आशिफ-कोहली संवाद : कोहलीले भने, ‘एउटा मेडल मलाई पनि लगाइदिनुस् किनकी...’

आशिफ-कोहली संवाद : कोहलीले भने, ‘एउटा मेडल मलाई पनि लगाइदिनुस् किनकी...’

काठमाडौं : गत सोमबार एसिसया कपमा नेपालले भारतविरुद्ध खेल्यो। खेल नेपालको पक्षमा नभए पनि नेपाली खेलाडीहरूले त्यहाँ गएर आफ्नो प्रस्तुति दिए, जसलाई विश्वले सराहना गर्यो। विश्व क्रिकेट र त्यसलाई पछ्याइरहेकाहरूले भारतविरुद्धको खेलमा नेपाली खेलाडीहरूको प्रशंसा गरे।

खेलपछि नेपाल क्रिकेट संघ(क्यान) म्यानेजमेन्ट र प्रशिक्षक मोन्टी देशाइले भारतीय खेलाडीसँग भेट र अनुभव सेयर गर्नका लागि प्रस्वाव गरे। उनीहरूले पनि सहजै स्वीकारे। त्यसपछि नेपाली टोली भारतीय ड्रेसिङ रुममा गयो।

ड्रेसिङ रुममा भारतीय प्रशिक्षक राहुल द्रविडले नेपाली खेलाडी र प्रशिक्षकलाई स्वागत गरे। त्यसपछि सुरु भयो उनीहरूको अनुभवन आदानप्रदान, अनि नेपाली प्रशिक्षक मोन्टी देसाइको ह्याप्पी ड्रेसिङ रुमको कार्यक्रम। त्यहाँ उनले तीन नेपाली खेलाडीलाई मेडल लगाइदिन भारतीय खेलाडी र प्रशिक्षकलाई आग्रह गरे। उनीहरूले पनि सहजै स्वीकारे।

हार्दिक पाण्डेले सोमपाल कामीलाई, विराट कोहलीले आशिफ शेखलाई र भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीले मेडल लगाए। सोही क्रममा विराट कोहलीले त्यहाँ केही ठट्टा पनि गरेको आशिफ शेखले बताए।

बुधबार नेपाल फर्किएपछि त्यहाँको अवस्थाबारे वर्णन गर्दै उनले भने, ‘खेलपछि त्यस्तो केही हुन्छ भनेर हामीले एक्स्पेक्ट नै गरेका थिएनौँ। तर मोन्टी सरले गएर रिक्वेस्ट गर्नुभयो, उहाँहरुले सहजै तरिकाले स्वीकार्नुभयो। उहाँहरूको ड्रेसिङ रुममा जाँदा सबै प्लेयरले आफूलाई कसरी म्यानेज गरिराका छन्, किटब्यागहरू कसरी राखिराका छन्, सानो–सानो कुराहरू हामीले नोटिस गर्यौँ। विराट कोहलीले जब मेडल लगाइदिनुभयो, तब मलाई एकदमै प्राउड फिल भयो नेपाललाई प्रतिनिधित्व गर्दा। लास्टमा उहाँले एउटा मेडल मलाई पनि दिनुस्, मैले क्याच छोडेको छु भन्नुभयो। अलिकति फन पनि भयो।’

कोहलीले आशिफ शेखको सुरुवाती क्याच छाडेका थिए। पछि उनै कोहलीको क्याचमा आशिफ आउट भए।

सञ्चारकर्मीसँगको कुराकानीमा कप्तान रोहित पौडेलले सन् २०२३ आफूहरूको लागि एकदमै राम्रो वर्ष भएको बताए। भारतविरुद्ध कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गर्दा आफूहरूलाई डगआउटमा गर्नसक्ने विश्वास थपिइरहेको अनुभव उनले सुनाए। उनले विश्वका उत्कृष्ट बलरहरूसमक्ष नेपालले गरेको ब्याटिङले थप आत्मविश्वस बढेको उनले बताए।

भारतीय खेलाडीसँग ड्रेसिङ रुम शेयर गर्दा खेलअघिको तयारी, खेल्ने तरिका र अन्य धेरै साना–साना विषयका बारेमासमेत जान्ने मौका पाएको कप्तान पौडेलले सञ्चारकर्मीलाई बताए। उनले आफूलाई भारतीय कप्तान रोहित शर्मा मनपर्ने भन्दै उनीसँग खेल्दा र टसका लागि मैदानमा उभिँदा नै गौरव लागेको अनुभव सुनाए।

कप्तान पौडेलले सरकार र निजी क्षेत्रले नेपाली क्रिकेटको भौतिक पूर्वाधार निर्माणमा लाग्न ढिला भइसकेको भन्दै प्रत्येक प्रदेशमा क्रिकेट मैदान र अभ्यासका लागि पिचको आवश्यकता रहेको बताए। खेलाडीरूलाई ब्राण्ड एम्बेस्डर बनाएर वा अन्य कुनै तरिकाले खेलाडी र संरचनामा लगानी आवश्यक रहेको बताउँदै उनले आर्थिक रूपमा खेलाडी सुरक्षित भयो भने धेरै सोच्नुनपर्ने बताए।

यस्तै, राष्ट्रिय क्रिकेट टिमका म्यानेजर प्रदीप मजगैयाँले भारतीय ड्रेसिङ रुममा छिर्दा र उनीहरूको अनुभवले व्यवस्थापनको विषयमा पनि सिक्ने मौका पाएको बताए।

२० भदौ, २०८०, १५:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।