चिनियाँ ‘अपराधी’सँग काठमाडौं र काभ्रेको नागरिकता र राहदानी, किर्तेमा नि अनुसन्धान

चिनियाँ ‘अपराधी’सँग काठमाडौं र काभ्रेको नागरिकता र राहदानी, किर्तेमा नि अनुसन्धान

काठमाडौं : सुन तस्करीको अनुसन्धानको क्रममा पक्राउ परेका चिनियाँँ नागरिकबाट प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेपछि किर्तेमा समेत अनुसन्धान गर्ने भएको छ।

चिनियाँ नागरिकसँग जिल्ला प्रशासन कार्यालय काठमाडौं र काभ्रेबाट जारी भएको नागरिकता र राहदानी फेला पारेको छ। यसले चिनियाँ आपराधिक समूहका सदस्यहरूको प्रशासन तहसम्म बलियो सञ्जाल भएको देखिन्छ।

प्रहरी प्रवक्ता कुबेर कडायतले सुन तस्करीको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी फेला परेको पुष्टि गर्दै प्रहरीले त्यसबारे समेत अनुसन्धान गरिरहेको बताए।

‘चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी रहेको खुलेपछि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘यसमा सरकारी दस्तखत, छाप किर्तेमा कारबाही अगाडि बढ्छ।’ 

काठमाडौंदेखि काभ्रेसम्मको नागरिकता

पक्राउ परेकामध्ये ली वेनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता र राहदानी लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानमा पुष्टि भएको छ।

सुन तस्करीको आरोपमा पक्राउ परेका चिनियाँ र भियतनामी नागरिकले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नेपाली नागरिकता र राहदानी निकालेको यस अगाडि नै सार्वजनिक भइसकेको छ। गिरोहका नाइके देखिएका दावा छिरिङले काभ्रेबाट निमा तामाङको नाममा नागरिकता र पासपोर्ट बनाएको पुष्टि भइसकेको छ।

तिब्बती मुलका दावाको साथमा बेल्जियमको राहदानी फेला परेको पहिल्यै हो। उनले २०७४ पुस २० गते काभ्रेको नमोबुद्ध-११ ठेगाना राखेर नागरिकता र राहदानी लिएका थिए।

उनले २०१८ अगष्ट १५ मा बेल्जियम राहदानी निकालेको देखिन्छ। सो राहदानीको म्याद २०२५ सम्म छ। उनको नाममा २०२३ मा बनाएको अर्को राहदानी हिमालले सार्वजनिक गरेको थियो, जसको मिति २०३० सम्म छ।

दुवै राहदानीमा रहेको उनको हस्ताक्षर मिल्छ। उनले काभ्रेबाट वंशजको आधारमा नागरिकता र राहदानी बनाएको खुल्छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले यसबारे जानकारी पाए पनि अनुसन्धान प्रक्रिया भने अगाडि बढाएन।

उकेराको खोजमा उनी मात्र होइन, उनले आफू निकट चिनियाँलाई समेत काभ्रेपलान्चोकबाटै नेपाली राहदानी बनाइदिएको पुष्टि भएको थियो।उकेराले प्राप्त गरेको प्रमाण अनुसार चिनियाँँ नागरिक बिङचिङ देङले काभ्रेबाटै नेपाली नागरिकता र राहदानी बनाएका छन्।

उनले नेपाली नाम तेन्जिङ गुरूङ राखेका छन्। राहदानीमा उनको नेपाली नागरिकताको नम्बर ११००४२५ देखिन्छ। उनको नाममा नेपाली राहदानी २०२० फेब्रुअरी २४ मा बनेको देखिन्छ, जसको म्याद २०३० सम्म छ।

उनको चिनियाँँ राहदानी २०१० मा जारी भएको देखिन्छ। नेपाली राहदानीमा ठेगाना काभ्रे राखिएको छ भने चिनियाँँ राहदानीमा ठेगाना फुजियान राखिएको छ।

