आक्रोशसँगै परिवर्तनका गीत रचेका यश कुमारका प्रिय १० सुर : ‘चोट के हो’ गीत सुन्दा अर्कै संसारमा पुग्छु

आक्रोशसँगै परिवर्तनका गीत रचेका यश कुमारका प्रिय १० सुर : ‘चोट के हो’ गीत सुन्दा अर्कै संसारमा पुग्छु

काठमाडौं : नेपाली सांगितिक क्षेत्रमा चर्चित गायक तथा नायक हुन् यश कुमार। उनले दर्जनौं गीतमा शब्द संगीत र स्वर भरिसकेका छन्। उनले गाएका गीतहरूले छुवाछुतविरुद्धका आवाज बोलेका छन्। फिल्म ‘बाटोमुनिको फूल’ लगायत केहि फिल्ममा समेत अभिनय गरेका छन् उनले। उनै गायक तथा नायक यश कुमारले उकेरासँग आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरुका पाँच गीत छानेका छन्।

आफ्ना पाँच
तिम्रो मन बदलिएछ

मन दुख्ने बहाना अलग होलान् तर पीडा त एउटै हो नि! यो गीतमा प्रेमिप्रेमिकाले एकले अर्काको कुरा सुन्नुपर्छ अरुको होइन भन्ने भाव प्रस्तुत गरेको छ। मायाको कुरा मायालाई नै सोध्नुपर्छ। अरुले भनेका ‘रे’ का कुराले माया सम्बन्धमा देखिएका समस्या समाधान गनुपर्छ भन्ने सन्देश गीतले दिएको छ।

रे कै भरमा केटा टाढा भएको र केटीले चाहिँ मलाई आएर किन नसोधेको भन्ने गुनासो गरेको विषयलाई गीतमा समेटिएको छ। जुन मायाको कम्युनेशन मैले बुनेको छु नि यो धेरै गीतमध्ये थोरैमा समावेशी भएको गीत हो। जहिलै र जुनै पुस्ताले पनि रुचाउने गीत भएकाले पनि मलाई असाध्यै मनपर्छ यो गीत। यसमा शब्द र संगीत पनि मेरो आफ्नै छ।

हिजो अर्कै सँग देखे 
जबसम्म यो धर्तीमा मान्छे रहिरहन्छ नि, त्यो दिनसम्म लोभ रहिरहन्छ। मान्छे एक चिजमा कहिल्यै अघाएर बस्न सक्दैन। कि त सन्यासी हुनुपर्यो। यस गीतमार्फत हामीले कुनै प्रेमीले छोड्नै नहुने र गुमाउनै नहुने कुरा छोड्न पुग्छ भन्ने विषय समेटेका छौँ। यथार्थपरक भएकाले मलाई यो गीत मनपरेको हो।

मैले छोएको पानी चल्दैन
नेपाली स्रोतामाझ एकदमै गुन्जिएको गीत हो यो। मलाई यस गीतको शब्द, लय र दिन खोजेको सन्देश असाध्यै मनपर्छ। हाम्रो समाजमा अहिले पनि ठूला जात र साना जात भनेर छुट्याउने चलन छ। यसमा एउटा ठूला जात भनिएका बाहुन समुदायका छोरी र साना जात भनेर छुट्याएका छोराबीचको प्रेमलाई पस्किएको छ।

जहाँ म सानो जात हुँ, तिमीसँग प्रेम गर्न सक्दिनँ भन्ने भाव केटाले भनेको छ। छुवाछुतको विषयलाई आधार मानेर लेखिएको गीत हो। नेपाली समाजको यर्थाथपरक गीत भएकाले पनि यो गीत मलाई मन परेको हो। यस गीतमा शब्द र संगीत पनि मेरै हो।

म आफ्नै आँगनमा इनार बनाउँछु
यो गीत आक्रोशसँगै परिवर्तनको आवाज हो। समाजप्रतिको एउटा व्यङ्ग्य र रुष्ट्रता पनि। जुन अहिले पनि हाम्रो समाजमा यथावत रहेको छ। एउटा सामान्य मान्छेले अर्को संसारको कल्पना गर्न बाध्य बनाएको छ। त्यो पीडा र संरचना छ यो गीतमा अनि विरोध, आन्दोलन र आक्रोश पनि। यहि गीतमा स्रोताका माया, प्रेम, गुनासो सबै खाल्का भाव व्यक्त भएका छन्। यस गीतको शब्द संगीत मेरो आफ्नै नै रहेको छ।

मलाई छुने मेरो हुने अधिकार तिमीलाई मात्र छ 
यो गीत चाहिँ मेरो श्रीमतीको लागि लेखेको गीत हो। कस्तो हुन्छ भने एउटा सेलिब्रेटी भइसकेपछि ऊ सार्वजनिक रूपमा प्रस्तुत हुनुपर्ने हुन्छ। सेलिब्रेटी भइसकेपछि सबैले माया गर्ने अधिकार छ। अर्को कुरा सेलिब्रेटी भइसकेपछि हरकोही नजिक हुन खोज्नुहुन्छ। यसलाई सेलिब्रेटीको जीवनसाथीले कत्तिको स्वीकार्छ भन्नेकुरा महत्वपूर्ण हुन्छ। यो एक हदसम्मको पीडा पनि जीवनसाथीको लागि। यसका लागि शक्ति चाहिन्छ। आफ्नै कथामा निर्माण गरेको हुनाले यो गीत मलाई मनपर्ने गीतमध्ये एक हो।

