भन्सार कर्मचारीले बार्गेनिङ गरेको रिपोर्टिङ आइराख्या छ : अर्थमन्त्री महत

भन्सार कर्मचारीले बार्गेनिङ गरेको रिपोर्टिङ आइराख्या छ : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरे। भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको बताए।

'मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ’ उनले भने।

महतले आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि बार्गेनिङ गर्न नहुने बताए।

'मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेको रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ’ उनले भने।

उनले राम्रो काम गर्ने कर्मचारीहरू पनि रहेको र सबैलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्याङ्कन गर्न नहुने र कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्याङ्कन गर्नुपर्ने मन्त्री डा. महतको भनाइ थियो।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको बताउँदै महतले वीरगन्ज भन्सारको उदाहरण दिँदै भने 'त्यहाँ ठुलो एक्स-रे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्काइए राखिएको छ। त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो। अब त्यसरी हुँदैन। अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ।’

उनले इमानदार भएर कर्मचारीले काम गरे सरकारले तोकेको लक्ष्यमा पुग्न सकिने मन्त्री महतले बताए।

‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभाबी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ।’

साउनमा लक्ष्य ८० प्रतिशत पुगेको, गत वर्ष ६० प्रतिशत उठेको भन्दै उनले इमानदार भएर काम गरेमा सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए।

उनले अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने बताउँदै उनले तब मात्र लक्ष्यभन्दा बढी भन्सार राजस्व उठाउन सक्ने र जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए।

‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यावसायिकता, सम्मान र समर्पित हुनुपर्छ' उनले भने' कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन।’

२८ साउन, २०८०, १८:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।