मसिना खड्काको हिजोका कुरा : सात दिनको सुत्केरी व्यथाले बेहोस हुँदा मरी भनेर कपडै किनेछन्, छिमेकी बित्दा त्यसैले काम चलाए

मसिना खड्काको हिजोका कुरा : सात दिनको सुत्केरी व्यथाले बेहोस हुँदा मरी भनेर कपडै किनेछन्, छिमेकी बित्दा त्यसैले काम चलाए

वि. सं. २०१४ सालमा रामेछापको बेथानमा जन्मिएकी हुन् मसिना खड्का। १४ वर्षकै उमेरमा विवाह भएर जिल्लाकै अर्को गाउँ खनियाँ पानी पुगिन्। खनियाँ गाउँपालिकाकै स्थानीय मसिनाले जीवनमा थुप्रै तीतामीठा अनुभव बटुलेकी छन्। ६६ वर्षीया उनले चार सन्तानलाई जन्म दिइन्। तर बाँचे त केबल दुई। आफ्नो जीवनमा भोगका विभिन्न अनुभवलाई मसिनाले उकेराको कोलम ‘हिजोका कुरा’मा यसरी साटेकी छन्।

‘बाल्यकालमा पढ्नै मन लागेन, ठूली भएपछि पाइएन’
बेथानमा माइती भएकी मसिना मध्यम वर्गीय परिवारमा हुर्किइन्। त्यो समयमा धेरै बालबच्चा जन्माउनुपर्छ भन्ने मान्यता भए पनि उनका भने धेरै दाजुभाइ दिदीबहिनी भएनन्। उनका बुवाआमा उनी र उनका दाइ गरी दुई मात्र सन्तान।

सानै छँदा मसिनालाई पढाइमा खासै चासो लागेन। पढ्नुपर्छ भन्ने थाहा पाउने बेलासम्म घरको काम र अन्य कारणले पनि पढ्ने वातावरण मिलेनछ। तर, पछि प्रौढ शिक्षा भने उनले पढिन्।

‘दाजुले त्यो बेला नै पढ्नुभयो। म पढ्छु भन्दाभन्दै समय मिलेन,’ उनले विगतका कुरा सम्झँदै भनिन्, ‘त्यो बेलामा घरमा पढ्ने भन्दा पनि काम गर्नुपर्छ भन्ने चलन थियो। पछि गाउँमा प्रौढ शिक्षा आएपछि अहिले छोराछोरीलाई फोन गर्नसक्ने सम्म भएको छु।’

मसिनाको कलिलै उमेर १४ वर्षमा विवाह भयो। उनका अनुसार त्यो समयमा विवाह गरेपछि तीन महिना माइतै बस्नुपर्ने चलन रहेछ। विवाह भएको तीन दिनमै माइती आएको उनलाई राम्रोसँग सम्झना छ।

‘म घरकी एउटी छोरी भएकोले विवाह गर्ने मनसाय नै थिएन,’ उनले भनिन्, ‘बुबा आमाले छोरी भएपछि चाँडै बिहे गर्नपर्छ भनेर सम्झाएपछि गरेँ। मेरो बिहेमा १४ हजार खर्च भएको थियो।’

विवाह भएको तीन महिनामा फर्कनुपर्ने भए पनि उनी साढे तीन वर्षसम्म माइतै बसिन्।

‘एक्ली छोरी भएर के–के गरेर बसेको थिएँ माइतमा, यता घर आएपछि त धेरै कष्ट भयो,’ उनले स्मरण गरिन्, ‘मेरो ससुराबाका १५ जनाको ठूलो परिवार थ्यो।’

गोडा नमिचे बोलचाल बन्द
घरमा दुई जना दाजुबहिनी मात्र बसिरहेकी मसिनालाई १५ जनाको परिवारमा मिसिँदा त्यहाँको वातवरणमा घुलमिल हुन साह्रै कठिन भएछ। खाना पकाउने र घरको धन्दा गर्दैमा समय बित्ने उनी सम्झन्छिन्।

‘घरमा दुई दाजु बैनी मात्रै भएको हामी यता घर आउँदा १५ जनाको परिवार थियो। सबैलाई खाना पकाउने खुवाउने काम गर्दागर्दै समय बित्थ्यो,’ उनले भनिन्, ‘त्यति गरेपछि सासु आमालाई गोडा मिचिदिने गर्नुपथ्र्यो नत्र १५ दिनसम्म बोलचाल बन्द हुन्थ्यो।’

आफ्नो समयमा ससुराभन्दा सासु निकै कडा स्वभावको हुने गरेको उनले बताइन्। समय परिवेशअनुसार भएको हुनसक्ने उनको बुझाइ छ।

‘दिनभरि काम गरेर साँझमा घर फर्किएपछि एक डोको मकै नङ्ग्याउने, छोडाउने अनि जाँतोमा पिस्ने गर्नुपथ्र्यो,’ उनले भनिन्, ‘यति गरेपछि १५ जनाले खाएको थाल भाँडा माझेर फेरि डोकोमा गाग्री हालेर घरबाट निकै तल कुवामा पानी लिन जानुपर्थ्यो। गाग्रीका लाइका कारण त्यहि डोकोमा सुत्थेँ।’

