कविता : बुबाको कद

कविता : बुबाको कद

बुबा! कति अग्ला थियौ है तिमी

तिमीले आर्जेको तीन तले घरको धुरीभन्दा माथि

मेरो आँखाले तिम्रै शिर देख्छ अझै पनि 

ढाका टोपी लगाएको बेला तिमी मुसुक्क हाँस्दा 

लाग्थ्यो झुल्के घाममा मेरो अघि हिमाल आफैं आएर मुस्कुराउँदैछ 

तिम्रो ढिकुरो पूजा गरे छेउको पाडरीको रुखले त 

कति चोटि भन्यो भन्यो अग्लो हुनु त तिम्रो बाउ जस्तो भनेर  

घरै अगाडिको झण्डै तीन मान्छे अग्लो चुच्चे ढुंगा पनि

तिमीभन्दा अझै होचो नै छ

प्रत्येक झ्याङका हरेक बाँसका घनाहरू पनि  

तिम्रो कदका अघि पिपिरा झैं लाग्थे

तिमीलाई समिप पारेर थुम्का डाँडा हेर्दा

पूरै छलिन्थ्यो ऊ

नेपाल कुवा नेरको चौताराका बरपीपल र स्कूल छेउको एक्ले बर पनि

हामीभन्दा तिम्रै बाउ अग्ला हुन् भनी खुसुक्क भन्थे मलाई

दशैं तिहारमा हाट डाँडाको चर्के पिङ खेल्दा 

म चढेको पिरा धुरी पुग्दा माथि हेर्थें त्यहाँ पनि तिमी नै देखिन्थ्यौ 

रुख चढ्न डरछेरुवा म 

एकपटक रिजाल बारीको पिपलको रुखको अलि माथि पुगेको मात्र के थिएँ 

मभन्दा माथि त तिमी पो देखियौ 

अब रिसाउँछौ भनी डराउँदै हतार ओर्लेर खुर्रररर घर पुग्दा 

आँगनको ढुंगामा कैलाश भएर चोया काढ्दै पो थियौ तिमी 

हलो काट्न सालघारी जाँदा

गगनचुम्बी सालका रुखका टुप्पाभन्दा माथी तिमी नै देखिन्थ्यौ

हरेक देउरालीहरू पनि

तिमीभन्दा होचै लाग्छन् अचेलसम्म मलाई

मेरो भञ्ज्याङ तिमीले मलाई तिम्रो काखमा राख्दा

वरिपरीका डाँडाहरू तिम्रो कम्मर कम्मर मात्रै आए जस्तो लाग्थ्यो

घरमाथिका देवी बराजुभन्दा पनि

निक्कै अग्लो स्थानमा छौ तिमी अझै  

मेरो मानसपटलको पहिलो अग्लो हिमाल गोरुजुरे पनि

तिम्रो दाँजोमा फुच्चे देखिन्थ्यो उतिखेरै 

पछि शैक्षिक भ्रमणमा चिचिला जाँदा देखिएको 

मकालु हिमाललाई तलैबाट चिच्याउँदै सोधे'थें तिम्रो बारे 

मभन्दा धेरै अग्लो कदका मान्छेका छोरा हौ तिमी भनेथ्यो तत्क्षण उसले 

जब सगरमाथाको उचाइ थाहा पाएँ नि 

तब मलाई लागेथ्यो तिम्रो उचाई नाप्ने यन्त्र बन्नेछैन कहिल्यै पनि 

गाउँघरमा सबैले

प्रधान बा यो पूरै समाजका ठूला मान्छे हुन् भन्थे

उनिहरूसँगको तिम्रो भेटको दृश्यले इसारा गर्थ्यो मलाई 

आफ्नो ठाउँमा ठूलै होलान् उनिहरू

तर अग्ला त तिम्रै बुबा देखिए 

अनि म पुलकित हुन्थें 

मनभरी तिमी राखेर 

यसरी तिमी मेरो सबैभन्दा अग्ला अनि प्रधान पनि थियौ र रहिरह्यौ पनि 

तर नफुर्किनु है बुबा! 

अग्ला तिमी अहिले कहाँ हो कहाँ माथि

कसैले देख्नै नसकिने ठाउँमा भए पनि 

मेरी आमा पनि तिमीभन्दा कहिल्यै 

होचि छैनन् नी फेरी!

हामी सबै सन्तानका लागि 

तिमी जस्तै। 

हो अग्ला हौ 

अग्लै रहिरहने छौ 

दुवै जना 

बराबरी।

श्याम विश्वकर्मा
सभापोखरी-१, धुपू, संखुवासभा

 

२८ भदौ, २०८०, १३:५५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।