जीवी समूहको सूर्यदर्शन सहकारीका सञ्चालक फरार रहेको भन्दै प्रहरीले निकाल्यो सूचना, बचतकर्तालाई जाहेरी दिन आग्रह

जीवी समूहको सूर्यदर्शन सहकारीका सञ्चालक फरार रहेको भन्दै प्रहरीले निकाल्यो सूचना, बचतकर्तालाई जाहेरी दिन आग्रह

कास्की : पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध बचतकर्ताहरूले प्रहरीमा उजुरी दिएका छन्। सहकारीमा रहेको बचत फिर्ता नभएको भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।

सहकारीका सञ्चालक फरार रहेको भन्दै प्रहरीले सूचना नै निकालेको हो।

पोखरा महानगरपालिका वडा नम्बर ४ नालाकोमुखमा रहेको सहकारीका  सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना नै निकालेको छ।

प्रहरीले निकालेको सूचनामा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाएका र प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहेकाहरूलाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित जाहेरी दिन भनिएको छ। प्रहरीले भदौ १५ गते भित्र उजुरी दिन आग्रह गरेको छ।

जीवी राई समूह संलग्न सबै सहकारी संकटमा 

यो सहकारी ग्यालेक्सी टेलिभिजनका प्रमुख जीवी राई समूहले सञ्चालन गरेको सहकारी हो। यसको अध्यक्षमा थानबहादुर बुढा छन्। यसको कोषाध्यक्षमा जीवी निकट कुमार रम्तेल छन्।

जीवीले सहकारी सुरु गरेको यही सहकारी हो। सो सहकारीले एक वर्षदेखि बचतकर्तालाई रकम फिर्ता नदिएको भन्दै विवाद हुँदै आएको छ। बचतकर्ताहरूले जीवीको नामै लिएर पैसा नदिएको गुनासो गर्दै आएका थिए।

उनीहरू समस्या समाधानका लागि काठमाडौँमै आएर भेटे पनि समस्या समाधान नभएपछि प्रहरीमा उजुरी दिएका थिए। सूर्य दर्शनमा बचतकर्ताहरूको एक अर्ब माथिको बचत रहेको छ।

उता बारा प्रहरीले बैङ्किङ कसुरमा जीवी संलग्न सात कम्पनीको कारोबार रोक्का गराउन कम्पनी रजिष्टारको कार्यालयमा पत्राचार गरे पनि सातैवटा कम्पनीको सम्पत्ति रोक्का भइसकेको छ।

जीवी समूह पोखराको सूर्य दर्शनसँगै काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौँमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौँमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन्।

यी सबै सहकारीमा वचतकर्ताले रकम फिर्ता नपाएको भन्दै विवाद हुँदै आएको छ। सबै सहकारीको गरेको १६ अर्ब भन्दा बढि वचतकर्ताको रकम रहेको देखिन्छ। जीवी समूह सहकारीसँगै नेटवर्किङ व्यवसायमा समेत संलग्न छन्। 

१ भदौ, २०८०, २१:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।