पारो एफसीलाई पराजित गर्दै मछिन्द्र एफसी एएफसी कपको दोस्रो चरणमा

पारो एफसीलाई पराजित गर्दै मछिन्द्र एफसी एएफसी कपको दोस्रो चरणमा

काठमाडौं : नेपालको मछिन्द्र फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको दोस्रो चरणमा पुगेको छ।

मंगलबार दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो।

खेलको सातौं मिनेटमा पारोका होम्बाको प्रहार रोक्ने क्रममा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठलाई लागेर गोल भएको थियो।

त्यसपछि मछिन्द्रले तीन गोल गर्न सफल भयो। खेलको १२औं मिनेटमा विमल घर्तिमगरले मछिन्द्रका लागि बराबरी गोल गरे। उनले आयुष घलानको पासमा गोल गरेका थिए। 

आयुषले १५ मिनेटमा गोल गर्दा मछिन्द्रले २-१ गोलको अग्रता लियो। 

मछिन्द्रका लागि ओलावाले अफिजले खेलको ३९ मिनेटमा तेस्रो गोल गरे। आयुषले दिएको सटिक पासमा ओमोलाजाको क्रसमा उनले हेडमार्फत गोल गरेका थिए। 

पारोका लागि इभान्सले खेलको ७१ मिनेटमा दोस्रो गोल गरेका थिए।

अब मछिन्द्रले दोस्रो चरणको प्लेअफमा एक सातापछि (१६ अगस्ट) भारतको मोहन बगानसँग खेल्नेछ। खेल कोलकतामा हुनेछ।

दोस्रो चरणको दुई विजेताबीच भदौ पाँच गते प्लेअफ हुनेछ। प्लेअफ विजेता एएफसी कपको दक्षिण एसियाको समूह चरणमा पुग्नेछ।

दक्षिण एसियाको समूह चरणमा यसअघि नै भारतको ओडिसा, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया पुगिसकेका छन्।

२३ साउन, २०८०, १९:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।