अरूका पाँच
तिम्रो जस्तो मुटु मेरो पनि 
माया गर्दाखेरि कहिल्यै पनि हामी छुट्नुपर्छ भनेर गर्दैनौँ। धोका हुन्छ भनेर कसैलाई माया गरिँदैन नि! अनि छुटेपछि एकअर्काबीच दोषारोषण गर्ने काम गर्छौँ। गाली गर्छौँ।

तर, यो गीतमा चाहिँ त्यसो नभन न, मेरा आफ्नै बाध्यताहरू छन्। मैले बाँधेको बाचा पूरा गर्न सकिनँ। मेरो आफ्नै जिम्मेवारीहरू थिए। कयौं समस्याहरू म मा थिए तर तिमीसँग माया नभएर होइन। मान्छे भएपछि अनेक जिम्मेवारी बहन गर्नुपर्ने रहेछ। मलाई निष्ठुरी नभन। मैले हिजो गरेको माया अहिले पनि उस्तै छ भन्ने भाव पोखिएको छ।

यस गीतका शब्दहरू एकदमै मन छुने छन् भने संगीत र स्वर पनि उतिकै राम्रा छन्। यसकारण पनि यो गीत मलाई मनपर्छ। यो गीतलाई नारायण गोपालले गाउनुभएको हो भने शब्द संगीत गोपाल योञ्जनको रहेको छ। संगीतमा गोपाल योञ्जनलाई कर्मा योञ्जनले सहयोग गरेका छन्। 

पर्खि बसे आउँला भनि
कोही मान्छे विचारमुखी हुन्छन्, आफ्नो मात्र नभएर अरुका लागि पनि बाँच्ने अनि अरूलाई हँसाएर आफू खुशी हुने टाइपका। कुनै दबाबमा बसिरहेको मान्छेले पाउनुपर्ने अधिकारबाट बञ्चित भएर आफ्नो मायालुलाई पर्खिबसेको भाव गीतमार्फत व्यक्त गर्न खोजिएको छ। यो एउटा स्वाभिमानी मान्छेको कथा हो। यो गीको भाव, शब्द, संगीत र गायन एकदमै राम्रो लाग्छ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ। यस गीतलाई नारायण गोपालले नै गाउनुभएको हो।

चोट के हो व्यथा के हो 
जब कसैप्रतिको विश्वास टुट्छ नि, त्यसपछि सबैसँगको विश्वास गुमाएको प्रेमीको कथा छ यो गीतमा। कसैसँग पनि आशा रहेन। एउटाले दिएको धोकाले अरुप्रतिको विश्वास टुट्नसक्छ। ‘यो खुशी, यो मिलन सोध्दै नसोध’ जस्ता शब्दहरूले मलाई अर्कै संसारमा पुर्याउँछ। यो गीत सुन्दा अर्कै फिल आउने भएकाले यो गीत मेरा लागि प्रिय छ। यस गीतलाई अरुण थापाले गाउनुभएको हो। शब्द सुवास चन्द्र ढुङ्गेल र संगीत गायक थापाकै छ।

हुँ यात्री
मान्छे जुनसुकै लोभमा भएता पनि यात्रा गरिरहन्छ। मान्छे एक ठाउँमा अडिक भएर बस्न सक्दैन। चाहेको कुरा प्राप्तिका लागि उ दौडिरहन्छ। थोरै छ भने धेरै बनाउनका लागि अघि बढि नै रहन्छ। मान्छेले मृत्यु हुनुभन्दा अघिसम्म पनि यो चलिरहन्छ। यात्रा भनेको खोला जस्तै बगिरहनुपर्छ भन्ने भाव गीतले बोकेको हुनाले मलाई यो गीत मनपर्छ। दीप श्रेष्ठले गाउनुभएको गीतमा शुभबहादुर सुनामको संगीत र भैरवनाथ रिमालको शब्द छ।

यहाँ देशको छ चिन्ता 
गायक दीपक लिम्बुले गाउनुभएको यो गीतले देशप्रतिको चिन्ता व्यक्त गरेको छ। एउटा स्वाभिमानी मान्छे, एउटा देशलाई माया गर्ने मान्छे, देशको अवस्था देखेर एकदमै चिन्तित मान्छे र राष्ट्रप्रेमी मान्छेले घरकी श्रीमती होस् या प्रेमिकालाई कहाँ हेरेर बस्नसक्छ भन्ने भाव गीतले बोकेको छ।

सबैभन्दा अघि त राष्ट्र छ भन्ने कुरा गीतले गरेको हुनाले पनि यो गीत मलाई मनपरेको हो। कृष्णहरि बरालको शब्द सुरेश गैरेको संगीत रहेको गीत सुन्दा पनि बेग्लै किसिमको उर्जा प्राप्त हुने भएकाले मलाई यो गीत मनपरेको हो।

१ भदौ, २०८०, १७:४७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।