फिल्म समीक्षा : एसीको चिसो हावा खाँदै हलमा सुत्न चाहनेका लागि उत्तम फिल्म ‘जय हो’
काठमाडौं : ‘सलोन बस्नेत एकल हिरोका लागि बनेका कलाकार होइनन्, अनि उनी मुल पात्र पनि होइनन् जब सहायक पात्रमा अभिनय गर्छन् तब मात्र हिट हुन्छन्’ भन्ने भ्रम मात्रै हो भन्ने पुष्टि फिल्म ‘जय हो’ मार्फत हुन्छ कि भन्ने उनको आशामा तुषारो पर्यो।
यति झुर अभिनय गरेपछि घाम लागोस् पनि कसरी? पर्ने तुषारो नै त हो। सलोनले यतिसम्म झुर अभिनय गर्न सक्छन् भन्ने प्रमाणका लागि पनि संग्रहणीय फिल्म बनेको छ जय हो।
उनले अभिनय गरेका फिल्महरू हेर्ने हो भने आफ्नै बाबु निर्माता रहेको फिल्म ‘जय हो’ मा भन्दा निकै राम्रा काम गरेका छन्।
आफ्नै घरको कथामा एकाएक अभिनय क्षमता खस्कनुमा उनले कि ‘ह्या! आफ्नै घरको फिल्म त हो नि’ भनेर हेलचेक्य्राइँ गरे या निर्देशक टेक पौरखी राई कमजोर परे।
फिल्म ‘डाँडाको बर पिपल’ सुपर फ्लप भएपछि निर्देशकबाट एक कदम पछि हटेर निर्मातामा नाम राखे पनि फिल्म हेर्दा पुरै उनै शोभित बस्नेत फ्लेवरको देखियो। यसले शंका पनि जन्मायो कतै दर्शक झुक्याउन निर्देशकमा राईको नाम राखेर काम जति सबै शोभितले त गरेका हैनन्?
फोटोग्राफर र घुमन्तेको भेटबाट अगाडि बढ्ने प्रेम सम्बन्ध अनि बीचमा आउने ट्विस्टकै वरिपरी फिल्म घुमेको छ।
फिल्ममा वाह! भन्नैपर्ने पक्ष भनेको पहिलो हाफमा देखिने मुस्ताङका दृष्यहरू नै हुन्। दोस्रो हाफमा फिल्ममा केही ट्विस्ट आउँछ तर मजा आउँदैन दर्शकलाई।
सजिना बनेकी केकी अधिकारी, सजिनाको पहिलो प्रेमी अशोक बनेका अर्पण थापा अनि फोटोग्राफर जय बनेका सलोन तीनै जनाको अभिनय मध्यम छ।
केकीको अभिनय स्थिर छैन। कतैकतै ठीकै अभिनय गरेकी उनको ओभर एक्टिङले किरकिर बनाएको छ फिल्म। प्राय फिल्म हिट होस् या फ्लप आफ्नो भागमा परेको पात्रको अभिनयमा अन्याय नगर्ने छवि बनाएका अर्पण पनि ‘जय हो’ को अभिनयमा फिक्का देखिए।
अर्पणको सट्टा जुनसुकै सामान्य कलाकारले उनको भुमिका निर्वाह गर्नसक्ने स्तरको अभिनय देखियो। अर्पण नै त्यो पात्रमा छानिनु पर्ने कुनै कारण देखिएन्।
सम्बन्धमा उत्पन्न मानसिक द्वन्द्व दर्शकले अनुभव गर्न कलाकारको डायलगभन्दा भाव बढी प्रभावकारी हुन्छ। घरायसी किचकिच अनि ब्रेकअपबाट अल्कोहलिक बनेकी सजिना मानसिक तनावमा छिन् भनेर बुझ्न डायलगकै भर पर्नुपर्छ दर्शकले।
कलाकार चयन गर्दा कि गतिलो मेकअप आर्टिस्ट राख्न सक्नुपर्छ कि उमेर मिलाउन सक्नुपर्छ भन्ने गतिलो उदाहरण पनि हो सलोन र केकीको जोडी। केकीका लागि कपडा छान्ने कस्ट्युम डिजाइनरलाई नै वर्षको सबैभन्दा निकृष्ट कस्ट्युम डिजाइनरको उपाधि दिए फरक नपर्ला।
फिल्मले रुवाउन खोजेको ठाउँमा दर्शक हाँस्छन्। हाँस्नुपर्ने ठाउँमा निरास। फिल्मको कथासँगै दर्शकलाई बगाउन नसक्नु निर्देशकको सबैभन्दा ठूलो कमजोरी हो।
फिल्मलाई म्युजिकल फ्लेवर दिन होला टन्नै गीत राखिएको छ। तर एक गीत बाहेक बाँकी गीतले फिल्मलाई कमजोर बनाउन उत्तिकै सघाएका छन्। दर्शकलाई मनोरञ्जन होइन दिक्क लगाउन सघाएका छन् गीतहरूले।
फिल्मलाई थप झुर बनाउन ब्याकग्राउन्ड म्युजिकले पनि उत्तिकै योगदान दिएको छ।
मुस्ताङ नपुगेका, जान मन लागेको तर अल्छी लागेर नगएका वा सस्तैमा मुस्ताङ हेरिहालौं न त भन्नेहरूका लागि जय हो फिल्म उत्तम विकल्प हो। गर्मी छल्न चाहनेका लागि पनि यो फिल्म उत्तमै हुन्छ। हलको एसीको चिसो हावा खाँदै सुत्न कपास लैजान चैं नबिर्सनु।
भदौ १०, २०८० आइतबार ११:२७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।