दावा र उनको आपराधिक समूहबारे प्रहरीले पहिलो पटक जानकारी पाएको होइन। २०७६ मै दावा समूहबारे प्रहरीले जानकारी पाएको थियो। यसबारे जिल्ला प्रशासन कार्यालय काभ्रेमा जानकारी गराए पनि हालसम्म पनि प्रशासनले चिनियाँ नागरिकले निकालेको नेपाली नागरिकता र राहदानीबारे कुनै अनुसन्धान गरेको देखिएन।

दावाले आफ्नो समूहका अर्का सदस्य चिनियाँ नागरिक ली नेनकाईलाई सोनाम लामाको नाममा र डिङ सी फालाई राम लामा बनाएर काभ्रेबाटै नेपाली नागरिकता र राहदानी निकालिदिएको सीआईबीको अनुसन्धानमा खुलेको छ।​​​​​​

प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिक तियान मी र वेन तोङसँग पनि काभ्रेबाट जारी भएको नेपाली नागरिकता र राहदानी प्रहरीले फेला पारेको छ।

चिनियाँ नागरिक मात्रै हैन भारतीय नागरिकहरूले समेत नेपालमा सहजै नेपाली नागरिकता लिने गरेको यस अगाडिको घटनामा पुष्टि भए पनि यसरी गैर नेपालीलाई नागरिकता दिने जिम्मेवार अधिकारी कारबाहीको दायरामा नआउँदा यो क्रम रोकिएको देखिएन।

यस अगाडि भारतको नर्थइस्टका विद्रोही नेता निरन्जन होजाइसँग नेपाली नागरिकता फेला परेको थियो। सरकारले हालै होजाइले नेपाली नागरिकता प्रयोग गरेर नेपालमा जोडेको सम्पत्ति जफत गरेको थियो।

अमला रोका अनुसन्धान बाहिरै

सुन तस्करीका मुख्य योजनाकार देखिएका दावा छिरिङले नेपाली महिला अमला रोकासँग विवाह गरेर नेपालमा बसेका थिए। सुन तस्करीमा प्रयोग भएको सवारीसाधन अनि योजना बनाउन प्रयोग भएको होटल उनै रोकाको नाममा रहेको छ।

तर सीआईबीले अमलालाई अनुसन्धानको दायरामै ल्याएको देखिएन। राजश्व अनुसन्धान विभागले छापा मारेर फेला पारेको सुन गाल्ने मेसिनहरू उनै अमलाले नेपाल ल्याएको खुलिसक्दा पनि उनी औपचारिक रुपमा अनुसन्धानको दायरामा आएकी छैनन्।

दावालाई माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध विस्तार गराएर राजनीतिक संरक्षण दिलाउन अमलाले महत्वपूर्ण भूमिका खेलेको सार्वजनिक भइसकेको छ।

अमला र माओवादी नेता वर्षमान पुन तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन परिवारबीच गहिरो सम्बन्ध रहेको समेत सार्वजनिक भइसकेको छ। यो केवल पारिवारिक सम्बन्ध मात्रै हो या सुन तस्करीमा समेत संलग्नता छ भन्ने पाटोमा समेत अनुसन्धान भएको देखिएन।

महरा बाबु-छोराको बयान भएन

केही सीमित सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटघाटमा प्रधानमन्त्री पुष्पकमल दाहालले नौ किलो सुन तस्करीमा जोडिएका कृष्णबहादुर महरा अनि उनको छोराको बयान एक/दुई दिनमै हुने बताएको समाचार सार्वजनिक भएको थियो।

भेट भएको तीन दिन बितिसक्दा पनि सीआईबीले महरा बाबु-छोरालाई बोलाएर बयान लिएको छैन। भेपको आवरणमा विमानस्थलमा आएको नौ किलो सुन तस्करीमा जोडिएका चिनियाँ तस्करसँग महरा बाबु-छोराको बाक्लो सम्पर्क खुलिसकेको छ।

कृष्णबहादुर महराले ती चिनियाँलाई फलफूल व्यापारीको रुपमा चिनेको र फलफूलकै बारेमा पटक-पटक कुराकानी भएको अपत्यारिलो तर्क गरिरहेका छन्।

यो पनि

३ भदौ, २०८०, ०९:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।