भारतको विदेश मन्त्रालयलाई प्रश्न– पाकिस्तानी क्रिकेट टोलीलाई कस्तो व्यवहार हुन्छ?

भारतको विदेश मन्त्रालयलाई प्रश्न– पाकिस्तानी क्रिकेट टोलीलाई कस्तो व्यवहार हुन्छ?

एजेन्सी : भारतको परराष्ट्र मन्त्रालयले विश्वकपमा सहभागी हुन आउने पाकिस्तानी टोलीलाई अन्य टोलीलाई जस्तै व्यवहार हुने बताएको छ।

शुक्रबारको पत्रकार सम्मेलनमा विश्वकपमा पाकिस्तानी टोलीको सहभागिताबारे सोधिएको प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पाकिस्तानलाई समान व्यवहार हुने बताएका हुन्।

‘हामीले भारतमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकपमा पाकिस्तानी टोली सहभागी भएको खबर देखेका छौं,’ उनले भने, ‘पाकिस्तानी टोलीसँग भारतको व्यवहार अन्य टोलीको जस्तै हुनेछ।’

सुरक्षाको सवाल सुरक्षा निकायसँग सम्बन्धित भएकाले त्यसमा पनि अन्य टोलीलाई जस्तै सुरक्षा प्रदान गरिने बागचीको भनाइ छ।

‘जहाँसम्म सुरक्षाको सवाल छ, यो प्रश्न सुरक्षा निकायसँग सम्बन्धित छ, अन्य टोलीले पाउने सबै आवश्यक सुरक्षा उनीहरूलाई पनि दिइनेछ भन्ने मेरो विश्वास छ।’

अगस्ट ६ मा पाकिस्तान सरकारले आफ्नो टोलीलाई २०२३ को विश्वकप खेल्न भारत जान अनुमति दिएको थियो।

पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो टोलीको सुरक्षालाई लिएर चिन्तित रहेको तथा आईसीसी र भारतीय अधिकारीहरूसँग यो चिन्ता उठाउने बताएको थियो।

विश्वकप क्रिकेट अक्टोबर ५ बाट सुरु हुँदैछ।

साउन २६, २०८० शुक्रबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।