धरानमा २४ घण्टे निषेधाज्ञा

धरानमा २४ घण्टे निषेधाज्ञा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ।

शुक्रबार मध्यराति १२ बजेदेखि शनिबार मध्यराति १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले धरानमा निषेधाज्ञा जारी गरेको हो।

डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेकाले प्रशासनले संक्रमण नियन्त्रणमा नआउन्जेल ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिससमेत गरेको छ। 

धरान उपमहानगरपालिका क्षेत्र धार्मिक–साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्तिसुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन, २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेध आदेश दिएको पत्रमा उल्लेख छ। 

अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला, जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न-नगराउन प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा हस्ताक्षरित पत्रअनुसार धरानको पश्चिममा बराहक्षेत्र १ मा पर्ने झन्डा चोकदेखि धरान क्षेत्र, पश्चिम–दक्षिण रामधुनी ६ बाट बराहक्षेत्र ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी २० तरहरा पानीपियादेखि उत्तर धरानक्षेत्र, पूर्वीतर्फ धरान ५ प्रवेश गर्ने केराबारीबाट धरानक्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सो किसिमका गतिविधि गर्न पाइनेछैन।

निषेध आदेशविपरीत कार्यक्रम गरे वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

पछिल्लो समय धरानमा गोरुको मासु खाएको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै पहिचान पक्षधर र हिन्दु पक्षधरबीच विवाद सुरू भएको छ। शनिबार धरानमा श्रीवैशणव परिषद् नेपाल, विश्वहिन्दु परिषद नेपाल, समग्र वैदिक सनातन समुदायलागयतले गोरक्षा शान्ति र्याली गर्ने तयारी गरेको थियो।

८ भदौ, २०८०, १७:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।