ३०, २०८० शनिबार १९:५३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।