६० किलो सुन तस्करीमा ५० जना प्रतिवादी, चिनियाँ समूहले ३०२ केजी सुन तस्करी गरेको सीआईबीको दाबी

काठमाडौं : ६० किलो ६१७ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ।
सीआईबीका अनुसार हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका छन्। १४ विदेशी र ४ नेपाली फरार रहेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।
पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ।
सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको दाबी गरेको छ।
बरामद सबै ब्रेक प्याड जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको पाइएको भन्दै बज्राचार्यले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको जानकारी गराइन्।
उनले भनिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ।’
आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजाने उनको भनाइ छ।
यस्तै सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीले जनाएको छ। अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले गिरोहले नेपालमा ७ वटा कम्पनी खोलेको र तीमध्ये ६ वटा कम्पनीले नेपालमा सुन भित्र्याएको बताए।
‘सुरुमा थोरै मात्रामा सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको देखियो’, उनले भने।
२७ भदौ, २०८०, १२:२७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।