एनआरएन विश्व सम्मेलन उच्चस्तरीय समिति गठन गर्न परराष्ट्रमन्त्री साउदको निर्देशन

एनआरएन विश्व सम्मेलन उच्चस्तरीय समिति गठन गर्न परराष्ट्रमन्त्री साउदको निर्देशन

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले अक्टोबरमा हुने गैर आवासीय नेपाली सङ्घको विश्व सम्मेलन आयोजनाका लागि मन्त्रीस्तरीय उच्चस्तरीय आयोजक समिति बनाउन निर्देशन दिएका छन्।

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीसहितको टोलीलाई उनले शुक्रवार यस्तो निर्देशन दिएका हुन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा डा केसीले आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी तथा निजी संघसंस्थासहितको उच्चस्तरीय आयोजक समिति गठनका लागि अनुरोध गरेका थिए।

उनको आग्रहपछि परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय आयोजक समिति बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित महाशाखालाई निर्देशन दिने बताएका थिए।

गैर आवासीय नेपाली सङ्घको सम्मेलनमा सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन हुने गरेको छ।

बैठकमा केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, पूर्व सल्लाहकार टिबी कार्की, सङ्घका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत लगायत सहभागी थिए।

८ भदौ, २०८०, २२:३८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।