महिला हवल्दारलाई ‘आज गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीमाथि थप छानबिन

महिला हवल्दारलाई ‘आज गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीमाथि थप छानबिन

काठमाडौं : नेपाल प्रहरीका महिला सहायक हवल्दारलाई ‘गुड फ्राइडे मानाऔं’ भन्ने प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी योगबहादुर पालमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले टोली परिचालन गरेको छ। 

आफ्नै कार्यलयमा कार्यरत महिला हवल्दारमाथि यौन हिंसा गरेको आरोप लागेका पालमाथि थप कारबाहीका लाथि छानबिन तथा अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली खटाएको बतायो। 

प्रहरी प्रधान कार्यालय स्रोतका स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा एक महिला डीएसपीसहितको टोली सूदरपश्चिमको कंचनपुरको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा पठाइएको छ।

उक्त टोलीले पीडित महिला प्रहरीसँग घटनाबारे सोधपुछ गर्नुका साथै उक्त कार्यालयका अन्य व्यक्तिसँग समेत सोधपुछ गरेको छ।

समितिले छानबिन प्रतिवेदन बुझाएपछि सोही अनुसार एसएसपी पाललाई कारबाही गरिने प्रहरी प्रधान कार्यलयले जनाएको छ। 

एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि त्यतिबेलै प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो। 

घटनाबारे थप बुझ्न भन्दै पाललाई प्रहरी प्रधान कार्यालयमा समेत झिकाइएको थियो। जसक्रममा उनीबाट गल्ती भएको पाइएपछि प्रहरी प्रधान कार्यालयको सिफारिसरमा उनी निलम्बनमा परेका थिए। 

के थियो घटना ?

घटना जेठ १९ गतेको हो। एक महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। 

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिएका थिए।

त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भनेका थिए, ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाऔं।’

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्यूटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना बाहिर आएको थियो।

प्रहरीमा फेल, राअविमा भर्ती, फेरि प्रहरीमै छिरेर संगठनकै बद्नामी 

अहिले आरोप लागेका एसएसपी पालले सुरुमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुन फाराम भरेका थिए।  तर उनी परीक्षामा उत्तीर्ण हुन सकेनन्।

त्यस बेला ‘कार्यकर्ता भर्तीकेन्द्र’ बनेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा पहुँचको आधारमा उनी इन्स्पेक्टर बनेका थिए। 

राष्ट्रिय अनुसन्धान विभागबाट उनी प्रहरीमै छिरे।  चलखेलबाट नेपाल प्रहरीको इन्स्पेक्टर बन्न सफल भएका उनी विवादबाट जोगिन भने सकेनन्। महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा उनी कारबाहीमै परेका थिए। 

उनी प्रहरी संगठनमा पटक–पटक विवादमा आइरहने अधिकृतमा पर्छन्। कार्यसम्पादन समेत कमजोर रहेका पाल पटक–पटक विभागीय कारबाही भोगेका अधिकृत हुन्। 

गम्भीर फौजदारी आरोप लाग्दा समेत विभागीय कारबाही गरेर फौजदारी कारबाहीबाट जोगिएका पाललाई यो पटक भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेर जोगाउँछ वा फौजदारी मुद्दा चलाउँछ, त्यो भने हेर्न बाँकी छ।

७ भदौ, २०८०, १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।