आफूले  सुत्ने भनेको पानी भर्न जाँदा आधा घण्टा मात्रै पाएको उनले सुनाइन्। अरु बेला सुत्ने समयसमेत नहुने उनको भनाइ छ। दैनिक २०–२१ गाग्री पानी बोक्नुपर्ने र त्यहि पानीले १५ जनाको परिवार, पाँच वटा भैँसी, दुई हल गोरी र दुई वटा घोडालाई पुर्याउनेपर्ने उनको अनुभव छ।

उनका अनुसार धान ढिँकीमा र मकै जाँतोमा पिस्नुपर्ने हुन्थ्यो उबेलामा। अहिलेको समय त स्वर्गको समय आएको उनी बताउँछिन्। चामलको भात खानका लागि दशैंतिहार र तिथीश्राद्ध कुनुपर्ने समय भएको थियो भन्छिन् उनी।

‘मेरो श्रीमान्ले कहिलेकाँही खसी काट्नुहुन्थ्यो,’ उनले विगतका घटना सुनाउँदै भनिन्, ‘खसी घरमा काटेपछि धानको चामलको भात पकाउनुपर्ने हुन्थ्यो। उहाँले खसी काट्नु भो भनेर मेरो सासु ससुरा रिसाउनुहुन्थ्यो।’

उज्यालो हुँदा दैलो पोत्यो भनेर रिसाएर सासुआमा आफैँले काम गर्न थालेको खड्का बताउँछिन्।

‘उज्यालो भएर दैलो पोत्न दिनुहुँदैन थियो,’ उनले भनिन्, ‘उज्यालो भएर दैलो पोत्यो भनेदेखि पोतो खोसेर आफैँ पोत्नु हुन्थ्यो। काम गर्दागर्दै उज्यालो भइहाल्थ्यो कसरी भ्याउनू।’

ढिकी ढुकेर बस्थिन् सासु
दशैं सुरु भएपछि ढिकीमा चिउरा कुट्नुपर्ने र त्यसका लागि सासुले ढुकेर बस्ने गरेको उनले सुनाइन्।

‘दशैंमा चिउरा कुट्नुपर्थ्यो, यति नै कुट्ने भन्ने त हुँदैनथ्यो। तर, हाम्रोमा त निकै कुटिन्थ्यो,’ उनले सम्झिइन्, ‘मेरो सासुआमा बुहारीहरूले खान्छन् भनेर घान हाल्ने ठाउँमा बसेर डालामा चिउरा राख्नुहुन्थ्यो। हामीलाई त छुन पनि दिनुहुन्न थियो, खाने त परै जाओस्।’

पहिलाको तुलनामा अहिले समय निक्कै परिवर्तन भएको उनको अनुभव छ। केही सासुले अहिले पनि बुहारीहरूलाई पुरानै शैलीको शासन गर्ने गरेको उनलाई कत्ति पनि मन परेको छैन रहेछ।

उनले भनिन्, ‘अहिले पनि कतिपय सासुहरूले बुहारीलाई पुरानै शैलीको खटन गर्न खोजेको देख्छु। ऊ पनि त आफ्नै छोरी जस्तै हुन् कि हैन र? उसको आमाबुबा छोडेर आएका छन्। त्यसरी शासन लगाउनु हुन्छ र?’

कान्छी देउरानी आएपछि...
सासुबाट निकै पेलानमा परेको बताउनले मसिनाले भाइबुहारी आएपछि अलिक हल्का भएको बताइन्। उनी छ भाइमध्येकी काइली बुहारी थिइन्।

उनले सुनाइन्, ‘घरमा कान्छी देउरानी आएपछि अलिक हल्का भयो। उनले सासुलाई त गन्दै नगन्ने। खाना पनि मीठो भएन भन्ने। यस्तो खानेकुरा त हाम्रो गाई भैँसीले खान्छ भन्न थालेपछि सासुआमा अलिक नरम हुनुभयो।’

मेरा लागि ल्याएको सामान छिमेकी बितेपछि दिए
२०३५/३६ सालतिर पनि गाउँमा स्वास्थ्य चौकीहरू थिएनन्। प्रसव पीडा भएका गर्भवती महिलाहरू लामो समयसम्म व्यथा सहेर घरमै थलिएर बस्नुपर्थ्यो। माइलो छोरा जन्मिने बेलामा मसिनालाई असाध्यै गाह्रो भएछ। सात दिनसम्म व्यथा नै लागेको बताउँछिन् उनी।

उनले भनिन्, ‘मेरो माइलो र साइलो छोरा जन्मिने बेलामा मलाई निकै गाह्रो भएको थियो। जण्डिसले पनि थलिएको थिएँ। माइलो छोरा जन्मिने बेलामा म सात दिनसम्म घरमै व्यथा लागेर बेहोसी भएछु। मलाई केहि पनि थाहा छैन। घरकाले अब यो मरि भनेर कपडासमेत किनेर ल्याइसकेछन्। पछि छिमेकी बितेपछि उतै लगेर दिए।’

व्यथा लागेको सात दिनपछि बच्चा जन्मिएपछि आफ्नो होस खुलेको उनले बताइन्।

‘त्यो समयमा न डाक्टर, न वैद्य। बच्चा जन्माउने समयमा घरमा नै भइन्थ्यो। अहिलेको जस्तो हस्पिटल पनि थिएनन्,’ उनले पीडा सम्झँदै भनिन्, ‘बच्चा जन्मिन नसकेर धेरैको मृत्यु हुन्थ्यो। मैले पनि दुई सन्तान गुमाएँ। सायद हस्पिटल भइदिएको भए बाँच्थे कि!’

७ भदौ, २०८०, १७:१४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।