एसिया कप : नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनु उपलब्धि कि अवसर!

एसिया कप : नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनु उपलब्धि कि अवसर!

काठमाडौं : नेपाली क्रिकेट टिमले आगामी हप्ता अर्को इतिहास रच्दैछ। पहिलो पटक एसिया कप खेलेर। त्यो पनि भारत र पाकिस्तान विरुद्ध। 

भारत र पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमसँग नेपालले खेल्न लागेको यो नै पहिलो अवसर पनि हो। जुन नेपाली क्रिकेटको लागि अर्को रेकर्ड हो।

नेपालले आगामी बुधबार एसिया कपको उद्घाटन खेलमै पाकिस्तानको सामना गर्नेछ भने पाँच दिनपछि नेपालको भेट भारतसँग हुनेछ।

हुन त नेपाली क्रिकेटको लागि भारत र पाकिस्तानसँग खेल्न पाउनु नै एक उपलब्धि हो। तर मैदानमा भने खेलाडीहरूले यसलाई उपलब्धिभन्दा पनि अवसरको रुपमा सोचेर खेल्न जरुरी हुन्छ।

एसिया कपको यो १६ औं संस्करण एकदिवसीय (५० ओभर) को फर्म्याटको छ। क्रिकेटमा फर्म्याट जति लामो भयो त्यसले त्यति धेरै खेलाडी र टिमको स्तर देखाउँछ भन्ने गरिन्छ। त्यसैले नेपाललाई भारत र पाकिस्तानसँग एकदिवसीय खेल खेल्न सहज नहुने पक्का छ।

गत महिना भएको इमर्जिङ एसिया कपमा यी दुवै देशको ‘ए’ टिमसँगको नेपालको प्रदर्शनले नै यो देखाइसकेको छ। दुवै टिम विरुद्ध नेपालले २०० रन कटाउन सकेको थिएन भने दुवैले सजिलै लक्ष्य पुरा गरेका थिए।

अबको भिडन्त त झन् प्रमुख टिमसँग हो। हुन त भारत र पाकिस्तानको क्रिकेट स्तर हाम्रोभन्दा धेरै माथि छ ; इतिहास, प्रदर्शन, संरचना, कमाइ, लगानी, एक्सपोजर, वरियता, उपाधि आदि सबै हिसाबले।

त्यसैले पनि नेपाली टिम र समर्थकले यी दुई टिमसँग खेल्न पाउनुलाई नै नेपाली क्रिकेटको उपलब्धि मानेका छन्। तर खेल हो। कुन दिन के हुन्छ भन्न सकिंदैन।

नेपालले हराइरहने एशोसिएट टिम यूएईले गत साता मात्रै टी-२० क्रिकेटमा न्युजिल्यान्ड जस्तो महारथी टिमलाई ७ विकेटले हरायो। आयरल्यान्डले पनि यसै साता सम्पन्न टी-२० सिरिजमा भारतलाई राम्रै टक्कर दियो।

नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि ठूला टिमसँग खेलेको भनेको दुई महिना अघिको एकदिवसीय विश्व कप छनोट नै हो। जहाँ जिम्बावे र वेष्ट इण्डिजसँग नेपालले राम्रै खेल देखाएको थियो।

नेपालकै स्तरको नेदरल्याण्ड्सले भने वेष्ट इण्डिजलाई मात्र हराएन जिम्बावे र वेष्ट इण्डिजलाई पछि पार्दै विश्व कपका लागि छनोट पनि भयो। 

क्रिकेटमा यस्ता धेरै उदाहरण छन् जहाँ तुलनात्मक रुपमा कमजोर मानिएका टिमले बलिया टिमलाई हराएर विश्वलाई नै चकित पारेका छन्।

कमसे कम नेपालले पनि भारत र पाकिस्तानसँग सम्मानजनक खेल भने देखाउन जरुरी छ। दुवै टिमविरुद्ध प्रतिस्पर्धात्मक खेल देखाउन भने सक्नुपर्छ। 

‘हरेक खेलले कथा लेख्नेछ। हरेक खेलको नयाँ पाटो हुनेछ,’ नेपाली टिमका भारतीय प्रशिक्षक मोन्टी देसाइले एसिया कपका लागि जानुअघि भनेका थिए, ‘हामीमा उत्साह छ। विश्वकप छनोटमा पनि हामीले राम्रो खेलेका हौं। एसिया कपमा पनि राम्रो खेल्छौं।’

उता एसिया कप खेल्न जानुअघि नेपालका कप्तान रोहित पौडेलले पनि भारत र पाकिस्तानसँगको खेल नेपाली क्रिकेटलाई विश्व सामु चिनाउने अवसर रहेको बताएका थिए।

नेपालको एसिया कप यात्रा

काठमाडौंमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल २१ वर्षपछि एसिया कपमा छनोट भएको थियो। फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै एसियाली क्रिकेटका महारथी राष्ट्रहरूले खेल्ने एसिया कपमा नेपालले पहिलो पटक खेल्ने अवसर पाएको हो। 

नेपाल यसअघि सन् २००२ मा पनि एसिया कपका लागि छनोट भएको थियो। तर त्यो बेला भारत र पाकिस्तानको विवादका कारण एसिया कप नै भएन। त्यसैले एसिया कपमा दोस्रो पटक छनोट भए पनि नेपालले खेल लागेको भने यो पहिलो अवसर हो।

यसमाथि पनि एशोसिएट राष्ट्र नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएका कारण नेपाली टिम र समर्थक अझ बढी उत्साहित छन्। 

कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भएका थिए।

जहाँ अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दुवै समूहका शीर्ष दुई टिम सुपर फोरमा प्रवेश गर्नेछन् भने सुपर फोरबाट दुई शीर्ष टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्ने छन्।

८ भदौ, २०८०, १०:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।