अमेरिकाको हवाई प्रान्तमा आगलागी हुँदा ५३ जनाको मृत्यु, एक हजार जना बेपत्ता

अमेरिकाको हवाई प्रान्तमा आगलागी हुँदा ५३ जनाको मृत्यु, एक हजार जना बेपत्ता

एजेन्सी : अमेरिकाको पश्चिममा रहेको हवाई टापुको माउ काउन्टी जंगलमा लागेको आगोमा हालसम्म ५३ जनाको मृत्यु भएको छ।

अधिकारीहरुका अनुसार आगलागीका कारण कम्तिमा एक हजार मानिस अझै बेपत्ता छन्।

आगलागीको भिडियो हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए। भिडियोमा आगलागीका कारण सहर भग्नावशेष बनेको देखिन्छ।

यो आगलागीलाई उनले  ‘असाधारण’ र ‘दुःखद’ भनेका छन्। उनले आगलागीबाट एक हजारभन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरेका छन्।

राज्यको इतिहासकै सबैभन्दा ठूलो विपद् भएको भन्दै उनले यो आगलागीबाट मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताए।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि आगोको परिमाण देखाउने तस्बिर सार्वजनिक गरेको छ।

राष्ट्रपति जो बाइडेनले हवाईको जंगलमा लागेको आगलागीलाई ठूलो प्रकोप घोषणा गरेका छन्।

यस घोषणाको अर्थ अमेरिकाको संघीय सरकारले राहत र उद्धारका लागि रकम उपलब्ध गराउने हो।

हजारौं पर्यटक र स्थानीयलाई अस्थायी आवासमा लगिएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

साउन २६, २०८० शुक्रबार १०:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।